एसपी श्रेष्ठको बिदाइः ६ महिनामा पनि गुत्थी नखुलेको त्यो एक केस

समाधान संवाददाता २०७८ असार १४ गते ७:४४

एसपी श्रेष्ठको कार्यकालमा कास्की प्रहरीमा १०१० मुद्दा दर्ता
समाधान संवाददाता, पोखरा

माछापुुच्छ«े ४ लाहाचोकका रघुनाथ अधिकारी (७२) र उनकी श्रीमती विष्णुमाया अधिकारीमाथि गत पुस १ गते राति निर्घात कुटपिट भयो । कुटपिट सामान्य थिएन, प्रहरीलाई नै चकित पार्ने खालको थियो । यो दम्पत्तीलाई ड्रग्सले लठ्याएर कुटपिट गरिएको थियो ।

खाना खान जाने बेला तर्खरमा रहेका अधिकारी दम्पत्तीलाई कसैले एक्सासि लठ्ठ पारिदियो । को, कति जनाले र किन त्यसो ग¥यो, दम्पत्तीले चाल पाएनन् । भोलिपल्ट पुस २ गते मात्र उनीहरुको होस फिस्टेल अस्पतालमा खुल्यो । उनीहरु ऐया र गुहारसमेत भन्न नपाउने गरी मरणसन्न कुटपिटमा परे । सँगै घर रघुनाथका भाइका छोरा विजयको परिवारले समेत त्यस घटनाको चाल पाएन । २ पुस बिहानमा ठूलाबा, ठूलीआमाको हालत देखेपछि विजयले प्रहरीलाई खबर गरे ।

Advertisement

यो घटना अहिले पनि रहस्यमयी नै छ । कास्की प्रहरीले यस घटनाको गुत्थी खोतल्न सकेको छैन । बरु यस घटनाको कमान्ड सम्हालिरहेका एसपी जीवन श्रेष्ठको कार्यकाल सकिएर बिदाइ भएका छन् ।
एसपी श्रेष्ठ आफ्नो नेतृत्वमा त्यस घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको स्वीकार गर्छन् । यसमा परिवारभित्रैबाट सहयोग नभएको उनको टिप्पणी छ । ‘सकेनौं, सहयोग भएन, प्रहरी आफैंले सबैथोक गर्न सक्दैन,’ श्रेष्ठले भने, ‘घटनामा संलग्न व्यक्ति नजिककै हो, तर प्रमाण जुटाउन सकेनौं ।’

एसपी श्रेष्ठको आइतबार बिदाइ गरिएको छ । १ असार २०७७ मा सरुवा भएर कास्की आएका उनको यो ८ असारमा सरुवा भएको थियो । उनलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोमा पठाइएको छ ।

Advertisement

एसपी श्रेष्ठले आफ्नो पोखराको बसाईंलाई चुनौतीसहितको यादगार पलको रुपमा चित्रित गर्छन् । ‘नेपालकै ठूलो सहरमध्येको पोखरा आउँदा चुनौतीसहित अवसर थियो, यहाँको चुनौती सामना गर्दा कार्यकाल स्मरणीय रह्यो,’ श्रेष्ठ भन्छन् ।

श्रेष्ठको कार्यकालमा कास्की प्रहरीमा १०१० मुद्दा दर्ता भएका छन् । ती मुद्दामा १११५ जना पक्राउ परेको श्रेष्ठले सोमबार आयोजित सञ्चारकर्मी भेटघाटमा जनाए । उनको नेतृत्वमा कास्की प्रहरीले २८४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । २७० पुरुष र १४ महिला फरार प्रतिवादी पक्राउ गरिएको श्रेष्ठले बताए । प्रतिवादीहरुबाट ७९ लखा ७ हजार बढी रकम असुल गरिएको छ भने ५५ वर्ष ९ महिना कैद सजाय भराइएको छ ।

यसबीच ९३ वटा बैंकिङ कसुरका मुद्दा परेका छन् । ती कसुरमा १४ पुरुष र ७ महिलासहित २१ जनालाई नियन्त्रणमा लिइएको छ । ३२ वटा खालबाट २१४ जना पक्राउ परेका छन् भने २१ लाख ८० हजारबढी रकम बरामद भएको श्रेष्ठले बताए ।

लागूऔषध दुव्र्यसनीमा २२४ जना मानिस पक्राउ गर्न कास्की प्रहरी सफल भयो । प्राकृतिक दोहन रोकथाम गर्न प्रहरीले गरेको कारबाहीमा ७४ जना कारबाहीमा परेका र उनीहरुबाट ७ लाख ८९ हजार राजस्व संकलन भएको जनाइएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने २५ हजार ७८० सवारी साधनलाई कारबाही गरिएको छ । उनीहरुबाट १ करोड ८२ लाख बढी राजश्व संकलन गरिएको एसपी श्रेष्ठले बताए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ४६६ वटा कार्यक्रम सञ्चालन गरिएको छ । १४७ जना सडक मानवको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

कोरोना नियन्त्रणका लागि ९५२ जना प्रहरी जनशक्ति परिचालन गरिएको एसपी श्रेष्ठले बताए । निषेधाज्ञा उल्लंघनन गर्ने १०१ जना मानिसलाई कारबाही गरी ५ लाख ५९ हजार बढी जरिवाना गराइएको उनले बताए । अक्सिजन अभाव रोक्न प्रहरीले ३ सय ७ अक्सिजन सिलिन्डर खोजेर अस्पताल तथा अक्सिजन कम्पनीलाई बुझाएको छ ।

तपाईको प्रतिक्रिया