गोपाल : क्रान्तिका एक सतिसाल

समाधान संवाददाता २०७८ असार ९ गते ८:०१

झपट रानाभाट उहाँले राजनीतिलाई जहिल्यै सामाजिक सेवाको रूपमा लिनु भयो । पार्टी र समाजलाई दिनुमात्र भयो, केही लिनु भएन ।



बाइसे, चौबिसे राज्य हुँदा नुवाकोट राज्यपछि पश्चिम ४ नम्बर नुवाकोट हुँदै स्याङ्जा जिल्लामा र २०३४ सालदेखि कास्कीमा गाभिएको पूर्वमा निर्मलपोखरी, पश्चिम स्याङ्जा फेदीखोला, उत्तर फुर्सेखोला, पोखरा १७ र दक्षिण स्याङ्जाको टक्सार, पौवेगौडे सुरौदीखोला करिब २५.९१ वर्गकिलोमिटर भूगोल भएको कृस्ती नाच्नेचौर हाल पोखरा २१ अन्तर्गत पर्दछ । यहाँ ब्रह्माण, क्षेत्री, रानाभाट, कुवर, गुरुङ, भुजेल र उत्पीडित समुदायसमेत गरी ९ सय २० घर र जनसंख्या ७ हजार ७ सय ५० छ ।

Advertisement


पूर्व पश्चिम फैलिएका २ डाँडा, खेतीयोग्य समथर फाँट, पखेरामा साल, कटुस, चिलाउने, लालीगुराँस जस्ता महत्वपूर्ण वनपैदावर, मट्टीखान भ्युटावर, कालिकाकोट, देउराली थान, मनकामना, दिउलीपीपल जस्ता १ हजार ५ सय ५० मिटर उचाइसम्म फैलिएका रमणीय स्थलले भरिएको पोखरा २१ कृस्तीनाच्नेचौरको बयलीमा २०३० असार १० गते भक्तकुमार भुजेल ‘गोपाल’को जन्म भएको थियोे । २०२०÷२१ सालमै वामपन्थी आन्दोलनमा लागेका बुवा विनोदकुमार सिंह र आमा भगवती भुजेलका उहाँ जेठा छोरा हुनुहुन्थ्यो ।


उहाँको बाल्यकालको नाम गोपाल थियो । गोपालका बुवा शिक्षक र आमा गृहिणी हुनुहुन्थ्यो । गोपालका २ दिदी, १ भाइ र १ बहिनी छन् । ग्रामीण परिवेशमा हुर्किनुभएका गोपालले बाल्यकालमा खासै दुःख पाउनु भएन तर कम्युनिस्ट परिवारभित्र जन्मेको सन्तान भएको र कठोर भूमिगतकालीन समयमा नेता, कार्यकर्ताको सम्पर्कको घरसमेत भएकाले पनि बाल्यावस्थादेखि नै गोपाल जुझारु, क्रान्तिकारी र हरेक खाले विभेदको विपक्षमा हुनुहुन्थ्यो ।

Advertisement


घरबाटै उहाँको पठनपाठन सुरु भयो । उहाँले प्राथमिक तहको शिक्षा कृस्तीनाच्नेचौरकै बयली प्राथमिक विद्यालयबाट हासिल गर्नुभयो । २०३६ सालतिर उहाँका शिक्षक बुवा, भीमबहादुर थापा, मित्रलाल सुवेदी र गोपीचन्द्र पोख्रेलले २०१२÷१३ सालदेखि नै उमकान्त लामिछानेको नेतृत्वमा संगठन विस्तारमा लागेका ०१६÷१७ पछि पुराना धुरन्धर कम्युनिस्ट नेता लेखनाथ पोख्रेलसित कार्यनीतिक र सैद्धान्तिक रूपमा असहमति राख्नुभो । लेखनाथ पोख्रेलसितै त्यति बेला धेरै युवा डिबी गुरुङ, यमनाथ आचार्य, यामबहादुर थापा, टेकबहादुर थापा, विनोदकुमार सिंह, ऋषि गौतम, भीमबहादुर थापा, सुरेश थापा(माडी), कर्णबहादुर मल्ल, देवीप्रसाद शर्मा, मित्रलाल सुवेदी ठूलो, खगराज आचार्य, अग्निधर सिग्देल, गोपीचन्द्र पोख्रेल हुनुहुन्थ्यो ।


त्यसपछि क्रमशः मित्रलाल सुवेदी सानो, ठाकुर सुवेदी, मेघनाथ सुवेदी, खडानन्द आचार्य (दुम्सादी), गंगाप्रसाद अधिकारी, प्रेम रानाभाट लगायत हुनुहुन्थ्यो । २०३५ वैशाख १० गते ४ विभिन्न कम्युनिस्ट घटक मिलेर बनेको तत्कालीन नेकपा मालेका नेता त्रिलोचन ढकालको गहिरो प्रशिक्षण र संगठन क्षमताका कारण क्रान्तिकारी स्वभाव र निडर उहाँहरु २०३६ मा तत्कालीन मालेमा संगठित हुनु भयो । उहाँहरु भन्दा अझ पहिल्यै कृस्ती, खाल्सेका लीलाधर पौडेल मालेमा समावेश भइसक्नु भएको थियो । त्यसको प्रभाव भक्तकुमार भुजेल (गोपाल) मा सानै उमेरमा प¥यो ।


यद्यपि शिक्षक सेवाबाट २ वर्षका लागि बिदा लिएर उहाँको बुवा र अर्का सहयोद्धा ऋषि गौतम वैदेशिक रोजगारका लागि २०३९ सालमा साउदी अरेब जानुभयो । त्यसपछिको कृस्तीतर्फको तत्कालीन मालेको सांगठानिक काम त्रिलोचन ढकाल, किरण गुरुङ, शारदा सुवेदीहरुको अभिभावकत्वमा लोचना अधिकारी, लक्ष्मीप्रसाद अधिकारीहरुको नेतृत्वमा लीलाधर पौडेल, मित्रलाल सुवेदी सानोहरुले गर्नुभयो ।


भक्तका बुवा बिदेश जानु भएपछि पार्टीको सम्पर्क र सेल्टर दुबै मित्रलाल सुवेदी (सानो)कोमा थियो । तत्कालीन अनेरास्ववियु पाचौं कास्की सहसचिव पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु पाँचौका संयोजक लीलाधर पौडेलमार्फत ४३÷४४ मै गोपाल अनेरास्ववियु पाँचौमा संगठित भइसक्नुभएको थियो । त्यति बेलाको अनेरास्ववियु पाँचौ भविष्य निर्माण मावि कृस्तीका अध्यक्ष इन्जिनियर चूडामणि लामिछाने हुनुहुन्थ्यो ।
त्यो बेला अनेरास्ववियु पाचौंको पहिलो कमिटी निर्माणमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले भाषण गर्दै गर्दा पञ्चहरुले लखेटेका थिए । त्यसपछि क्रमशः अर्जुन पोख्रेल, मोहन थापा काजी, हुमनाथ लामिछाने, गोपाल भुजेल, शिवबहादुर पोख्रेलले नेतृत्व गरे । २०४६ सालको जनआन्दोलन वरिपरि अनेरास्ववियु पाँचौको हाम्रो इलाकातिरको कामको नेतृत्व टीकाराम पंगेनी र कुलबहादुर रानाभाटले गर्नुहुन्थ्यो ।

बहुदल अगाडिदेखि नै उहाँको रुचि फोटो खिच्ने, पञ्चायत विरुद्धका जुलुसमा नेतृत्व गर्ने, आफूलाई पार्टीले के दियो, पद–प्रतिष्ठा भन्दा पनि पार्टी र क्रान्तिलाई हरहमेसा कसरी के दिन सकिन्छ भन्ने बिषयमा निरन्तर चिन्तित गर्नुभयो । यहाँसम्म कि २०४६ सालको जनआन्दोलनमा कृस्तीतर्फबाट विद्यार्थीको नेतृत्वकर्ताभित्रै उहाँ पर्नुहुन्थ्यो तर २०४७ साल वैशाख महिनामा आयोजित तत्कालीन माले र बामपन्थीद्वारा गरिएको सन्देश सभामा अखिल पाँचौको वक्ता म पनि थिएँ ।


उहाँले त्यस्तो वास्ता नगर्नेभन्दा पनि कमरेडहरु लीलाधर पौडेल, मित्रलाल सुवेदी सानो, जनक जोशी, हेल्थपोस्ट इन्चार्ज अर्जुन थापासहितको मार्गनिर्देशनमा त्यति बेलाका जिल्लामा मालेका ठूलै नेता खगराज अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित बहुदल पछिको पहिलो सभामा मलाई भाषण गर्न अगाडि बढाउनु भयो । २०४६ सालमा आन्दोलन उत्कर्षमा पुगिरहेको बेलामा भविष्य निर्माण माविमा राँके जुलुसको तयारी गरिरहेका बेलामा नेपाली पोशाक लगाएका १ वृद्धले गालामा हिर्काएर स्कुलको छानाछाना दगुराएको याद छ मलाई । त्यहाँ दाजु गोपाल, अर्जुन पोख्रेल, म लगायत थियौं ।


ती त्यति बेलाका उपप्रधानपञ्च खाल्सेका भोला पौडेल रहेछन् । उहाँसँग अझ व्यवस्थित चिनजान र सहकार्य तत्कालीन नेकपा मालेको २०४७ वैशाखमा कार्यालय वहाँकै घर कृस्ती–बयलीमा प्रभा बराल, विद्याबिमल बरालसहितको उपस्थितिमा भयो । कार्यालय उद्घाटन पहिले उहाँले प्राविसम्म पढेको बयली स्कुलमा मालेको कार्यक्रमसमेत भयो । कार्यक्रम हुँदै गर्दा २०३८ सालमै मालेको विद्यार्थी संगठन अनेरास्ववियु एकताको पाँचौंतर्फबाट छोरेपाटन माविको स्ववियु निर्वाचनमा सभापतिमा निर्वाचित खड्ग हमाल र ज्ञानबहादुर कार्कीलगत्तै अभाव र गरिबीले भारत भासिए । त्यहीँ भारत प्रवासमा नेकपा मालेको प्रवासी कमिटीमा काम गर्नुपरेका कमरेडहरु त्यो कार्यालय उद्घाटनमा भारतबाट साढे ३, ४ बजे दिउँसो टुप्लुक्क आइपुग्नु भएको मलाई झलझली याद छ ।
यस प्रकार क.गोपालसँगको मेरो सहयात्रा २९ वर्ष चल्यो । कमरेड गोपाल र मेरो सहकार्य उहाँकी जीवनसंगिनी ऋतु कमरेडसितको भन्दा लामो छ । गोपालको विहे २०५३ सालमा भएको हो । उहाँका चार छोरी र एक छोरा छन् ।


भविष्य निर्माण माविबाट उहाँले माध्यमिक तहसम्मको शिक्षा हासिल गर्नु भयो । उहाँले राजनीतिलाई जहिल्यै सामाजिक सेवाको रूपमा लिनु भयो । पार्टी र समाजलाई दिनुमात्र भयो, केही लिनु भएन । प्रवेशिका परीक्षामा एउटामात्र कृषि विषयमा २४ अंकसहित उत्तीर्ण हुनुभो, अनि नियमित पढाइ छोड्नुभयो । मलाई अहिले पनि लाग्छ कि, उहाँले क्याम्पस प्रवेश गर्न पाउनुभएको भए अनेरास्ववियु र पार्टीको नीति निर्माण गर्न सक्ने ठाउँमा पुग्नुहुन्थ्यो । अनि असमयमा उहाँको निधन नहुन सक्थ्यो ।
उहाँले घरमा दर्शन र राजनीतिशास्त्रसित सम्बन्धित धेरै किताब राख्नुभएको थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीका तस्विर भित्तामा सजाउने, जननेता मदन भण्डारीका भाग १ देखि ११ सम्मका भाषण बारम्बार सुनिरहने बानी थियो । मदन आश्रितको रहस्यमय जिप दुर्घटनामा हत्या भएपछि कति दिन खानासमेत नखानुभएका उहाँ अन्तिम संस्कारमा काठमाडौंसमेत पुग्नुभयो ।
२०४६ को परिवर्तनसँगै केही मित्रसहित गाविसभरि ब्याट्री, एम्लिफायर, ढ्वाङ काँधमा बोकेरै हामी प्रचारप्रसार र पार्टी काममा लाग्थ्यौं । काम चोर्ने, गलत रिपोर्टिङ गर्ने, बोलेको वचन तोड्ने शैली उहाँको थिएन । कम्युनिस्ट पार्टी निर्माणमा सबै अग्रजको सम्मान गर्दै कृस्तीतर्फ २०४७ पुस २६ पहिलेको माले निर्माण गर्नेभित्रै आफूलाई दावा गर्छौं नै ।


राजनीतिलाई सामाजिक परिवर्तन, रुपान्तरण र समृद्धिसित जोड्न चाहने भक्त भुजेल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमालेका होनहार युवा नेता हुनुहुन्थ्यो । राष्ट्रिय युवा संघ नेपाल कास्कीको पूर्व सचिव, बयली आधारभूत विधालय व्यवस्थापन समितिमा धेरै पटक अध्यक्ष हुनुभएको थियो । २०४८ वैशाख २९ गते भएको आमनिर्वाचनमा मतदान सकिएपछि मतपेटिकासहित मलाई हिडाएरै पोखरा पु¥याउनु भएको थियो ।


एमालेका युवा नेता, मेरा राजनीतिक गुरु, समाजसेवी, प्रेरणाका स्रोत, चम्किलो रातो तारा गोपाल भुजेल (भक्त दाजु) को २०७५ असार १० गते निधन भएको थियो । उहाँ जन्डिस र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनले कास्की जिल्लाको कम्युनिस्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको छ । शोक शक्तिमा बदलिने अपेक्षासहित तेस्रो वार्षिकीमा रातो सलामसहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया