बौदीकाली गाउँपालिकामा एकल पुरुषलाई भत्ता

समाधान संवाददाता २०७८ असार ११ गते १९:५९

रासस, नवलपुर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो । कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक रु २ हजारका दरले भत्ता दिइने तयारी गाउँपालिकाको छ । तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् । गाउँपालिकाभरिमा यस्ता एकल पुरुष ६० जना जति रहेको प्रारम्भिक तथ्याङ्क रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ ।

यसैगरी गाउँपालिकाले ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप वार्षिक रूपमा चाडपर्व खर्च उपलब्ध गराउने भएको छ । ८५ वर्ष उमेर नाघेकाहरूलाई दसैंखर्च भनेर एकमुष्ट रु पाँच हजार दिने व्यवस्था गरिएको हो ।

Advertisement

चाडपर्वमा ज्येष्ठ नागरिकले अरूको मुख ताक्न नपरोस भनेर यस्तो व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुुर रानाले जानकारी दिए ।गाउँपालिकाको बजेट रु. ३९ करोड गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि रु. ३९ करोड ३७ लाख १० हजार बराबरको बजेट ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाद्वारा प्रस्तुत तथा छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा १५ शय्याको बौदीकाली आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ । कोरोना सङ्क्रमणले निम्त्याएको सङ्कट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विशेष प्राथमिकता दिदैं रोजगारीका अवसर सिर्जना, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, कृषि उत्पादनमा आत्मनिर्भर, पर्यटन प्रवद्र्धन, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणमा नीति तथा कार्यक्रम केन्द्रीत रहेको अध्यक्ष रानाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया