कोरलानाका बन्द हुँदा उपल्लो मुस्ताङको पस्मिना व्यापार संकटमा

समाधान संवाददाता २०७८ असार १९ गते १७:२९

एसके थकाली \ मुस्ताङ
चिनको स्वाशासितक्षेत्र तिब्बतसंग सीमाना जोडिएको उपल्लो मुस्ताङको उत्तरी कोरलानाका लामो समयसम्म सीमानाका बन्द रहँदा सीमावर्तीक्षेत्रका स्थानीय उत्पादन पस्मिना निर्यातमा समस्या परेको छ ।विश्व व्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण डेढ वर्षदेखि कोरलानाका बन्द हँुदा स्थानीयको आन्तरिक व्यापार व्यवसाय प्रभावित बन्दै आईरहेको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अधिकांश स्थानीय पशुपालक किसानको मुख्य आम्दानी श्रोत पशुपालन व्यवसाय मानिन्छ । उपल्लो मुस्ताङका पशुपालक किसानले विभिन्न प्रयोजनका लागि सदियौंदेखि याकचौरी तथा भेडा—च्यांग्रा पालन गर्दैआईरहेका छन् ।

समून्द्री सतहदेखि ४२ सय मिटरको अग्लो उचाईमा अवस्थित यी दुई पालिकामा बर्सेनि एकबाली मात्र खेतीपाती हुने गर्छ । बर्सेनि एक बाली त्यसमाथि सीमित मात्रामा खेतीपाती हुने भएकाले उनीहरुको जिविकोपार्जनको एक मात्र आधार पशुपालन व्यवसाय संकटमा पर्न थालेको हो ।हिउँदयाममा घुम्ती व्यापारका लागि बेसी झर्ने र बर्खायामको मौसममा पशुपालनका साथै सामान्य खेतीपातीको कर्म गरी बस्ने उपल्लो मुस्ताङीको दैनिक दिनचर्या अन्तर्गत पर्दछ ।
उपल्लो मुस्ताङको उत्तरी कोरलानाकाको तिब्बती भूमीमा बर्सेनि असार र भदौ महिनामा दुई मात्र पटक अस्थायी व्यापार मेला लाग्ने गर्छ । अन्य समय कोरलानाका सधै बन्द हुन्छ । चिनको तिब्बती भूमीमा सीमावर्ती क्षेत्रका बासिन्दालाई लक्षित गर्दै चिनिया पक्षले यसप्रकारको व्यापार मेला संञ्चालन गर्ने गर्छन ।उपल्लो मुस्ताङीले पस्मिना, यार्सा गुम्बा र स्थानीय उत्पादन उक्त व्यापार मेलामा निर्यात गर्ने गरेको भएपनि कोरोनाका कारण पस्मिना लगायतको ब्यापार ठप्प भएको लोमान्थाङ—४ का पशुपालक किसान नर्बु गुरुङले जानकारी दिए ।

Advertisement

उनले तिब्बतर्फबाट भेडा—च्यांग्रा ,ईलेक्ट्रोनिक उपकरण ,कृषि उपकरण ,निर्माण समाग्री ,पेय पदार्थ लत्ताकपडा ,किराना पसलका सामान र तरकारी आदी आयात गर्ने भएपनि लामो समयदेखि सीमानाका बन्द हुँदा सबै कारोबार ठप्प भएको जनाए । कोरोना कहरका कारण चिनले लामो समयदेखि उपल्लो मुस्ताङको कोरलानाका बन्दा गरिदिंदा सीमावर्तीक्षेत्रका बासिन्दाको आन्तरिक व्यापार व्यवसाय चौपट्ट भएको छ भने बेनी—जोमसोम सडक हुँदै आयात गरिने सामान भन्दा ३५ प्रतिशत महङ्गो मुल्यमा खाद्यान्न लगायतका सामाग्री खरिद गर्न उपल्लो मुस्ताङबासी बाध्य भएका छन् ।

कोरोना कहरकै कारण गतवर्षको असार र भदौ महिनामा लाग्ने अन्तरदेशीय व्यापार मेला प्रभावित बनेको लोमान्थाङ—२ छोसेरका मिग्मार छिरिङले उल्लेख गरे । यसपटक पनि कोरोनाको दोश्रो लहरका कारण उपल्लो मुस्ताङको कोरलानाका चिनपक्षले पुरै बोर्डर शील गरेको उनले बताए ।स्थानीय र पशुपालक गोठाला समेतलाई सीमावर्तीक्षेत्रको आसपास आउन समेत चिन पक्षले प्रतिबन्द लगाएको उनको भनाई छ ।

Advertisement

कोरोनाकै कारण ब्यापार मेला रोकिएपछि उपल्लो मुस्ताङबासीले गतवर्ष पस्मिना ,भेडा—च्यांग्रा खरिद देखि अन्य आवश्यक सामाग्री खरिद गर्न नपाएको उनले सुनाए ।यसपटक पनि कोरोनाको दोश्रो लहरका कारण कोरलानाकाको तिब्बती भूमीमा ब्यापार मेला संञ्चालन नहुने प्रायः निश्चित जस्तै भएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा झन्डै १० ट्रकको हाराहारीमा पस्मिना उत्पादन हुने गरेको छोसेरका स्थानीय कर्मा वाङ्गेल गुरुङले बताए । उपल्लो मुस्ताङीहरुले यतिबेला च्यांग्रा र याकचौरीको पस्मिना काट्न व्यस्त छन् ।तर,उनीहरुले उत्पादन गरेको पस्मिना निर्यात गर्ने ठाउँ नहुँदा पशुपालक किसान चिन्तित रहेको बताए ।

पस्मिनाको उपयोग उपकरणबाट प्रशोधन गरी धागो निकालेर विभिन्न घरेलु लत्ताकपडा तयार गरिन्छ । स्थानीय वाङ्गेलले भने “ कोरोना कहर अघि ब्यापार मेला हुँदा १ केजी पस्मिनाको ७ हजारसम्म पथ्र्यो , गतवर्ष केजीको २ हजार मुल्यमा पनि बिक्री हुन समेत मुश्किल प¥र्यो । यो वर्ष पनि अवस्था त्यही छ ,राज्यले क्षतिपूर्ती दिदैन ।’

उनले तिब्बतमा पस्मिना बेचेर नगद भित्र्याउने अवसर पनि कोरोनाले गुमेको उल्लेख गरे । लामो समय देखि तिब्बतबाट भेडा—च्यांग्रा ल्याउन समेत नपाएका उनले जनाए ।
उपल्लो मुस्ताङीले मेहनत र दुख गरी उत्पादन गरेको पस्मिना बिक्री गर्ने ठाउँ नहुँदा स्थानीयको आन्तरिक व्यापार गुमेको हो ।

उपल्लो मुस्ताङीले तिब्बतबाट भेडा—च्यांग्राका पाठापाठी ल्याई हुर्काएर उमेर पुगेपछि मासुका लागि बिक्री गथ्र्ये । लामो समय नाकाबन्द हँुदा उपल्लो मुस्ताङको पशुपालन ब्यवसाय संकटमा पर्न थालेको जनाईएको । मुस्ताङको उत्तरी कोरलानाकामा चिन पक्षले कोरोनाका कारण विगत भन्दा कडा निगरानी गरिरहेका छ ।

चिन पक्षले आफ्ना नागरिकलाई सीमानाकातर्फ जान र नेपालतर्फका सीमावर्ती बासिन्दालाई कोरला आसपास आउन कडाई गरेको छ । यता, नेपाल पक्षले पनि कोरलानाकाको ब्यापार मेला संञ्चालनमा रोक लगाएको र यस वर्ष पनि रोक लगाउने जनाएको छ ।

चिनको तिब्बती भूमीमा बर्सेनी दूई पटक सीमावर्तीक्षेत्रका बासिन्दालाई लक्षित गरी ब्यापार मेला संञ्चालन हुने गर्छ ।

तपाईको प्रतिक्रिया