बाजुङ समाज हङकङको स्वास्थ्य सामाग्री हस्तान्तरण र ५ लाखको अक्षयकोष घाेषणा

समाधान संवाददाता २०७८ असार ८ गते १६:२७

पोखरा, ८ जेठ
पर्वत बाजुङ जन्मघर भइ हङकङमा कर्म गरिरहेकाहरुले जन्मभूमिको सेवा गर्न खोलेको संस्था हो, बाजुङ समाज हङकङ । समाजले मोदी गाउँपालिका वडा नम्बर ५ को बाजुङवासीलाई विभिन्न बिपद् र अप्ठेरोमा सहयोग गर्दै आइरहेको छ ।

दुखमा मल्हम लगाउँदै आएको समाजले कोरोना माहामारीबाट सुरक्षित रहन र सेवालाई प्रभावकारी बनाउन बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री पठाएको छ । समाजले अक्सिजनसहित ग्लब्स्, मास्क लगायतका विभिन्न स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।

समाजका तर्फबाट जयबहादुर सुवेदी, दिलकुमारी गुरुङ, चन्द्रा शर्माले वडाध्यक्ष दलबहादुर मल्ल, स्वास्थ्य चौकी प्रमुख गोकुल अधिकारीलाई सोमबार हस्तान्तरण गरे । अक्सिजन सिलिन्डर केही दिनमै स्वास्थ्य चौकीमा उपलब्ध हुने छ भने बाँकी सामाग्री सोमबार नै हस्तान्तरण गरिएको हो ।

Advertisement

करिब १ लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको समाजले स्वास्थ्यचौकीमै ५ लाख रुपैयाँका अक्षयकोष स्थापना गर्न लागेको संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार दुर्गाबहादुर गुरुङ मीलनले जानकारी दिए ।

संस्थापक अध्यक्ष गुरुङले १ लाख २० हजार, मीलन फाउन्डेसन नेपालका अध्यक्ष गंगाकुमारी गुरुङले १ लाख रुपैयाँ जम्मा गरेर अक्षयकोषका लागि रकम संकलन सुरु भएको थियो ।

Advertisement

अभियानमा हङकङका विभिन्न ठाउँमा कर्म गरिरहेका बाजुङवासीले सहयोगी हात फैलाइरहेका छन् । अहिलेसम्म कोषका लागि ५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

‘कोष निर्माण गर्ने अभियानमा हङकङका बाजुङवासीले सहकार्य गरिरहनुभएको छ । यो पुनित अभियान स्वास्थ्य चौकीको सेवा वृद्धि र बाजुङवासीको जीवन रक्षामा सहयोगी बन्ने छ,’ संस्थापक अध्यक्ष मीलनले भने, ‘कोषलाई अझै बढाउने प्रयत्न भइरहेको छ ।’

सञ्चालक समिति र कार्यविधि निर्माण गरी सञ्चालन हुने कोषबाट बाजुङवासीलाई चाहिने आपतकालीन स्वास्थ्य सेवामा सहयोग गरिने छ भने स्वास्थ्य चौकीको अत्यावश्यक सामाग्री खरिदमा पनि खर्च गरिने छ । ‘कोषको ब्याजबाट २० प्रतिशत मुल पूँजीमै थपने छ भने ८० प्रतिशत जीवन रक्षा र सेवाका लागि खर्च गरिने छ,’ उनले भने ।

स्वास्थ्य सामाग्राी हस्तान्तरण तथा अक्षषकोष घोषणा कार्यक्रमा मोदी–५ बाजुङका वडाध्यक्ष दलबहादुर मल्ले समाजको अग्रसरताले ठूलो सहयोग पुग्ने बताए । ‘स्वास्थ चौकीमा सेवा थपिँदै छ ।

कोषमार्फत कसैले पनि अकालमा ज्यान जान नदिने सहयोग पुग्नेछ,’ अध्यक्ष मल्लले भने, ‘दुर्गाबहादुर गुरुङ मीलनजस्ता अभियान्तकै कारण बाजुङवासीले राहत महसुस गर्ने छन् ।’

तपाईको प्रतिक्रिया