अर्थ र भौतिक मुख्यमन्त्री आफैंले राखेर भोलि विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने तयारी

समाधान संवाददाता २०७८ असार १२ गते ७:४५

बजेट छलफल सकिएपछि भागभन्डा टुंग्याएर मन्त्रिपरिषद विस्तार गर्ने

अनिष भट्टराई, पोखरा

कृष्ण्चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा रहेका ४ विनाविभागीय मन्त्रीले आइतबार जिम्मेवारी पाउने भएका छन् । शुक्रबार नै उनीहरुले पाउने जिम्मेवारी टुंगो लागेपनि आइतबारदेखि ४ मन्त्रीले कार्यभार सम्हाल्ने भएका हुन् ।

Advertisement

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कुमार खड्काका अनुसार बजेटमाथि छलफल नसकिँदासम्मका लागि लक्षित गरी मन्त्रालय टुंग्याइएको छ । ‘शुक्रबारको बैठकले विभाग टुंग्याएको छ, आइतबारबाट कार्यभार सम्हाल्छौं, बजेट छलफलपछि परिवर्तन हुनक्ने गरी विभाग तोकिएको छ,’ उनले भने ।

मुख्यमन्त्री नियुक्त भएकै दिन २९ जेठमा मुख्यमन्त्री पोखरेलले ४ मन्त्रीसहित सपथ लिएका थिए । कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री बनेका छन् । तर अहिलेसम्म उनहरुको मन्त्रालय टुंगो लाग्न सकेको छैन ।

Advertisement

मन्त्रीहरुको विभाग टुंगो नलागेपछि बजेटमाथिको छलफल पनि अन्योलमा छ । ‘बजेटमाथिको छलफल हुन सकेको छैन, अब मन्त्रीहरुले विभाग पाएपछि बजेटमाथिको छलफल चल्छ,’ उनले भने ।

मन्त्रीहरुले आइतबार पाउने विभाग बजेट छलफलपछि मन्त्री बन्नेको नामावली टुंगो लागेपछि परिवर्तन हुने जनाइएको छ । गण्डकी प्रदेशमा अहिले ११ मन्त्रालय छन् ।

शुक्रबार मन्त्रालय बाँडफाँटका लागि सरकारमा सहभागी दलको बैठक भएको थियो । बैठकले अस्थायी रुपमा मन्त्रालय भागभन्डा गरेको छ । स्रोतका अनुसार विवादित बनेका अर्थ र भौतिक मन्त्रालय बजेटमाथिको छलफलसम्मका लागि मुख्यमन्त्री आफैं राख्ने भएका छन् । अर्थ र भौतिक मन्त्रालयमा लामो समय किचलो भएको छ ।

अर्थ मन्त्रालय जनता समाजवादीलाई दिन मुख्यमन्त्रीले लिखित सहमति गरेका थिए । भौतिकमा माओवादीको दाबी छ । तर कांग्रेसले अर्थ जनता समाजवादीलाई दिन नचाहेपछि विवाद भएको हो ।

अरु मन्त्रीको पनि शुक्रबार कार्यविभाजन भएको छ । स्रोतका अनुसार मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएकी छन् । कांग्रेसका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालय लिनेछन् ।

स्वतन्त्र सांसद दीपक मनाङेलाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रालय दिने भएका छन् । यद्यपि मनाङे त्यसमा असहमत छन् । अहिले गठबन्धनको किचलो टुंगिएपछि आफूलाई ठूलो मन्त्रालय दिनुपर्ने उनको अडान छ । जनता समाजवादीका हरिशरण आचार्यले ऊर्जा तथा सिंचाइ लिने भएका छन् ।

मुख्यमन्त्री पोखरेलले ४ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका थिए । तर दलहरुबीच विवाद भएपछिउनले विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्न र मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् । कांग्रेस, माओवादीले भौतिक तथा अर्थ र जनता समाजवादीले अर्थ दाबी गरेपछि गठबन्धनमा सहमति हुन सकेको थियो । कांग्रेसका १५, माओवादीका ११, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका २÷२ सांसदको साथमा पोखरेल मुख्यमन्त्री बनेका थिए ।

मन्त्रालय भागभन्डामा किचलो आएपछि मुख्यमन्त्री तथा कांग्रेस सांसदहरु शीर्ष नेता भेट्न काठमाडौं गएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतका नेतालाई मुख्यमन्त्रीले भेटेका थिए । ५ दलीय गठबन्धनका नेता भेटेर पोखरा फर्केपछि मन्त्रालय भागभन्डा गरिएको हो ।

तपाईको प्रतिक्रिया