मनाङका सबै पालिकामा खोप

समाधान संवाददाता २०७८ असार ९ गते ८:१७

समाधान संवाददाता, पोखरा

प्राकृतिक प्रकोपको असहजताका बाबजुद नेपाल सरकारले मनाङका सबै पालिकामा कोरोना विरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ ।

बाढी पहिरोका कारण बाटो अवरुद्ध भएपछि उत्तरी क्षेत्रको नार्पाभूमि गाउँपालिकाको नार र फू गाउँमा नेपाली सेनाको हेलिकप्टरमार्फत्खोप पु¥याएर अभियानलाई निरन्तरता दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।

Advertisement

उनका अनुसार तिब्बतसँग जोडिएको त्यस क्षेत्रमा पहिलो चरणमा ५५ वर्षभन्दा माथिका १सय ९० जनाले खोप लगाइसकेका छन् । दोस्रो चरणका लागि५५ वर्ष माथिका १ सय ५० र १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउन थालेको उनले उल्लेख गरे ।

‘उत्तरी क्षेत्रमा कोरोना विरुद्धको उपचारका लागि आइसियु, भेन्टिलेटर लगायत सुविधा नभएका कारण सरकारी नीति अन्तर्गत १८ वर्ष माथिका ३सय४० नागरिकलाई खोप लगाउने योजना बनाएका छौं,’उनले भने, ‘जिल्ला खोप समन्वय समिति मनाङको निर्णय अनुसार गत जेठ ३१ गते रातिदेखिको मनसुनी वर्षाका कारण बाटो अवरुद्ध भएपछि हेलिकप्टरमार्फत खोप लगेर व्यवस्थापन गरेका छौं ।’
नार्पाभूमितिर जाने झोलुंगे पुल मस्र्याङ्दीले बगाएको छ । पैदल हिँडेर जान २ दिन लाग्छ ।

Advertisement

४ हजार २ सय ८५ मिटर उचाइमा रहेको नार गाउँ र ४ हजार १ सय मिटर उचाइमा रहेको फू गाउँसमेत गरी समग्र पालिकामा करिब ५सय जनसंख्या छ । उनले मनाङका विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले काठमाडौंबाट राहत सामग्री बोकेर ल्याएको हेलिकोप्टरमार्फत त्यहाँ खोप पु¥याइएको जानकारी दिए ।

मनाङका ४ पालिकामा अहिलेसम्ममा पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र ५५ वर्ष माथिका १ हजार ९ सय ४३ जनाले पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाएका छन् । चामे, मनाङ मिस्याङ र नासाें गाउँपालिकामा दोस्रो चरणको खोप लगाउने तयारी भइरहेको छ । करिब ६ हजार २ सय जनसंख्या रहेको मनाङमा दोस्रो चरणमा १ हजार ३सय ४ जनालाई खोप लगाउने कार्यक्रम छ ।

उनले बाढी, पहिरोका कारण मनाङमा विद्युत नभएको अवस्थामा पोखराबाट आइस प्याक (बरफ)ल्याएर कोरोना विरुद्धको खोप तथा बाल बालिकालाई लगाउने खोपलाई सुरक्षित राखेको जानकारी दिए । मनाङका सबै नागरिकलाई पुग्ने खोप स्टक छ ।

मनाङमा कोरोना संक्रमणको फैलावट भएको अवस्थामा मनसुनी वर्षातका कारण जनस्वास्थ्यमा थप प्रतिकूल प्रभाव परेको उनले उल्लेख गरे ।‘बाढी, पहिरो प्रभावितहरु सार्वजनिक स्थल, कारागार, टेन्टमा कोचिएर बस्दा सामाजिक दूरी कायम तथा स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुन सकेको छैन्,’उनले भने, ‘व्यक्तिगत सरसफाइ अभावमा झाडा पखला लगायतका स्वास्थ्य समस्या र महामारी फैलन सक्ने खतरा बढेको छ ।’

उनले खानेपानीको पाइप बाढीले बगाएको कारण शुद्ध खानेपानी अभावमा आकासे पानीका भर पर्ने अवस्था आएको बताए । जनस्वास्थ्य कार्यालयले स्वास्थ्य महामारीलाई रोक्न स्वास्थ्य शिक्षा, सचेतना र सन्देशूलक कार्यक्रम अगाडि बढाएको उनले जानकारी दिए । पिउने पानी शुद्धीकरणका लागि क्लोरिन चक्कीसमेत वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया