भोलि विश्वासको मत लिनुपर्ने मुख्यमन्त्री मनाङमै अड्किए

समाधान संवाददाता २०७८ असार ३ गते १७:४८

समाधान संवाददाता, पोखरा

बाढीग्रस्त क्षेत्र मनाङको स्थलगत अवलोकनका लागि नेपाली सेनाको हेलिकोप्टरमा आज मनाङ गएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल अझै फर्केका छैनन् । मौसम सफा नहुँदा उनलाई लिएर फर्कनुपर्ने हेलिकोप्टर मनाङमा ल्यान्ड हुनै सकेन ।


प्रदेश सभामा भोलि शुक्रबार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यक्रम छ । ४ असारमा विश्वासको मत लिने भनेर कांग्रेस संसदीय दलले प्रदेश सभामा हिजो बुधबार नै प्रदेश सभा सचिवालयमा पत्र दिइसकेको छ ।

Advertisement


प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव मुख्यमन्त्री आफैंले पेस गर्नुपर्छ । तर उनी आज अझै फर्कन पाएका छैनन् । उनीसँगै अरु २ सांसद पनि मनाङमै अड्किएका छन् । ७ जनाको टोली मुख्यमन्त्री नेतृत्वमा मनाङ गएको थियो । सांसदद्वय राजीव गुरुङ ऊर्फ दीपक मनाङे र चिन्तबहादुर घले पनि टोलीमा छन् ।

मुख्यमन्त्री पोखरेल बिहीबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरबाट मनाङ गएका थिए । सेनाको हेलिकोप्टर उद्धारको अरु काम गरेर फर्कियो । मुख्यमन्त्रीलाई लिन भने प्रभु एयरको हेलिकोप्टर मनाङ गएको छ । मनाङको बगर छापका लागि उडेको हेलिकोप्टर मौसम सफा नहुँदा ल्यान्ड हुन नपाएको हो ।

Advertisement

पोखराबाट गएको हेलिकोप्टर मनाङमा ल्यान्ड हुन नसकेपछि फेरि पोखरै फर्किएको छ ।

तपाईको प्रतिक्रिया