सौरु गाउँको स्याउबारीमा तम खोलाको बाढी पस्दाँ अन्नबाली सखाप

समाधान संवाददाता २०७८ असार ५ गते १४:५७

सुन्दर थकाली \ मुस्ताङ

मुस्ताङको थासाङ गाउँपालिका—२ सौरु गाउँको स्याउबारीमा शुक्रबार राति बाढी पस्दा अन्नबाली सखाप भएको छ । बेनी—जोमसोम मुख्य राजमार्गको कालिगण्डकी नदी पारी पूर्वतर्फ अवस्थित सौरु गाउँको स्याउबारीमा मध्यरातमा तम खोलाको बाढी पस्दा त्यहाँको स्याउबारी पुरै जलमग्न भएको छ ।
थासाङ—२ का वडाध्यक्ष नरप्रसाद हिराचनका अनुसार मध्यरातमा तम खोलाको मुहानमा पहिरो गएकाले सौरु गाउँको स्याउबारीमा बाढी पसेको हो । तम खोलाको बाढीले सौरु गाउँका ७ घरधुरीको स्याउ बगैचामा बालुवा , ग्रेग्रान र लेदा पसी क्षति पू¥याएको वडाध्यक्ष हिराचनले उल्लेख गरे ।उनका अनुसार तम खोला बाढीले स्थानीय कुमार रोक्का मगरको ३ रोपनी ,दिनेश दर्जीको १ रोपनी , टकबहादुर खत्रीको ३ रोपनी ,प्रमिला तुलाचनको १ रोपनी ,धनप्रसाद तुलाचनको आधा रापनी ,कृष्णकुमार थकालीको १ रोपनी र राजुप्रसाद गौचनको आधा रोपनी गरी कुल १० रोपनी क्षेत्रफलमा लगाईएको स्याउ,सिमी,आलु ,मकै र गाँजर नष्ट भएको बताईएको छ ।
बर्खायामको मौसममा बर्सेनि सौरु गाउँको तम खोलाको बाढीले स्थानीयलाई सास्ती दिदै आएको छ । गत वर्षपनि सौरु गाउँमा बाढी पस्दा स्याउबारी लगायत केही घरधुरी मग्न भएको वडाध्यक्ष हिराचनले उल्लेख गरे । मनसुन सुरु भई गत आईतबार देखि परेको अबिरल वर्षाका कारण तम खोलाको बाढीले नदी कटान सुरु गरेको थियो ।सौरु गाउँका स्थानीय सोजन हिराचनले तम खोलाले नदी कटान सुरु गरेपछि स्थानीय गाउबासीले लगातार ४ दिनसम्म श्रमदान गरी खोला तर्काउने काम गरेको भएपनि त्यो प्रयास असफल भएको जानकारी दिए ।

“ लगातारको वर्षाले नदी कटान गर्न थाल्यो ,हामी गाउँले मिलेर दिनभरी खोला तर्काउने काममा खटियौ , हिराचनले भने,“ दिनभरी दुख गरियो ,मध्यराति बाढी पस्यो ।’
सौरु गाउँको तम खोला कालीगण्डकी पारी भएकाले त्यहाँ खोलो तर्काउने डोजर÷स्काभेर लगायतका उपकरणले खोलो पन्छ्याउन सम्भव छैन । कालिगण्डकीको वाहव उच्च भएकाले उपरकणलाई चाहिने ईन्धन पू¥याउन समेत समस्या छ । कालिगण्डकी नदीको फराकिलो भू—भागमा झोलुगे पुल समेत नहँुदा बर्खायाममा सौरु गाउँका बासिन्दा कालिगण्डक वारपारमा गर्नबाट सास्ती भोग्नुपर्ने बाध्यता छ ।
यस्तै ,बिहिबारको अविरल वर्षाले वारागुङ मुक्तिक्षेत्र —४ तिरी गाउँमा बाढी पस्दा त्यहाँ रहेका करिव ५ घरधुरी जलमग्न भएको थियो भने घरपझोङ—५ ढुम्बामा पहिरो जाँदा २ घर भत्किएको छ भने अन्य ७ घरमा आशिंक क्षति पुगेको छ ।
अविरल वर्षाले घरपझोङ—५ को ठिनी खोलाको बाढीले जोमसोम,ठिनी,ढुम्बाताल,छैरो र चिमाङ जोड्ने रिङरोड सडकलाई समेत क्षति पु¥याएको छ । अविरल वर्षाले घरपझोङ—४ जोमसोममा एक घर क्षति भएको छ भने दर्जनौ स्थानीयको ढुङ्गा र माटोले बनेका घरहरु जोखिममा परेका छन् ।

Advertisement



Advertisement

तपाईको प्रतिक्रिया