जनप्रतिनिधि भन्छन्ः ज्यान दिन्छौ, कालीगण्डकी डाइभर्सन बन्न दिँदैनौं

तिनाउमा ८२ घनमिटरप्रति सेकेन्ड पानी पठाएर अहिलेको बहाव क्षेत्रमा २० घनमिटरप्रति सेकेन्डमात्रै पानी बगाइने
कृतिनिधि बिष्टका पालामा भारतले कालीगण्डकीको पानी तिनाउ नदी हुँदै भारतसम्म पु¥याउने योजनाले बुटवलको हात्तीसुँडमा कार्यालय स्थापना गरेको थियो
अनिष भट्टराई, पोखरा
लगातारको विरोध र आलोचना वेवास्ता अर्थमन्त्री विष्णु पौडेलले कालिगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढाउने भएका छन् । अर्थमन्त्री पौडेलले बुटवलमा स्थापना गरिएको कार्यालय उद्घाटन गरे ।
गण्डकी र लुम्बिनी प्रदेशको सिमाना भएर बग्ने कालीगण्डकी नदीलाई पाल्पाबाट बुटवल बग्ने तिनाउ नदीमा मिसाउने गरी यो योजनाअघि सारिएको हो । लुम्बिनी प्रदेशका बुटवल, भैरहवा, लुम्बिनी लगायतका सहरमा सिंचाइ पु¥याउने र १ सय २६ मेघावाट बिजुली निकाल्ने गरी कालीगण्डकीको पानी तिनाउमा डाइभर्ट गर्न लागिएको हो ।
तिनाउ नदी सुक्दै जाँदा कालीगण्डकी नदीको पानी खसालेर करिब १ लाख हेक्टर जमिन सिंचाइ हुने गरी योजना बनाइएको आयोजना प्रमुख सन्तोष कैनी बताउँछन् । उनका अनुसार पाल्पाको राम्दी पुलबाट साढे २ किलोमिटरमुनि तटबन्ध बाँधिनेछ ।
अहिलेको कालीगण्डकीको बहाव क्षेत्रमा २० घनमिटर प्रतिसेकेन्ड पानी छाडिनेछ । यस्तै, नयाँ तिनाउ डाइभर्सनमा ८२ घनमिटर प्रतिसेकेन्ड पानीको बहाव रहने कैनीले बताए ।
राम्दीमुनि २७ किलोमिटर र ७ मिलोमिटर गरी २ टनेल बनाएर पानी पठाउने योजना छ । पाल्पाको दोभानसम्म २७ किलोमिटर र दोभानबाट बुटवल बेलबाससम्म ७ किलोमिटर लामा टनेल बनाइनेछ । यसबीचमा २ वटा पावरहाउस बनाउने योजना छ ।अहिले योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बन्ने चरणमा छ ।
‘हामी अहिले डिपिआर बनाउने चरणमा छौं । १ वर्षसम्म डिपिआर बन्छ र हामी आयोजना अघि बढाउँछौं,’ आयोजना प्रमुख कैनीले भने । आयोजनाको अनुमानित लागत १ सय ३८ अर्ब छ ।
आयोजनााबाट अहिले कालीगण्डकीको तटीय क्षेत्रका स्थानीय प्रभावित हुने भन्दै विरोध हुने गरेको छ । २०७१ को नीति तथा कार्यक्रममा यो आयोजना समेटिएपछि विरोध हुँदै आएको छ । यसले स्याङ्जा, तनहुँ, पाल्पा र नवलपुरका १० स्थानीय तह प्रभावित पार्ने जनाइएको छ ।
पाल्पा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा आफ्नो पालिकासँगै पाल्पाकै निस्दी, रम्भा, घिरिङ, देवघाट, चापाकोट, बौदीकाली, बुलिङटार लगायतका पालिका यसबाट प्रभावित हुने बताउँछन् । प्रमुख थापाचर्कोविरोध गरेर आयोजना फेल गराउने दाबी गर्छन् । ‘कस कसको इन्ट्रेस्ट हो, ती सबलाई फेल गराइन्छ, कालीगण्डकीमा विष्णु पौडेलले दादागिरी देखाउन खोजे,’ थापाले भने ।
प्रभावित हुने भनिएका स्थानीय तहले यसअघि नै प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएका थिए । तर आफूहरुले बुझाएको पत्रको कुनै सुनुवाई नै नगरिएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा बताउँछन् ।
‘पालिकाहरु मिलेर विरोध पत्र बुझाएका हौं, सुनुवाइ गरिएन, जैविक विविधताको क्षयीकरण र धार्मिक सम्पदा मास्ने यो याजना फेल गराउन युद्ध लड्न परे पनि तयार छौं,’ थापा भन्छन् ।
केपी शर्मा ओलीको सरकार केही ‘पपुलारिटी’ कमाउन यस्ता योजनामा उद्धत भएको उनको भनाइ छ । आफूपनि ओली पक्षकै नेता भएपनि यस्ता योजना ल्याएर अत्ताल्लिएको मानसिकता देखाउन नहुने उनले तर्क गरे ।
‘म ओलीबाकै पक्षको हुँ, तर बाले यस्ता समस्या बढाएका छन् । अत्तालिएको मानसिकता हो बुढाको । पपुलारिटीका लागि,’ थापाले भने । यस आयोजनालाई गुठी विधेयकझैं फिर्ता लिने बनाइने उनको दाबी छ ।
चापाकोट नगरपालिकाका प्रमुख शिव गिरी आफूहरु आयोजना बन्न नदिन सहिद बन्नुपरे पनि तयार रहेको बताउँछन् । ‘सयौं बस्ती उजाड बनाएर, इको सिस्टम खल्बलाएर, यो आयोजना १ दिन पनि अघि बढ्यो भने हामी सहादत हुन तयार छौं, संघर्षको मैदानमा उत्रिन्छौं,’ उनले भने ।
लगातारको विरोधपछि पनि अर्थमन्त्री पौडेलले योजना अघि बढाउन खोज्नु उनको दादागिरी रहेको गिरी बताउँछन् । ‘उनोरको चहलपहल २ दिनमा सकिन्छ, हामी आफैैं पनि उनीहरुलाई रोक्न संघर्ष गर्न तयार छौं,’ गिरीले भने, ‘शालिग्राम पाइने एउटैमात्र नदी विष्णु नामकैले मास्न लागे । शालिग्राम त विष्णुको अवतार हो नि ।’
पूर्व प्रधानमन्त्री कृतिनिधि बिष्टका पालामा भारतले कालीगण्डकीको पानी तिनाउ नदी हुँदै भारतसम्म पु¥याउने योजनाले बुटवलको हात्तीसुँडमा कार्यालयस्थापना गरेको जलस्रोतविद् डिल्लीराज बेल्बासेले उल्लेख गरेका छन् ।
नगरप्रमुख गिरी सरकारले नदीनाला भारतलाई बेच्न चाहेकाले यस्ता आयोजना अघि बढाएको दाबी गर्छन् । ‘भारततीर पानी पु¥याउने मनसाय देखिन्छ, नदी नाला बेच्ने सरकारको काम न हो,’ उनी भन्छन् ।
कालीगण्डकी सभ्यता पनि हो
कुमार खड्का, प्रवक्ता, गण्डकी प्रदेश सरकार
गण्डकी र लुम्बिनी प्रदेशका लाखौं नागरिकको सरोकारसँग जोडिएको कालीगण्डकी नदीको पानी डाइभर्सन गरी तिनाउ खोलामा मिसाएर जलविद्युत उत्पादन गर्ने र रुपन्देही र कपिलवस्तुको जमिन सिँचाइ गर्ने हुने गरी तयार पारिएको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएकोप्रति गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।
माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलज्यूले शनिबार उक्त कार्यालय उद्घाटन गर्नुभएको खबर हामीले प्राप्त गरेका छौं । कालीगण्डकी नदीमात्र नभएर सभ्यता पनि हो । गण्डकी प्रदेशको मुस्ताङबाट सुरु भएर देवघाट हुँदै त्रिवेणीसम्म पुगेको यो नदीले सांस्कृतिक, पर्यावरणीय, आर्थिक, सामाजिक र राजनीतिक महत्व बोेकेको छ ।
गण्डकी प्रदेशसँग कुनै सरोकार नै नराखी आयोजना कार्यालय उद्घाटन भएपछि प्रदेशवासीलाई झस्काएको छ । २०७१ सालका नीति तथा कार्यक्रममा यो आयोजना समेटिएदेखि नै तत्कालीन अवस्थामा गण्डकी अञ्चल र लुम्बिनी अञ्चलका जिल्लामा यसको विरोध हुँदै आएको हो ।
तर विरोधको आवाजलाई सम्बोधन गर्ने काम नै भएन । एकातिर जलमार्गको सम्भाव्यता अध्ययन गर्ने अर्कोतिर डाइभर्सनको परियोजना कार्यालय नै स्थापना गर्ने संघ सरकारको गतिविधि नै शंकाको घेरामा छ ।
गण्डकी प्रदेश सरकारसँग समन्वय नै नगरी एकतर्फी ढंगले डाइभर्सन आयोजना अघि बढाएर सरकारले प्रदेश प्रदेशबीच द्वन्द्व निम्त्याउने काम गरेको छ । विस्तृत अध्ययन र अनुसन्धानबिना, समन्वय नगरी यस्ता दीर्घकालीन महत्व राख्ने ठूला परियोजना सुरु गर्नु हुँदैन भन्ने गण्डकी प्रदेश सरकारको ठम्याइ हो । राम्दीदेखि देवघाटसम्मका बासिन्दाको भावना विपरीतको यो आयोजनाको काम सुरु नगर्न गण्डकी प्रदेश सरकार आग्रह गर्दछ ।
तपाईको प्रतिक्रिया