सत्ता किचलोले बजेटमाथिको छलफल अन्योलमा

समाधान संवाददाता २०७८ असार १५ गते ८:२९

पूर्वअर्थमन्त्री गुरुङ भन्छन्ः असार मसान्तसम्म पास हुनुपर्छ, लिखित भाषणजस्तो नभई विधि अनुसारको बनाएर बजेटमाथि छलफल गर्नुपर्छ
समाधान संवाददाता, पोखरा

पेस भएको १४ दिन कटिसक्दा पनि गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले सरकार गठनको दोस्रो दिनमा नीति कार्यक्रम प्रस्तुत गरेर तेस्रो दिनमा बजेट प्रस्तुत गरेको थियो ।

बजेट भाषण मुख्यमन्त्री पोखरेल स्वयंले नै गरेका थिए । अर्थमन्त्रीले बजेट भाषण गर्ने प्रचलन रहे पनि अर्थमन्त्रीको जिम्मेवारी नटुंगिएकाले पोखरेलले नै बजेट भाषण गरेका थिए । बजेट भाषणलगत्तै सदन ३ दिनलाई स्थगित भएको थियो ।

Advertisement

४ असारको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत प्राप्त गरेपछि सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए । त्यसयता सदन सुरु हुन सकेको छैन । सरकार आफ्नै किचलोमा फसेको छ ।

गठबन्धनका दलहरुले ठूला मन्त्रालय दाबी गर्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । मुख्यमन्त्री नियुक्त भएको दिन पोखरेलले ४ जनालाई विनाविभागीय मन्त्री बनाएका थिए ।

Advertisement

कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे सरकारमा सहभागी भए । उनीहरुको जिम्मेवारी गत शुक्रबारनै टुंगो लागेको छ । कांग्रेसका खड्काले सामाजिक विकास मन्त्रालय र माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

तर आइतबार २ मन्त्रीले जिम्मेवारी सम्हाल्न मानेनन् । जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले जिम्मेवारी नसम्हाल्ने भनेपछि उनीहरु अझै विनाविभागीय छन् । आचार्य आफूसँग कांग्रेसले गरेको ३ बुँदे सहमति कार्यान्वयन भएपछि मात्रै जिम्मेवारी सम्हाल्ने अडान कसेका छन् भने मनाङेले भौतिक नपाए सरकारमै नजाने जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने दिन जसपालाई अर्थसहित २ मन्त्रालय दिने लगायतका ३ बुँदे सहमति गरेका थिए । अर्थमा कांग्रेस, माओवादीको र जसपाको तथा भौतिकमा माओवादी र दीपक मनाङेको दाबी छ । यसकारण मुख्यमन्त्रीले अर्थ र भौतिक आफैंले राखेर जिम्मेवारी बाँडेका थिए ।

किचलोबीच प्रदेशको बजेटमाथिको छलफल भने अन्योलमा छ । सामान्यतः बजेट भाषणको भोलिपल्टैबाट छलफल थालिन्छ । तर गण्डकीमा भने सरकार आफ्नै किचलोमा रुमलिएपछि बजेटमा ध्यान पुगेको छैन ।

पूर्वअर्थमन्त्री किरण गुरुङ तयारी बिनाबजेट ल्याइएकाले अहिले सरकारलाई सकस परेको बताउँछन् । बजेटका नाममा लिखित भाषण ल्याइएको र बजेटको विधि विधान नमानिएकाले बजेटमाथिको छलफलमा ढिलाइ भएको उनको तर्क छ । यस्तै मन्त्रिपरिषद विस्तार गर्न नसकेर आफ्नै किचलोमा फसेको भन्दै सरकार अहिले कठिन अवस्थामा रहेको गुरुङले बताए ।

‘मैले त पहिलो दिननै भाषण हो, बजेट होइन भनेको थिएँ, अहिले त्यसैलाई बनाउँदा सकस भएको होला, मन्त्रिपरिषद विस्तार पनि गर्न नसकेको अवस्था छ,’ गुरुङले भने, ‘यसरी ढिलाइ गर्दै गए प्रदेशको अर्थतन्त्र समाप्त हुन्छ, असारभित्र पास गर्नुपर्छ नभए बजेट नै लागू हुँदैन, समय त छ तर विधि अनुसार जानुपर्छ ।’

यसअघि नै नेकपा एमाले संसदीय दलको बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट लिखित भाषणजस्तो भएकाले बजेटमाथिको छलफल हुन नसक्ने जनाएको थियो ।

सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री कुमार खड्का बजेटमाथिको छलफलसम्बन्धी जानकारी सदनलाई केही दिनमै गराउने बताउँछन् । रातो किताबसँगै वार्षिक विकास पुस्तिका पनि ल्याउने तयारी भएकोखड्काको भनाइ छ । ‘असार मसान्तभित्र बजेट छलफल सकेर पास गर्छौं, समय अभाव नहुने गरी छलफल सुरु हुन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया