केपी ओलीले भन्दैमा पृथ्वीसुब्बाले आफ्नो निष्ठा त्याग्दैनः गुरुङ

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केपी ओलीले जति नै दबाब दिएपनि आफूले निष्ठा नत्याग्ने बताएका छन् । सरकारी निवास छाड्नु अघि पत्रकारहरुसँग कुराकानी गर्दै गुरुङले आफू कसैको दबाबमा पनि निष्ठा छाड्ने मान्छे नरहेको बताए ।
विपक्षी गठबन्धन लामो समय नटिक्ने बताएका छन् । गठबन्धनलाई अप्राकृतिक भन्दै यो गठबन्धनमा पनि विवाद आउने र लामो समय नटिक्ने बताएका हुन् । ‘पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरको मिलेका छन्, मुख्यमन्त्रीका लागि, प्रधानमन्त्रीका लागि,’ गुरुङले भने, ‘यो गठबन्धन लामो जाओस् र सरकार चलाउन् भन्ने आशा छ । तर लामो समय जाँदैन ।’
आफू सदन ५ वर्षै चलोस् भन्ने पक्षमा रहेको उनले बताए । राजनीतिक निष्ठामा आफू अडिग रहेकाले विघटनको सोच आफूमा नआएको उनले बताए । ‘प्रदेश सभा ५ वर्ष चल्नुपर्छ भन्ने मान्यता राखेको मान्छे हुँ, ओलीको दबाबले पृथ्वीसुब्बाले आफ्नो निष्ठा त्याग्दैन,’ उनले भने ।
गुरुङले पार्टीको विवाद निरुपणमा लाग्ने संकेत गरे । मुख्यमन्त्री हुँदा पार्टीका काममा ध्यान दिन नपाएको तर प्रमुख प्रतिपक्षीमा रहेर अब पार्टीको विवाद हटाउन काम गर्ने उनको दाबी थियो । ‘अब २४ सै घण्टा पोखरामा बस्नु पर्दैन म, केन्द्रीय पोलिटिक्समा अब भूमिका खेल्ने समय मिलेको छ,’ गुरुङले भने ।
एमालेकै केही नेताहरुका कारण मुलुकको राजनीतिको कोर्स फेरिएको गुरुङको आरोप थियो । माधव नेपाल, झलनाथ खनालहरुलाई संकेत गर्दै गुरुङले अहिले बनेको गठबन्धन उनीहरुकै कारण रहेको पनि बताए । ‘दहीझैं जमेर बसेको राजनीतिमा कागति निचोरेर फालेजस्तो गरे, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउँछु भनेर हस्ताक्षर नगरेको भए यो गठबन्धन बन्थेन,’ उनले भने ।
केन्द्रका नेताहरुले आफूलाई सच्याउनुपर्ने गुरुङको जिकिर थियो । केन्द्रका नेताहरुका कारण अस्थिरता निम्तिएकाले उनीहरुले जुँगाको लडाइँ छाड्नुपर्ने उनले बताए । ‘एउटा नेतालाई मात्रै दोष दिन मिल्दैन, सबै केन्द्रका नेताले आफूलाई सच्याउनुपर्छ, जुँगाको लडाइँ रोक्नुपर्छ,’ गुरुङले भने ।
संघीयता कार्यान्वयनका समस्या अब बल्ल कांग्रेस नेताहरुले बुझ्ने गुरुङले बताए । आफूलाई सत्तामा हुँदा गाली गर्नेले संघीयताका समस्यालाई कसरी हल गर्छन् त्यो समयले देखाउने गुरुङले जोडे ।
‘अब बल्ल उहाँले बुझ्नुुहुन्छ कत्रो ठूलो आइसबर्ग छ भनेर, म प्रतिपक्षीमै रहेर भएपनि संघीयताको मजबुतीका लागि भूमिका रहन्छ,’ गुरुङले भने । प्रदेश सभामा बलियो प्रतिपक्षीका रुपमा बसेर नयाँ सरकारालाई रचनात्मक सहयोग गर्ने उनको वाचा थियो ।
दीपक मनाङेले धोका दिएको गुरुङको दुखेसो थियो । आफ्नै सहयोगमा सांसद पद जितेर आएको दाबी गर्दै मनाङेलाई वाल्मिकी बनाउन नसकेको उनले बताए ।
मनाङेलाई आफूले दलको नेताको हैसियतले पहिला नै कारबाही गर्न सक्ने भएपनि राजनीतिमा स्थापना गराउन कारबाही नगरेको उनको दाबी थियो ।
‘सबै डाँकु वाल्मिकी नहुँदो रहेछ, धतुरोको बोट आँगनमा हुर्काएर अमृत दिँदैन, उसले पोलिटिक्स सिक्न छ,’ गुरुङले भने, ‘चुनाव जिताएर ल्याएको मैले नै हो, एमालेमा प्रवेश गराएको मैले नै हो, यो भन्दा ठूलो धोका के हुन्छ ?’
तपाईको प्रतिक्रिया