मनाङका बाढीपीडित भन्छन्ः चाउचाउले कति दिन धान्नु ?

समाधान संवाददाता २०७८ असार १९ गते ८:५८

‘टिम नै ठूलो आएको थियो, रेस्क्यु गर्नुपर्नेहरु छुटे । वाइवाइमात्रै राहत सरकारले दिएर पुग्ने होइन ।’

समाधान संवाददाता, पोखरा

मनाङमा असारको पहिलो दिन नै बाढी, पहिरोले वितण्डा मच्चायो । चामेको घट्टेखोला र च्याट्टु खोलामा आएको बाढीले चामे बजार नै डुबायो । चामे र ताल गाउँका स्थानीय भागाभाग गर्न लागे । कोही डाँडातिर उक्लिए त कोही कारागारतीर भागे ।

Advertisement

मानवीय क्षति भने हुन पाएन । तर बिजुली काटियो, सडकसञ्जाल टुट्यो । करिब ३ सय जना कारागार भवनमा बसे । अरु विद्यालय भवन र गुम्बामा गएर ओत लागे । यो दर्दनाक दृश्य अझै पनि चामे ४ की दावा लामा (१८) को आँखैमा छ । उनी पलपल झस्किन्छिन् । आकाशमा टम्म कालो बादल लाग्दा मनमाअसार १ कै घटना दोहोरिने डर बढ्छ । सो दिन आएको बाढीले उनको घरमा क्षति पु¥यायो । घरका ४ जनै कारागारसम्म भागेर ज्यान बचाए ।

दावाको परिवार अहिले घर फर्किसकेको छ । तर उनीहरुमा डर भने दिनानुदिन बढ्दो छ । उनीहरु केही दिनमै पोखरा फर्कने योजनामा छन् । ‘डर लाग्छ, अहिले त घर फर्केका छौं तर बेलुका भएपछि झनै डर लाग्छ, अरु त बेलुका भएपछि कारागार नै जानुहुन्छ,’ दावाले भनिन् ।

Advertisement

अहिले पनि कारागार भवनमा २० परिवार छन् । बाढीले घर पूर्ण रुपमा क्षति भएका २० घरका मानिस कारागारमा बसेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

विस्थापित भएर कारागारमा बसेकालाई खाना गाउँलेले नै दिएका छन् । कोहीले किनेर खाएका छन् । कारागारमा आश्रित चामेका अमर लामा भन्छन्, ‘किनेर खाएका छौं, कोहीलाई गाउँलेले नै दिएका छन् ।’

अमर कारागारमै बसेका छन् । ८ जनाको परिवार भएपनि उनको परिवारका ४ जनालाई भने पोखरा पठाएका छन् । ‘म नि यहाँको शरणार्थी जस्तै हुँ, काम गर्न आएको हो, छिटो घर फर्कन पाए हुन्थ्यो जस्तो लाग्छ,’ अमरले भने । अमरको स्थायी घरचाहिँ लमजुङ बेसीसहर हो ।

बाढी गएको २ दिनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली राहत लिएर पुगेको थियो । तर मुख्यमन्त्रीको टोलीले लगेको राहत सकिएको छ । कारागामा बसेका अधिकांश सहयोगको भरमा बाँचेका छन् ।

अहिले उनीहरु सरकारी सहयोगको खोजीमा छन् । ‘चाउचाउ लिएर आए मेरो भागमा ४ वटा प¥यो, आफ्नै सिस्टमले आएका होलान्, के गर्ने कसरी गर्ने भनेको भएपो केही राहत मिल्थ्यो, ल्याएर चाउचाउ छाडेर कसरी पुग्छ ?,’ अमरको प्रश्न छ ।

दावा भने मुख्यमन्त्रीको जम्बो टोली मनाङ जाँदा उद्धार हुनुपर्नेको उद्धार हुन नसकेको जिकिर गर्छिन् । ‘टिम नै ठूलो आएको थियो, रेस्क्यु गर्नुपर्नेहरु छुटे, वाइवाइमात्रै राहत सरकारले दिएर पुग्ने होइन,’ दावाले भनिन् ।

अहिले पनि मनाङमा हल्का वर्षात भइरहेको छ । पानी पर्न सुरु गरेपछि मनाङीको मनमा चिसो पस्छ । मस्र्याङ्दी नदी कराएको सुन्दै उनीहरुको आँत काम्छ । स्थानीय नवीना लामा भन्छिन्, ‘पानी लगातार परेको छैन, घरी पर्ने घरी नपर्ने भइरहेको छ, कालो बादल लागिरहन्छ, डर छ,’ लामाले भनिन् ।

तपाईको प्रतिक्रिया