बाढीका कारण घर छाडेर कारागारको शरणमा

समाधान संवाददाता २०७८ असार ३ गते ७:४९

अनुप पौडेल, पोखरा

बुद्धराम गुरूङ चामे बसेको ३५ वर्ष भयो । ६३ वर्षीय उनले मनाङ सदरमुकाम चामेमा कहिल्यै बाढीले उठिबास लगाएको थाहा पाएका थिएनन् । यो वर्ष असारको पहिलो दिनमै उनीसहित चामे बजारमा बस्ने तीन सयजना दिउँसै घर छोडेर भाग्नुप¥यो । चामेको घट्टेखोला र च्याट्टु खोलामा मंगलबार दिउँसो बाढी आएपछि स्थानीयबासी एकै ठाउँमा बसेका छन् ।

‘यहाँ बसेको ३५ वर्ष भइसक्यो । अहिलेसम्म यस्तरी बाढी आएको थिएन,’ बुद्धरामले सुनाए, ‘पाँच वर्ष पहिला भूकम्प आउँदा एकपटक खोला बढेको थियो । अहिले सबैले घर छोड्नुप¥यो । चामेमा साह्रै खतरा भयो ।’

Advertisement

उनका अनुसार बुधबार दिउँसोदेखि पानी आउन केही कम भएको छ । दुवै खोलामा बाढी मंगलबारको भन्दा कम भए पनि रोकिएको छैन । सोमबारदेखि लगातार पानी परिरहेको थियो ।

चामे बजार आसपासका दुवै खोला बढे पनि यस्तो होला भन्ने बुद्धरामलाई लागेको थिएन । उनीसहित केही स्थानीय मंगलबार दिउँसो चिया गफमा व्यस्त थिए । दिउँसो एक बजेतिर ‘बाढी आयो, बाढी आयो’ भनेर भागाभाग हुन थाल्यो ।

Advertisement

‘पानी परेको प¥यै थियो । सबै जना एउटा होटलमा थियौँ । लौ आयो भनेर करायो,’ बुद्धरामले सुनाए, ‘अनि भागागा भयो । यताको खोला बग्यो भनेर हे¥यो अर्कोतिर दुनुनुन आवाज आउने ।’

चामे गाउँपालिकाको पाँचमध्ये वडा नम्बर ३, ४ र ५ गरेर तीन वटा वडा चामे बजार क्षेत्रमा पर्छ । त्यहाँ करिब पाँच सय घर छन् । त्यहाँका सात स्थानीयको मंगलबार भागाभाग भयो । त्यसपछि चामे ४ का तीनसयजना चामेबासी डाँडातिर उक्लिए । चामेको माडामा रहेको आर्मी क्याम्प नजिकैको कारागारमा चामेबासीले आश्रय लिएका छन् ।

चामे ४ का वडाध्यक्ष लोप्साङ लामाका अनुसार कारागारमा तीन सयजना बसेका छन् । उनका अनुसार मस्र्याङ्दी नदीमा पानीको बहाव घटेको छैन । अहिलेसम्म कुनै मानवीय क्षति नभएको तर घरमा बस्ने अवस्था नरहेको वडाध्यक्ष लामाले सुनाए ।
बाढी पसेपछि अहिले चामे बजार रित्तै छ । ‘पुलिस होलान् । अरु मान्छे कोही छैन । बजार रित्तै छ,’ बुद्धरामले सुनाए, ‘तीन सयजना जति यहीँ कारागारमा छौँ । कुनै कोठामा १०, कुनै कोठामा १५ जना छौँ । म बसेकोमा ३६ जना छौँ ।’

भाग्ने क्रममा बिजुलीको पोल ढलेर पाँचजनालाई टाउकोमा चोट लागेको थियो । उनीहरुको अवस्था अहिले सामान्य छ । ज्यान बचाउन आफूहरु एक घन्टा जंगलको पाखैपाखा भागेको बुद्धरामले सुनाए ।

‘बिजोग भएको थियो । ज्यान जोगाउन जंगलजंगल दौडियौँ । पाखामा बस्यौँ । एक घन्टा पाखापाखै हिँडे आएपछि कारागारमा बस्न पाइयो,’ बुद्धरामले मसिनो स्वरमा थपे, ‘खत्तम छ हजुर खत्तम छ । कोही पाखातिर बसेको छ । पाँच जना आएका थिए ठाउँ नभएर फर्किए ।’

वडा नम्बर पाँचका स्थानीय तलेखीमा बसेका छन् । आफूसहित दुई सयभन्दा बढी चामेबासी वडा नम्बर ५ तलेखीको गुम्बा र विद्यालयमा बसेको वडाध्यक्ष लामाले बताए । ‘कोही गुम्बामा, कोही स्कुलमा बसेको छ । कोही किचनमा बसेको छ,’ उनले भने, ‘बुढाबुढी र केटाकेटीलाई सुरक्षित ठाउँमा राखेका छौँ । अल्लि भर्खरको केटाहरु आगो बालेर यत्तिकै बसेको छ ।’

राहत लिएर हेलिकोप्टर मनाङ जाने भनिए पनि मौसम खराब हुँदा जान सकेन । राहत नआए पनि दुई दिनलाई समस्या नरहेको वडाध्यक्ष लामाले सुनाए । ‘बजारको पसल जिम्मा लिएर खानेकुरा लिएर आएका छौँ । दुई दिनलाई समस्या छैन । यो सकिएपछि फेरि जान्छौँ,’ लामाले भने ।

वडासदस्य बुद्धराम बाढीबाट बचेकोमा कारागारमा राहतको सास फेरिरहेका छन् । बर्खाको सुरुआतमै बाढी आएको र दुई÷तीन महिना आफूहरु बेघर हुने उनको अनुमान छ । ‘भदौ असोजसम्म यस्तै होला । के हो अत्तोपत्तो छैन,’ बुद्धराम भन्छन्, ‘यतै थन्कनुपर्ला जस्तो छ । जाउँ घर छैन । बरु यतै सुरक्षित छ ।’

बाढीले जिल्लाभरका ५३ घरमा अहिलेसम्म क्षति भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । तीन दिनदेखिको वर्षाले जिल्लाभर करिब एक हजारजना विस्थापित भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

नासोँ ३ धरमपानीमा रहेको गाउँ कार्यपालिका कार्यालय, प्राइम कमर्सियल बैंक, प्रभु बैंकको कार्यालय र सीमा प्रहरी चौकी धरमपानी पनि बुधबार बिहान बाढीले बगाएको छ ।

प्रजिअ लामिछानेका अनुसार जिल्लाभर पाँचवटा झोलुङे पुल, तीन वटा काठे पुल र एउटा बेलिब्रिज बाढीले बगाएको छ । नासोँ गाउँपालिका १ तालगाउँका ५० वटा घर डुबानमा परेका छन् । त्यहाँका करिब दुई सय स्थानीय प्रभावित भएका छन् ।

बाढीले सबैभन्दा बढी क्षति चामे गाउँपालिकाको चामे बजार क्षेत्र र नासोँ गाउँपालिकाको तालगाउँमा गरेको छ । ‘ताल गाउँको स्थानीय माथि पट्टि ताल डाँडामा बस्नुभएको छ । आज राहत लिएर हेलिकोप्टर आउने कुरा थियो,’ प्रजिअ लामिछानेले भने, ‘राहत सामानसहित हेलिकोप्टर एअरपोर्टमा तयार छ । भोलि बिहान आउला ।’

तपाईको प्रतिक्रिया