राेजेकाे नपाएपछि हरिशरण र मनाङेद्वारा जिम्मेवारी अस्वीकार, कांग्रेस–माओवादीका मन्त्रीले पाए मन्त्रालय

समाधान संवाददाता २०७८ असार १३ गते १४:०९

समाधान संवाददाता, पाेखरा ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले २ जना मन्त्रीलाई मात्र जिम्मेवारी दिएका छन् । सत्ता साँझेदार दल जसपा र स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्रीले दिएकाे मन्त्रालय अस्वीकार गरेपछि कांग्रेस र माओवादीबाट मन्त्री बनेकाहरुलाई मात्र जिम्मेवारी ताेकेका छन् ।

कांग्रेसबाट मन्त्री बनेका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयकाे जिम्मेवारी दिएका छन् ।

Advertisement

त्यस्तै माओवादीकी मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका छन् । आज नेपालीले उनीहरुलाई मन्त्रालयको कार्यविभाजन गरेका हुन् ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले खड्का र अधिकारीलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Advertisement

दलहरुबीच भागबण्डा मिल्न नसक्दा मन्त्रिमण्डललाई पूर्णता दिन नसकेका मुख्यमन्त्री पाेखरेलले चार जना मन्त्रीलाई मात्र भएपनि विभाग दिएर बजेट सत्र सुचारु गर्ने साेच बनाएका थिए ।तर त्याे प्रयास पनि असफल भएकाे छ ।

विना विभागीय नै रहेका मन्त्री हरिशरण आचार्य र दीपक मनाङेले भने जिम्मेवारी पाएका छैनन् । जसपाका आचार्य र स्वतन्त्र सांसद मनाङेले मागेको मन्त्रालयमा सहमति जुट्न नसकेको हो ।

अर्थमन्त्रालयमा अडिएका आचार्यलाई मुख्यमन्त्रीले उर्जा, जलश्राेत तथा खानेपानी मन्त्रालय दिने तयारी गरेका थिए भने मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयकाे कार्यभार सम्हाल्न भनेका थिए ।

आचार्यले अर्थ र मनाङेले भौतिक पूर्वाधार विकास मन्त्रालय मागेका छन् । २९ जेठमा नियुक्त मुख्यमन्त्रीले सपथ लिएको १३ दिनपछिमा मात्रै २ मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिन सकेका हुन् ।

मुख्यमन्त्री नेपालील अर्थमन्त्री कुमार खड्कालाई बनाउन चाहेका छन् । तर विश्वासकाे मत लिने दिनै जसपासँग अर्थमन्त्रालय दिने लिखित सहमति गरेका उनी अहिले अप्ठेराेमा परेका छन् ।

अहिले काम चलाउनका लागि भन्दै मुख्यमन्त्रीले मुख्य विवाद भएका मन्त्रालय अर्थ र भाैतिक पूर्वाधार आफैसँग राखेका छन् । बजेेट सत्रसम्मका लागि भन्दै उनले नयाँ जुक्ती निकालेर मन्त्रीहरुलाई मन्त्रालय दिने तयारी गरेका थिए । तर गठबन्धनका २ मन्त्रीले मुख्यमन्त्रीले दिएकाे जिम्मेवारी लिन अस्वीकार गरेपछि सत्तारुढ गठबन्धनकाे अप्ठेराे अझै लम्बिने देखिएकाे छ ।

तपाईको प्रतिक्रिया