मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

समाधान संवाददाता २०७८ असार ३ गते ८:१२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव मंगलबार नै संसद सचिवालयमा दर्ता गराएका छन् । प्रदेश सभा सचिव हरिराज पोखरेलका अनुसार मुख्यमन्त्री पोखरेलले मंगलबार दिउँसो करिब ३ बजे प्रस्ताव दर्ता गराएका हुन् ।

शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेललाई असार २८ सम्म विश्वासको मत लिनुपर्ने बाध्यता छ । संविधानको १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले १६८ (६) बमोजिम विश्वासको मत माग्ने प्रस्ताव दर्ता गराएका हुन् ।

Advertisement

४ दलीय गठबन्धनको साथमा पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया बढेको थियो ।

मुख्यमन्त्री पोखरेललाई कांग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जनता समाजवादीका २÷२ र १ स्वतन्त्र सांसदको साथ छ । पोखरेललाई विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले सांसद पद नरहने गरी कारबाही गरेपछि सांसद कायम संख्या ५९ छ ।

Advertisement

मुख्यमन्त्री नियुक्त भएको तेस्रो दिनमै पोखरेल सरकारले बजेट ल्याएको थियो । शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

शनिबार ४ जनालाई मन्त्री बनाएर सपथ लिएका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मन्त्रालय विस्तार गर्ने र मन्त्रालयको जिम्मा तोक्ने तयारी गरेका छन् । शनिबार मुख्यमन्त्री पोखरेलसँगै कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य, र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका थिए । अहिले यी ४ जना नै विनाविभागीय हुन् ।

गठबन्धनमा किचलो आउन नदिन र छिटो भन्दा छिटो विश्वासको मत लिएर सरकारका काम अघि बढाउन पोखरेलले शुक्रबार विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत अघि नै मन्त्रालय विस्तार, भागभण्डा गरे किचलो आउन सक्ने आँकलन गर्दै मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको बुझिएको छ ।

जम्बो गठबन्धन सहित मुख्यमन्त्री बनेका पोखरेललाई गठबन्धनलाई एक ढिक्का बनाएर राख्नुपर्ने चुनौती छ । नेकपामा आएको फुटझैं गठबन्धनमा पनि फुट सिर्जना हुनसक्ने संशय मुख्यमन्त्री पोखरेलमा छ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको गठबन्धन लामो समय नजाने र फुट सिर्जना हुने आँकलन गरिसकेका छन् ।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टीमा फुट आएपछि मुख्यमन्त्रीमा पोखरेलको दाउ लागेको थियो । ६० सांसदमध्ये ४० सांसद रहेको नेकपा फुटेपछि कांग्रेसलाई मौका मिलेको हो । २७ सांसद भएको एमाले अहिले प्रतिपक्षीमा छ ।

तपाईको प्रतिक्रिया