आज गण्डकीका विनाविभागीय मन्त्रीको जिम्मेवारी टुङ्गो लाग्दै

समाधान संवाददाता २०७८ असार १३ गते ७:३५

दीपक मनाङेले खेलकुद मन्त्रालय लिन मानेनन्, भौतिक नै दिनुपर्ने दाबी

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारका ४ विनाविभागीय मन्त्रीहरुले आज जिम्मेवारी पाउँदैछन् । शुक्रबार नै जिम्मेवारी टुङ्गो लागेको भएपनि आजमात्र उनीहरुलाई जिम्मेवारी दिन लागिएको हो ।

Advertisement

‘शुक्रबारको बैठकले नै टुङ्गो लागेको हो, शनिबार गर्नुभन्दा आइतबार पारेर गरौं भनेर आज गर्न लागेका हौं,’ सरकारका प्रवक्ता कुमार खड्काले भने ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कुमार खड्काका अनुसार बजेटमाथि छलफल नसकिँदासम्मका लागि लक्षित गरी मन्त्रालय टुंग्याइएको छ । मुख्यमन्त्री नियुक्त भएकै दिन २९ जेठमा मुख्यमन्त्री पोखरेलले ४ मन्त्रीसहित सपथ लिएका थिए ।

Advertisement

कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री बनेका छन् । तर अहिलेसम्म उनहरुको मन्त्रालय टुंगो लाग्न सकेको छैन । मन्त्रीहरुको विभाग टुंगो नलागेपछि बजेटमाथिको छलफल पनि अन्योलमा छ ।

स्रोतका अनुसार विवादित बनेका अर्थ र भौतिक मन्त्रालय बजेटमाथिको छलफलसम्मका लागि मुख्यमन्त्री आफैं राख्ने भएका छन् । अर्थ र भौतिक मन्त्रालयमा लामो समय किचलो भएको छ ।

अर्थ मन्त्रालय जनता समाजवादीलाई दिन मुख्यमन्त्रीले लिखित सहमति गरेका थिए । भौतिकमा माओवादीको दाबी छ । तर कांग्रेसले अर्थ जनता समाजवादीलाई दिन नचाहेपछि विवाद भएको हो ।

अरु मन्त्रीको पनि शुक्रबार कार्यविभाजन भएको छ । स्रोतका अनुसार मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएकी छन् । कांग्रेसका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालय लिनेछन् ।

स्वतन्त्र सांसद दीपक मनाङेलाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रालय दिने भएका छन् । यद्यपि मनाङे त्यसमा असहमत छन् । आफूलाई सरकार गठनका बेला भौतिक दिने भनिएकाले भौतिक मन्त्रालय नै दिनुपर्ने उनको अडान छ । भौतिक नपाए सरकारमै नजाने उनको टिप्पणी छ । जनता समाजवादीका हरिशरण आचार्यले ऊर्जा तथा सिंचाइ लिने भएका छन् ।

मुख्यमन्त्री पोखरेलले ४ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका थिए । तर दलहरुबीच विवाद भएपछिउनले विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोक्न र मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् ।

कांग्रेस, माओवादीले भौतिक तथा अर्थ र जनता समाजवादीले अर्थ दाबी गरेपछि गठबन्धनमा सहमति हुन सकेको थियो । कांग्रेसका १५, माओवादीका ११, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका २÷२ सांसदको साथमा पोखरेल मुख्यमन्त्री बनेका थिए ।

मन्त्रालय भागभन्डामा किचलो आएपछि मुख्यमन्त्री तथा कांग्रेस सांसदहरु शीर्ष नेता भेट्न काठमाडौं गएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतका नेतालाई मुख्यमन्त्रीले भेटेका थिए । ५ दलीय गठबन्धनका नेता भेटेर पोखरा फर्केपछि मन्त्रालय भागभन्डा गरिएको हो ।

तपाईको प्रतिक्रिया