आन्दोलनको लोकतान्त्रीकरणमा मदन भण्डारी

समाधान संवाददाता २०७८ असार १४ गते १२:४९

धनञ्जय दवाडी
असार १४ गते मदन जन्मेको दिन हो । ग्रामीण किसान परिवारमा जन्मेर बनारस पुगेर अध्ययन गरेका मदन भण्डारीले नेपाली समाजलाई नै ज्ञान आर्जनको विश्वविद्यालय बनाएका थिए । जनताबाट लिएका ज्ञानलाई सैद्धान्तीकरण गरी जनताले बुझ्ने भाषामा प्रेषण गरेर नै उनी जनप्रिय नेता हुन सके । विश्वभर ९० को दशकमा विश्व कम्युनिस्ट आन्दोलनले धक्का व्यहोरेको थियो । यो धक्काले पहिलो समाजवादी क्रान्ति भएको मलुक सोभियत संघको विघटनमात्र होइन, पूर्वी युरोपका धेरै समाजवादी मुलुकमा प्रतिक्रान्ति भयो । कम्युनिस्ट पार्टीहरु विघटन भए, सत्ता गुमाए । विश्वभर आन्दोलनले धक्का खाएका बेला नेपालमा आन्दोलन लोकप्रिय बन्दै जनताको बीचमा हुर्कंदो थियो । सरकार सञ्चालनको तयारीमा थियो । यसका कारण थिए र छन् ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा भयो । पार्टी स्थापनालगत्तै राणा विरोधी संघर्षमा पार्टी संलग्न रह्यो । स्थापनाको प्रारम्भमा ‘नौलो जनवादी कार्यक्रम’मार्फत जनसमुदायलाई परिचालन गर्ने नीति अबलम्बन गरेको नेपाल कम्युनिस्ट पार्टीले राणा कांग्रेस संयुक्त सरकारका विरुद्ध ‘राष्ट्रिय जनवादी संयुक्त मोर्चा’ निर्माण गरी जनसंघर्षको बाटो लियो । जनताका अधिकारका लागि सिद्धान्त, संगठन र संघर्षको नीतिका आधारमा २०१५ सालको आम निर्वाचनमा ४७ स्थानमा उम्मेदवारी दिएर ४ स्थानमा विजयी भई पार्टीले चौथो स्थान हाँसिल गरेको थियो ।
२०१७ को राजाको फौजी काण्डपछि कम्युनिस्ट पार्टी प्रजातन्त्र प्राप्तिका लागि संघर्षमा होमियो । सशस्त्र र शान्तिपूर्ण दुवै संघर्षका माध्यम प्रयोग नेपाल कम्युनिस्ट पार्टीले गरेको छ । दुवै आन्दोलनका स्वरुपका सकारात्मक र नकारात्मक शिक्षा ग्रहण गरेर नेपालमा जनआधारित पहिलो पार्टी भएको छ । सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीलाई यो उचाइ मदन भण्डारीका विचारले प्रदान गरेको हो । मदन भण्डारी र उनका सहकर्मीले जनसंगठन निर्माण र परिचालन गर्दै जनसंघर्षका माध्यमबाट जनतालाई जगाउँदै, जनमत संग्रहमा बहुदलको पक्षमा प्रचार गर्दै, पञ्चायती चुनावको जनपक्षीय हस्तक्षेप, २०४६ मा वाममोर्चा निर्माण गरेर, २०४७ सालको संविधान निर्माणमा भूमिका निर्वाह गरी माले माक्र्सवादी बीचको एकतालाई अघि सारेर नेकपा एमालेलाई मूलभारको राजनीतिमा ल्याएका थिए ।
लोकतन्त्र प्राप्तिकै आन्दोलनबाट नेपाली कम्युनिस्टहरुले लोकतन्त्र, मानवअधिकार, आवधिक निर्वाचन, कानुनी राज्य, बहुदलीयता जस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई पुँजीकृत गरिसकेका थिए । यसैका आधारमा नेपाली जनताको विश्वास जित्दै विश्वभर आन्दोलनले व्यहोरेको धक्कालाई अस्थायी धक्का भन्दै फेरि उठ्ने विश्वास व्यक्त गरेर, आन्दोलनको नेतृत्व गरेर मदन भण्डारीले माक्र्सवादको सिर्जनात्मक प्रयोग गरे । उनको विचार जनताको बहुदलीय जनवादको आलोकमा आज सरकार सञ्चालन कम्युनिस्ट पार्टीले गरिरहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २०४९ मा आयोजना गरेको पाँचौं महाधिवेशनमा मदन भण्डारीले प्रस्तुत गरेको कार्यक्रम जनताको बहुदलीय जनवाद पारित गरी नेपाली सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोगका रुपमा अभ्यास प्रारम्भ भयो । यही दस्तावेजलाई नेपाली जनताले २०५१ सालमा सबैभन्दा ठूलो दलका रुपमा अनुमोदन गरे । क्रान्ति पूर्व नै सरकार सञ्चालन गरेर लोकप्रिय पार्टीका रुपमा स्थापित भयो । कम्युनिस्ट पार्टीलाई बदनाम गर्न लगाइएका तमाम आरोप खण्डित भए ।
नेपालमा राजनीतिक अधिकार प्राप्तिको आन्दोलन, राष्ट्रियताका सवाल वा जनजीविकाका आन्दोलरुमा नेपाल कम्युनिस्ट पार्टी र उसका जनवर्गीय र पेशागत संगठनहरुको संलग्नताले आन्दोलनमा सफलता र जन विश्वास दुवै आर्जन गरे । बुर्जुवा पार्टीहरुसँगै प्रजातन्त्र प्राप्तिका लागि जेल, प्रवास र भूमिगत संघर्षका माध्यमबाट जनपरिचालन गरी जनताको आशा र भरोसाका रुपमा कम्युनिस्ट पार्टी निर्माण भयो । संघर्षका अनुभव र विकासकै क्रममा जनताको बहुदलीय जनवादको विकास भयो । यो विचार नेपाली क्रान्तिको संश्लेषण पनि हो ।
नेपालको कम्युनिस्ट आन्दोलन विश्व कम्युनिष्ट आन्दोलनको एउटा हिस्सा हो । विश्व कम्युनिष्ट आन्दोलनका विवादले नेपाल कम्युनिस्ट पार्टीमा विभाजन ल्याएको तिक्त इतिहास पनि नेपालमा छ । सबै मुलुकका आआफ्ना विशिष्टता हुन्छन् र तिनका आन्दोलनका पनि आआफ्नै तौर, तरिका हुन्छन् भन्ने मान्यतालाई आत्मसात् गरेर नै नेपाली विशिष्टतामा संगठन निर्माण र परिचालन गर्ने क्रममा जनताको बहुदलीय जनवाद विकास भयो । सोभियत मोडलको समाजवादको असफलताका अनेकौं कारणमध्ये लोकतन्त्रको अभाव मुख्य कारण थियो ।
यहीबाट शिक्षा लिएर नेपाल कम्युनिस्ट पार्टीले समाजमा वर्ग हुँदासम्म वर्गीय द्वन्द्व रहने सत्य स्वीकार गरेर नै समाजवादका चरणमा पनि बहुदलीय प्रतिष्पर्धालाई आत्मसात गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको हो । सोभियत संघ र पूर्वी युरोपको असफलताको आलोचनात्मक समीक्षा गर्दा नै जनताको बहुदलीय जनवादको विकास भएको हो । सोभियत मोडलको समाजवादको पतन र नेपाली लोकतान्त्रिक आन्दोलको अनुभवका ऐतिहासिक तथ्यका आधारमा जनताको बहुदलीय जनवादलाई बुझ्नुपर्दछ । मदनलाई स्मरण गर्ने आधार पनि यही हो ।
एक पटक क्रान्तिबाट सत्तामा पुगेपछि बारम्बार जन परिक्षीत हुनुपर्ने मान्यतालाई आत्मसात् नगरेकाले नै सोभियत मोडलको समाजवाद असफल भयो । यो समाजवादले पार्टी र राज्यसत्ताको भिन्नतालाई स्वीकार गरेन, एकै ढंगले वयवाहर ग¥यो । निरन्तर गतिशील र परिवर्तित भईरहने राज्यसत्तालाई गति र परिवर्तनमा बुझिएन । समाजवादी राज्यसत्तामा पनि समाजको वर्गीय चरित्र अनुसार सहयोगी र विरोधी हुन्छन् भन्ने बुझाइ नहुँदा राज्य सत्तालाई सर्वहारा वर्गको मात्र भन्ने ठानियो । परिणामतः समाजवादले धक्कामात्र व्यहोरेन, कम्युनिस्ट पार्टीहरुसमेत विघटन हुन पुगे ।
हरेक वस्तुको रुप र सार हुन्छ । राज्यको पनि रुप पक्ष र सार पक्ष हुन्छ । शासन प्रणाली रुप हो, त्यसको वर्गीय पक्षधरता सार हो । बहुदलीय प्रतिस्पर्धाका आधारमा विजयी भएर सरकार सञ्चालनमा पुगेका बेला सरकार रुप पक्ष हो । सरकारका कामका आधारमा लोकप्रिय बनाउन सक्दा सारलाई बलियो बनाएर सुदृढ बनाउन सकिन्छ । जनाधार बलियो बनाउन सक्दामात्र पार्टी बारम्बार जनअनुमोदित हुन्छ । नेपाल जस्तो लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा बहुदलीय प्रतिष्पर्धा गरेरमात्र कम्युनिस्ट पार्टी सरकारमा पुग्छ ।
सरकारमा पुगेर पार्टीको घोषणापत्रलाई कार्यान्वयन गर्न सकिन्छ । जनतालाई सचेत र संगठित गर्न सकिन्छ । पार्टीले सरकारका कामका प्रचार गरेर जनमत निर्माण गर्दछ । फेरि निर्वाचनबाट जन अनुमोदित हुन्छ । आफ्ना योजनालाई परिष्कृत र रुपान्तरण गर्दछ । हरेक प्रतिष्पर्धामा श्रेष्ठता प्राप्त गरेर कम्युनिस्ट पार्टीले पहलकदमी र नेतृत्व लिन्छ । यही बाटोमा कुशलतापूर्वक हिंडेर नै नेपालका कम्युनिस्टहरु सबैभन्दा धेरै मत प्राप्त गर्ने दल भएका छन् । जनताको बहुदलीय जनवादलाई समृद्ध बनाएका छन् ।
जीवन र जगतमा द्वन्द्व छ । द्वन्द्वले गतिको सिर्जना गर्दछ । गतिलाई सही ढंगले पक्रेर नै राजनीतिक परिर्तनहरु सम्भव भएका हुन् । कुनै पनि मुलुकको परिवर्तनलाई दिगो बनाउन राजनीतिक पक्षमात्र होइन, आर्थिक पक्ष पनि सबल हुन जरुरी छ । पूर्व पुँजीवादी चरित्र बोकेको रुसी उत्पादन प्रणालीलाई बलका आधारमा समाजवादमा विशाल अग्रगामी छलाङ मार्दा, राजनीतिक रुपमा बहुलताको अस्वीकार गर्दा, अर्थतन्त्रका क्षेत्रमा बजार व्यवस्थालाई सही ढंगले परिचालन गर्न नसक्दा नै सोभियत मोडलको समाजवाद असफल भयो । युद्धकालीन प्रशासन र उत्पादनलाई युद्धकालपछि पनि निरन्तरता दिंदा निर्माण र विकासको सहज बाटो अवरुद्ध भई सोभियत समाजवादको अवसान भयो ।
सोभियत नक्कल गर्ने भएकाले पूर्वी युरोपको समाजवादले धक्का खायो । चिनियाँ महान् छलाङले घाटा व्यहोर्नु प¥यो । सोभियतका विशाल अग्रगामी छलाङको अभ्यास र चीनियाँ छलाङ परिवर्तनका गति विपरीतका कदम थिए । यी र यस्तै अन्तर्राष्ट्रिय अनुभवबाट जनताको बहुदलीय जनवादले चरणबद्ध आर्थिक विकासको अवधारणा राखेको छ । जनवादी क्रान्ति भएपछि पनि लामो र उस्तै जस्तो लाग्ने उपचरणहरु पूरा गर्नुपर्ने दृष्टिकोण लिएको छ ।
पुरानो राजनीतिक प्रणालीलाई परिवर्तन गरी नयाँ राजनीतिक प्रणालीमा प्रवेश गर्दा पुराना अर्थ प्रणालीका पतनशील चरित्रलाई समाप्त पार्नु पर्दछ । सामान्ती उत्पादन प्रणालीलाई समाप्त गरेर पुँजीवादी उत्पादन प्रणालीमा रूपान्तरित हुँदा खास खास चरण पूरा गर्नुपर्छ र कतिपय चरणका उपचरण हुन सक्छन् । उत्पादन र बजारका यस्ता चरण पार गर्दा उस्तै उस्तै लाग्ने काम बारम्बार दोहोरिन पनि सक्छन् । तर नेपाल जस्तो दलाल नोकरशाही पुँजीवादले घेराबन्दी गरिरहेको अर्थतन्त्र भएको मुलुकमा राष्ट्रिय पुँजीको विकास गर्न वर्ग पक्षधर प्रणालीलाई संरक्षण गर्दै अन्य प्रणालीसँग प्रतिष्पर्धा गर्नु पर्दछ ।
प्रतिष्पर्धाको वातावरण निर्माण गर्न कम्युनिस्ट पार्टीको सरकारले नीतिगत सहयोग गर्नु पर्छ । सोभियत मोडलको समाजवादको असफलता र अहिले चीनियाँको बजार अर्थतन्त्रबाट समाजवादमा जाने बाटोबाट शिक्षा लिएर अघि बढ्नु पर्दछ । समाजवादमा बेरोजगारी र गरिबी लिएर पुग्न सकिन्न । नेपाली समाजलाई रोजगारी र श्रममा आधारित बनाई गरिबीको रेखाबाट बाहिर निकालेरमात्र प्रगतिशील समाज निर्माण गर्न सकिन्छ । नेपाली समाजमा पुँजीको विकास गरेर नै यी सब काम सम्भव हुन्छन् । यसैले कम्युनिस्ट पार्टीले पुँजीवाद र लोकतन्त्र लामो समयसम्म सँगै जान सक्छन् भन्ने ऐतिहासिक तथ्यलाई आत्मसात गर्नु पर्दछ ।
पुँजीवादको ऐतिहासिक क्षण, अवधि, उत्पादन व्यवस्था , सामाजिक सम्बन्ध, ज्ञान र चेतना निर्माण गरेर, भोगेर र यिनबाट गुज्रेर पुँजीवादका अनन्य र अन्योन्याश्रित सहयात्री वर्गबीच नभई नछोड्ने द्वन्द्वपश्चात मात्र समाजवादमा जान सकिन्छ, नत्र सकिन्न । यसैले समाजवाद पुग्नु अघिका अनिवार्य ऐतिहासिक दायित्व पूरा गर्नु पर्दछ । जनताको बहुदलीय जनवादले यो ऐतिहासिक तथ्यलाई स्वीकार गरेको छ ।
एक्काइसौं शताब्दीको समाज स्वतन्त्र र खुला हुन्छ । हिजो कम्युनिस्टहरुले युद्धकालीन समाजवादको अभ्यास गर्दा एकल वा बन्द जस्तो देखिएकाले यसका विरुद्ध चौतर्फी हमला भए । कम्युनिस्टलाई बन्द समाजका पक्षधर जस्तो चित्रण गरियो । स्वतन्त्र र खुला समाजमा नै पुरानोको पतन र नयाँको उत्थानका लागि वातावरण निर्माण हुन्छ । निजी र सामूहिकतामा व्यक्तिगत स्वतन्त्रता र सामाजिक सम्बन्धहरुलाई व्यवस्थित गरेर नै नेतृत्व लिन र समाजलाई परिवर्तन गर्ने विचारहरु प्रकट हुने अवसर प्राप्त गर्दछन् । माओको ‘सयौं फूल फूल्न देऊ’ भन्ने विचारले समाजवादी चरणसम्म नै बहुलवादले समाज रुपान्तरणमा सहयोग पुग्दछ भन्ने निष्कर्ष लिन सकिन्छ ।
नेपाली समाज जात, भाषा, लिंग, क्षेत्रगत विविधता भएको समाज हो । यस्तो समाजको बहुलतालाई प्रतिनिधित्व गरेर नै राष्ट्रिय एकता कायम गर्न सकिन्छ । बलियो राष्ट्रिय एकता भएको समाजको रुपान्तरणको नेतृत्व लिन कम्युनिस्ट पार्टीलाई सहज हुन्छ । बहुल विविधतायुक्त समाजको नेतृत्व गर्ने पार्टीले बहुलवादलाई स्वीकार गर्नु पर्दछ र नेतृत्व जनअनुमोदित हुनु पर्दछ । आवधिक अधिवेशनबाट नेतृत्व र आमनिर्वाचनबाट पार्टीलाई अनुमोदित गरिरहनु पर्छ । जनताको बहुदलीय जनवादले बहुलवादी खुला समाजलाई आफ्नो विशेषताको रुपमा स्वीकार गरेर यी तथ्य स्वीकार गरेको छ ।
जनवादी क्रान्ति सम्पन्न भएपछि पनि क्रान्तिका आर्थिक, सामाजिक र सांस्कृतिक कार्यभार बाँकी नै रहन्छन् । नेपालको संविधानले शान्तिपूर्ण रुपमा समाजवादमा पुग्ने गर्ने बाटो सुनिश्चित गरेको छ । जनवादी क्रान्ति सम्पन्न भएपछि शान्तिपूर्ण रुपबाट समाजवादमा संक्रमण गर्न सकिने जनताको बहुदलीय जनवादको मान्यताको पुष्टि भएको छ । नेपालमा यसका लागि जनअनुमोदित पार्टी र कार्यकर्ता अनुमोदित नेतृत्व पहिलो शर्त हो ।
पुँजीवादी जनवादी वर्तमान अवस्थाबाट समाजवादी व्यवस्थामा संक्रमण गर्नका लागि संघर्षको मुख्य रुप संसदीय नै हुनेछ । संसदीय संर्घषलाई मूल कार्यदिशा मान्ने दलले सबै तहका निर्वाचनको सामना गरेर जन अनुमोदित हुनु पर्छ । कम्युनिस्ट पार्टीले बारम्बार जनअनुमोदित हुने आधार उसले वर्तमानमा गरेको जनकार्य नै हो । जनकार्यबाट प्राप्त सफलता र उपलब्धि रक्षा गर्दै जनपक्षीय कार्यबाट अर्को निर्वाचनका लागि जनमत निर्माण गर्नु पर्दछ । पार्टीले हरेक पटकको निर्वाचनमा थप जनमतलाई सुरक्षित गर्नु, उन्नत स्तरको कार्य गर्नु, सरकार सञ्चालनमा पुग्दा जनपक्षीय नीति निर्माण र नेतृत्व गर्नु र प्रतिपक्षमा रहँदा जनताका माग र आवश्कता पूरा गर्न जनदबाब सिर्जना गर्नुपर्दछ । यसरी जनताबीच अनुमोदित हुँदै अघि बढ्नु पर्छ ।
कम्युनिस्ट पार्टीले बदलिएको नेपाली समाजको चरित्र अनुसार अबको बाटो तय गर्नु पर्छ । यसका लागि संविधानतः लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध पार्टीले नै समाजको पुँजिवादी चरित्रलाई बदलेर समाजवादी बनाउन सक्छ । समाजवाद उन्मुख कार्यक्रम बनाउनु पर्दछ । समाजवाद अघिको कार्यक्रम भएकाले संविधानका श्रमिक पक्षीय कामको कार्यन्वयनबाट अघि बढ्नु युक्ति संगत हुन्छ । रहरले एकाएक समाजवादमा छलाङ मार्न सकिन्न । रहरले वास्तविकताको प्रतिनिधित्व पनि गर्दैन । त्यसका लागि वस्तुगत परिस्थिति निर्माण अनिवार्य शर्त हो ।
वर्तमानको दलाल पुँजीवादी चरित्रकै बाटोमा यात्रा गरेर समाजवादी लक्ष्यसँग भेट हुनै सक्दैन । न त सैद्धान्तिक आग्रहबाट नै सम्भव छ । राष्ट्रिय अर्थतन्त्र निर्माण गरेर, रोजगारी सिर्जना गरेर, उत्पादक शक्तिको विकास गरेर गरिबी हटाउने कार्यक्रमबाट हाम्रो मौलिक बाटो तय गर्न सकिन्छ । रुसमा लेनिनले समाजवादलाई विद्युतीकरणसँग र चीनमा देङले किसानलाई बजारसँग जोडेझैं नेपालमा गरिबको थाप्लोबाट नाम्लो हटाउने अभियानमा समाजवाद खोज्न सकिन्छ ।
कृषिको व्यावसायीकरण र बजारीकरण सुनिश्चितताका लागि सहकारितालाई प्रमुख आधार बनाउन सकिन्छ । ठूला र द्रुत गतिका यातायात र अन्य पूर्वाधारमा लगानी गरेर श्रमको अवसर सिर्जना गर्न सकिन्छ । पानीको अन्तर्राष्ट्रिय बजार खोजेर निर्यात अर्थतन्त्रको घाटा कम गर्न सकिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरण गरी गुणस्तरीय व्यवस्था गर्न सकिन्छ । यसरी जनवादी व्यवस्थाको सुदृढीकरण गर्दै शान्तिपूर्ण रुपमा समाजवादमा पुग्न सकिने सहज बाटो नै जनताको बहुदलीय जनवाद बाटो हो । यही बाटो मदन भण्डारीले ३० वर्षअघि देखाएका थिए ।
कुनै पनि देशमा जस्तो प्रकारको राजनीतितक प्रणाली हुन्छ; सोही अनुरुपका दलहरुले नै त्यस व्यवस्थालाई कुशलतापूर्वक सञ्चालन गर्दछन् । नेपालको संविधानले राजनीतिक दलको बिधान र नियमावली लोकतान्त्रिक, निर्वाचित पदाधिकारी र समावेशी प्रतिनिधित्वलाई अनिवार्य गरेको छ । हाम्रो जस्तो प्रतिनिधित्वमूलक प्रजातान्त्रिक मुलुकका दलहरु आवधिक रुपमा निर्वाचित हुनु पर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्रबाटै लोकतान्त्रिक समाजवादमा प्रवेश गर्ने संगठन अनिवार्य रुपमा लोकतान्त्रिक हुनै पर्दछ । लोकतान्त्रिक बिधिबाट चयन भएको दल र लोकतन्त्रलाई आत्मसात गरेको दलले मात्र आमजनताको विश्वास जित्न र परिवर्तनको कुशल नेतृत्व गर्न सक्छ ।
जनताको बहुदलीय जनवादले जनवादी राज्य सत्ताको लोकतान्त्रिकरण र कम्युनिस्ट पार्टीको लोकतान्त्रिकरणसम्बन्धी मान्यतालाई दिशानिर्देश गरेको छ । जसरी सार्वभौम सत्ताको स्रोत नेपाली जनतामा निहित रहेको छ, त्यसै गरी कम्युनिस्ट पार्टीमा पार्टी सदस्यमा सार्वभौमिकता र स्वतन्त्रता रहेको हुन्छ । सबै सदस्य बराबर हुन्छन् । सबै पार्टी सदस्यलाई समान ठान्ने चेतना उन्नत चेतना हो । यिनै पार्टी सदस्यका बीचबाट सबै तहका अधिबेशन निर्वाचित प्रतिनिधिबाट सम्पन्न गर्ने र नेतृत्व निर्वाचित गर्ने विधि लोकतान्त्रिक विधि हो । कसैले टीका लगाएर नेतृत्व छनोट गर्ने विधि अलोकतान्त्रिक तरिका हो । यसले पार्टी र नेतृत्वलाई जनता र कार्यकर्ताबाट अलग गराउँछ । उम्मेदवार र नेतृत्व छनोटका लागि योग्यता निर्धारण गर्नु पर्दछ । निश्चित उमेरको हदभित्र पार्टी नेतृत्वमा रहने व्यवस्था गरिनु पर्दछ ।
नेतृत्वको जीवनशैली पारदर्शी हुनुपर्दछ । अधिवेशनबाट निर्वाचित हुँदा पार्टी कामको नेतृत्व गर्ने, निर्वाचित नहुँदा तोकिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गरी अर्को महाधिवेशनसम्म पर्खने विधि तय गर्नु पर्छ । लोकतान्त्रिक आन्दोलन र परिवर्तनको नेतृत्व गर्ने पार्टीको आन्तरिक जीवन पनि लोकतान्त्रिक हुनु पर्दछ । लोकतान्त्रिकरण प्रक्रियाले सामाजिक प्रणाली, संरचना, विधि, प्रक्रियामात्र नभई राज्य सञ्चालन गर्ने पार्टीलाई पनि जिम्मेवार बनाउँछ । नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी लोकतन्त्रिक शक्तिको रुपमा, शान्तिपूर्ण रुपमा समाजवादसम्मको यात्रा तय गर्ने संगठन निर्माण गर्नु पर्दछ । परिवर्तित सन्दर्भमा संगठनका स्वरुपहरु पनि बदलिनु पर्दछ । उत्पादन गर्ने संगठनहरु नभई समाजवादमा पुग्न सकिंदैन । उत्पादशील कार्यक्रमका माध्यमबाट जनताको बहुदलीय जनवादी कार्यक्रममार्फत् समाजवादी समाज निर्माणको बाटोमा अग्रसर हुन सकिन्छ ।
माक्र्सवादी शिक्षाको आलोकमा रुसी क्रान्तिको अनुभव, लेनिनवाद, चिनियाँ राष्ट्रवादी आन्दोलनको संश्लेषण नयाँ जनवाद भएझैं नेपाली क्रान्तिको अनुभव र संश्लेषण जनताको बहुदलीय जनवाद हो । जनताको बहुदलीय जनवादको रक्षा प्रयोग र विकासबाटै समाजवादसम्मको यात्रा तय गर्न सकिन्छ । अहिलेका चुनौतीको सामना गर्न सक्ने गरी जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउनु र समाजवादी ध्येयमा समर्पित हुनु नेपाली क्रान्तिकारीको मुख्य कार्यभार हो । यो नै मदन भण्डारीलाई दिइने श्रद्धाञ्जली हो ।

(गण्डकी प्रदेश सभाका सांसद दवाडी नेकपा एमाले लमजुङ अध्यक्ष पनि हुन्)

तपाईको प्रतिक्रिया