पोखरा–कावासोती सम्पर्क टुट्यो

समाधान संवाददाता २०७८ असार ४ गते ८:५०

समाधान संवाददाता, नवलपुर

पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिकामा रहेका २ पक्की पुल बाढीले बगाउँदा स्थानीयको बजारसम्मको सिधा सम्पर्क टुटेको छ । ३ दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले बौदीकाली गाउँपालिका १ मा निर्माणाधीन पक्की पुल बगाएको छ ।

कालीगण्डकीमा रहेको अर्को पक्की पुल पनि बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए । गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाखको लागतमा वडा नं १ मा पुल निर्माण भइरहेको थियो । पुलको काम अन्तिम चरणमा थियो । ढलानको काममात्र बाँकी रहेका बेला बाढीले पुल बगाएको हो ।

Advertisement

स्थानीयलाई सहजरुपमा सदरमुकाम कावासोती पुग्नका लागि पुल निर्माण गरिएको थियो । पुल बगाएपछि स्थानीयको सदरमुकामसँगको सिधा सम्पर्क टुटेको छ । अब स्थानीय सदरमुकाम पुग्न ४५ किमीको पहाडी बाटो हुँदै जानुपर्ने बाध्यता छ । सदरमुकामसँगै राजमार्ग पुग्न १ दिन लाग्ने भएपछि सबैभन्दा बिरामीको उपचारमा समस्या आएको छ ।

गाउँपालिकाको वडा नं.२ स्थित कालीगण्डकीमा बनाइएको पुलसमेत बाढीले बगाएको छ । यो पुल हुँदै स्थानीय भिमाद निस्केर पोखरा पुग्ने गरेका थिए । पुल बगाएपछि प्रदेश राजधानी पोखराको सिंधा सम्पर्क पनि टुटेको गाउँपालिकाले जनाएको छ । भिमाद पुग्न पनि अब १ दिन पैदल लगाएर हिड्नुपर्ने भएको छ ।

Advertisement

यता, कालीगण्डकी नदीमा आएको बाढीका कारण नवलपुर र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेको छ । बौदीकाली ४ र तनहुँको घिरिङ गाउँपालिका ४ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको पक्की पुल जोखिममा परेको हो ।

बर्सातका कारण बौदीकाली क्षेत्रको जमीनको केही भाग भासिएको छ भने घिरिङतर्फ पुलको सपोर्टिङ ग्याबिन बगाएको छ । पुलमा जोखिम बढेपछि यस क्षेत्र भएर हिँड्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया