शिक्षामन्त्रीबारे पोखरेली अभियन्ता भन्छन्ः मान्छे जलाउनु पर्ने हो, पुत्ला जलाउँदा पक्राउ गरे

समाधान संवाददाता २०७८ असार १६ गते ८:४६

समाधान संवाददाता, पोखरा

जातीय विभेदका विरोधमा पोखरामा मंगलबार युवाहरुले प्रदर्शन गरेका छन् । जात व्यवस्था उन्मुलन मोर्चा, गण्डकीले आयोजनामा भएको विरोध प्रदर्शनमा युवाहरुले नाराबाजी गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरेका थिए । जातीय विभेदको आरोप लागेकी एक महिलालाई प्रहरी कार्यालयबाट आफ्नै गाडीमा हालेर हिँडेको भन्दै उनको पुत्ला दहन गरिएको थियो ।

युवाहरुले मन्त्रीको पुत्ला जलाएपछि प्रहरीले दमन गरेको थियो । पुत्ला जलाउने ३ पुरुषलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रण हुनेमा किरण नेपाली, रेशम सापकोटा, नेत्र चापागाइँ छन् ।

Advertisement

काठमाडौंकी रुपा सुनारलाई जातीयताकै आधारमा कोठा नदिइएपछि जातीयताको बहस अहिले बढ्दो छ । सुनारलाई काठमाडौंकी सरस्वती प्रधानले जातकै आधारमा कोठा नदिएपछि उनी पक्राउ परेकी थिइन् ।

पछि प्रधान रिहा भएपछि मन्त्रीले नै गाडीमा लिएर हिँडेपछि उनको चर्को आलोचना भएको हो । यसको विरोधमा आइतबार पनि युवाहरुले पोखरामा मौन जुलुस गरेका थिए ।

Advertisement

जात व्यवस्था उन्मुलन मोर्चा, गण्डकीका संयोजक याम रसाइलीले युवाहरुको विरोध प्रदर्शनमा प्रहरीले अनावश्यक दमन गरेको बताउँछन् । अहिलेको आन्दोलनमा प्रगतिशिल युवाहरुले साथ दिएको र आन्दोलन बढ्दै जाँदा युवाहरुको सहभागीता बढ्ने उनको अनुमान छ ।

‘प्रगतिशील साथीहरुको साथ पाएका छौं । वैचारिक बहसमा दलीत साथीहरु भन्दा अरु जातका साथीहरु सशक्त रुपले लागेको पाएका छौं,’ रसाइलीले भने । राज्य सत्ताले दलीतहरुलाई लामो समय गरेको दमनले वैचारिक संघर्षमा खरो उत्रिन रोकेको उनले बताए ।

प्रदर्शनको सह–आयोजक संगम सांस्कृतिक मञ्चका विकास लुंगेली भने शिक्षामन्त्रीको पुत्ला जलाइनुलाई उचित मान्छन् । शिक्षामन्त्रीले गरेको हर्कत असह्य भएको भन्दै उनले शिक्षामन्त्रीको तत्काल राजीनामा आउनु पर्ने बताउँछन् ।

‘मान्छे नै जलाउनु पर्ने हो, पुत्ला मात्र जलाएका हौं, जात व्यवस्थाले अझै कति समय दब्नु पर्ने हो ?’ उनको प्रश्न छ । यो आन्दोलन यसअघिका आन्दोलन भन्दा सशक्त रहेकाले आफूहरु निचोडमा नपुगि आन्दोलन नरोक्ने उनले बताए ।

‘अघिल्ला आन्दोलनझैं बीचमै हराउने आन्दोलन होइन । जात व्यवस्था नै खारेज नभएसम्म आन्दोलन बढ्छ,’ उनले भने । राज्य सत्ताले अझै पनि जात व्यवस्थालाई प्यारो ठानेको उदाहरण शिक्षामन्त्री रहेको लुंगेलीको भनाइ छ ।

‘जात÷जातबीच खाडल पुर्ने सरकारको काम भएपनि झनै खाडल ल्याउने गरी शिक्षामन्त्रीले काम गरे, सरकारलाई अझै पनि जात व्यवस्थाप्रति यति मोह किन ?’ लुंगेलीको प्रश्न छ । धरपकडमा पक्राउ परेका नेत्र चापागाईं प्रहरीले दलितको आन्दोलन भनेर हेपेको आरोप लगाउँछन् ।

‘दलितको समूहले आयोजना गरेको भनेर प्रशासनले हेपयो, यो निन्दनीय छ,’ उनले भने । शिक्षामन्त्रीले गैरकानुनी हर्कत गरेपछि नागरिकहरु एकजुट हुनुपरेको र सोही क्रममा आफूहरुले पुत्ला जलाएको उनले बताए ।

‘मन्त्री जस्तो मान्छेलाई त्यस्तो गर्ने छुट छ ? मन्त्री भएकाले गैरकानुनी काम गर्न हुने, हामीले पुत्ला जलाउन नहुने,’ उनले थपे । शिक्षामन्त्रीलाई तत्काल बर्खास्त गरेर कारबाही गरिनुपर्ने चापागाईंले बताए ।

प्रहरीले पक्राउ गरेका अर्का अभियन्ता किरण नेपाली आफूलाई प्रहरीभित्रै विभेद गरिएको बताउँछन् । ‘प्रशासनभित्रै विभेदमा परें, सार्कीको छोरासँगै अरु २ साथीपनि पसे, उनीहरुको रिहाइमा समस्या देखिएन, मेरो रिहाइ गर्न गाह्रो पारे,’ उनको आरोप छ । हेपाहा प्रवृत्तिले अझै पनि प्रश्रय पाएको र यसलाई चिर्न आफूहरुको आन्दोलन रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया