४ दिनदेखी कोरोनाको लक्षण थियो, उपचार गर्न जाँदा बाटामै ज्यान गुमाइन्

समाधान संवाददाता २०७८ असार १७ गते १७:०९

उनको उपचारका लागि लिन गएको एम्बुलेन्स नै पहिरोमा प¥यो, चालकको अवस्था सामान्य
समाधान संवाददता, पोखरा

मादी गाउँपालिका ९ मुग्रीबेसीकी गोमा अधिकारी (८६)लाई सोमबारबाट ज्वरो आउने, टाउको दुख्ने हुन थाल्यो । आइतबार उनी बुहारीलाई पनि त्यस्तै भएको थियो । मंगलबार गोमाकी बुहारी, नाति प्रभात अधिकारी र नातिनी बुहारी सामना पराजुली स्थानीय स्वास्थ्य चौकीमा गएर कोरोना परीक्षण गराए । ३ जनाकै कोरोना रिपोर्ट पोजेटिभ आयो ।

गोमा भने हिँड्नै नसक्ने भइसकेकी थिइन् । उनमा मुटुको समस्या पनि थियो । घरका ३ र छिमेकका १ जनामा कोरोना पोजेटिभ देखिएपछि उनमा पनि कोरोनको आशंका थियो । ‘लक्षण थियो आमामा पनि, स्वास्थ्य चौकी नै जान नसक्ने अवस्था भएपछि कोरोना टेस्ट गराएनौं,’ नातिनी बुहारी सामनाले भनिन् ।

Advertisement

गोमालाई बुधबार नै पोखरामा उपचारका लागि ल्याउने योजना परिवारको थियो । घरका ३ जना नै संक्रमित भएपछि उनलाई ल्याउन समस्या थियो । त्यसमाथि अर्को समस्या लगातारको झरी थियो । उनलाई बेलुका झनै चाप्यो । तर एम्बुलेन्स पाइएन ।

बिहीबार बिहानै पसगाउँ स्वास्थ्य चौकी, क्वालासोथरको एम्बुलेन्स बोलाइयो । गोमासहित पविारका केही सदस्य निस्के । घरबाट निकाल्दा गोमाको अवस्था निकै नाजुक थियो । बीच बाटामै गोमाले प्राण त्यागिन् ।

Advertisement

गोमाको बाटामै मृत्यु भएपछि उनलाई घरै फर्काइयो । एम्बुलेन्स लिएर गएका चालका सुवास अधिकारी स्वास्थ्य चौकीतिर फर्किदै थिए, उनकै ज्यान झण्डै गएन । बिहान साढे ८ बजे रुदीखोला माथिबाट आएको बाढीमा एम्बुलेन्स प¥यो ।

खोलामा बाटो बिग्रेकाले बाटो मर्मत गर्दै बढ्ने क्रममा माथीबाट बाढि र पहिरो आएर एम्बुलेन्सको आधा भाग पुरिएको हो । चालक अधिकारी एम्बुलेन्सबाट निस्किएर भाग्ने क्रममा पहिरोमा परे । उनलाई पहिरोको लेदोले झन्डै १ सय मिटर तलसम्म बगायो । उनी हल न चलको अवस्थामा पुगेका थिए ।

घटना थाहा पाएपछि गहतेबेसी नयाँबजार र मुग्रीबेसीका युवाले चालकको उद्दार गरे । उनको अहिले उपचारका लागि पोखरा लगिएको मादी ९ का वडाध्यक्ष तोरणबहादुर गुरुङले बताए । ‘घटना घटे लगत्तै यहाँका युवाले उद्दार गरे, पोखरामा उपचार भइरहेको छ ।’

चालकको अवस्था अहिले सामान्य रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । ‘हात, घाँटीमा चोट लागेको रहेछ, अवस्था सामान्य नै छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया