कास्की कांग्रेस सभापतिमा ६ आकांक्षी

समाधान संवाददाता २०७८ असार १५ गते १९:४४

समाधान संवाददाता, पोखरा

महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसका विभिन्न तहमा नेतृत्व लिन चाहनेहरुले लबिङ गर्न थालेका छन् । आगामी २ महिनाभित्र वडादेखि केन्द्रसम्मकै नेता चयन गर्ने कांग्रेसमा गुटगत तथा व्यक्तिगत लबिङ सुरु भइसकेको छ ।

गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा चुनावी सरगर्मी बढिसकेको छ । कास्कीको सभापति बन्नका लागि अहिलेसम्म आधा दर्जन नेताले लबिङ सुरु गरेका छन् । स्रोतका अनुसार अहिलेका सभापति कृष्ण केसीले नदोहोर्‍याउने बताएकाले उनीभन्दा पछिका ६ जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।

Advertisement

वर्तमान कार्यसमिति उपसभापति आइबहादुर गुरुङ र सचिव सुदीपमोहन भट्टराईलाई, पूर्व जिल्ला सचिव तथा वर्तमान क्षेत्रीय सभापति पोषनाथ शर्मासहित किशोरदत्त बराल, मनोज गुरुङ, कृष्ण कार्की सभापतिका आकांक्षी भएको र त्यही अनुसार लबिङ गरिरहेको स्रोतको दाबी छ ।

केन्द्रमा नेताको गुट र कित्ता क्लियर नभएकाले कास्कीमा पनि को कताको गुटबाट प्रत्यासी बन्ने भन्ने अन्योल छ । यी ६ आकांक्षीमध्ये किशोरदत्त बराल र सुदीपमोहन भट्टराई कुनै समूहमा नखुलेरै राजनीति गरिरहेका छन् ।

Advertisement

कास्कीका कांग्रेस नेता शुक्रराज शर्मा कता लाग्छन्, यसले पनि कांग्रेसको सन्तुलनलाई प्रभाव पार्छ । १३ औं महाधिवेशनमा देउवा पक्षमा लागेका शर्माको पछिल्लो समय रामचन्द्र पौडेल, शशांक कोइरालासँग पनि निकटता बढेको बताइन्छ ।

कांग्रेसका केही नेताले सजिलै जित्ने उम्मेदवार भन्दै सभापतिमा कृष्ण केसीलाई नै दोहोर्‍याउन दबाब पनि दिएका छन् । केसी भने प्रदेश समितिमा काम गर्ने मनस्थितिमा रहेको स्रोत बनाउँछ । उनी उपसभापति आइबहादुर गुरुङलाई सभापति बनाउन बनाउन इच्छुक रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया