कथा : विवाद

समाधान संवाददाता २०७८ असार २० गते १७:२३

दिनेश बस्नेत, पोखरा

म ओछ्यानमा सुतेको छु । अर्थात् सुतीसुती मोबाइल हेरिरहेछु ।

त्यसै बेला आमाभित्र पस्नु हुन्छ । कोठामा सरसर्ती नजर दौडाउनु हुन्छ । तिनै नजर घुमाएर मलाई हेनुहुन्छ । तत्काल केही बोल्नु हुन्न । तापनि मलाई लाग्छ, उहाँको नजरले धेरै थोक बोलिरहेका छन् । कोठाको अस्तव्यस्तताका बारेमा ।

Advertisement

कोठा ल्किुल अस्तव्यस्त छ । दुई वटा खाटमध्ये एउटा खाटमा म सुत्छु । अर्काे खाटमा छोराले न्युजिल्यान्डबाट ल्याएको सुटकेस छ । त्यो खाटमा असरल्ल कपडा फिँजारिएका छन् । थोत्रा, नयाँ, सुकिला, मैला ।

एउटा कुनामा सिरक थुप्रिएको छ । खाटको बीचमा केही किताब छन् । केही कापी छन् । प्रायः सबै कापीका पाना भरिएका छन् । खाटको ठीकमाथि भित्तामा तीन थान फोटो प्रेम झुण्डाइएको छ । बुबा र मेरो, सुशीला र मेरो, आदेश र अमृतको । अलिकति दायाँपट्टि अधिवक्ताको प्रमाणपत्र छ । अनि म सुत्ने खाट र त्यो खाटको बीचमा पुस्तक र कापी छिरलिएका छन् । सबै काम लाग्ने किताब कपी छन् तर जतन गर्ने ध्यानलाई फुर्सद छैन जस्तो । मनोमानी ढंगले बीचको गुन्द्रीमा फिँजारिएका छन् ।

Advertisement

सिरानीको आडमा एउटा डायरी र २ वटा कलम छन्, ती पनि आजकल फुर्सदमा छन्, जाँगर नभएर । मेरो जाँगर, उत्साह र उमंग चारधाम गए जस्तो लाग्छ । ती कहिले फर्किने हुन र यो मनलाई पुण्यात्मामा परिणत गर्ने हुन ? अनि प्रत्येक समयको गठजोड, मेरो जीवनलाई यही जुनीमा स्वर्ग तुल्याउने हुन, मलाई कत्ति थाह छैन ।

उफ, एउटा दिक्दारीले नजर अलि पर पुग्छ, भित्तामा माकुराको जालो लागेको देख्छु, तला छापेको फलेकको चरमा फोहोरका थुप्रा थुप्रा देख्छु । मैले स्टील दराजको ऐनामा ¥याकका किताब बेढंगले वसेको देख्छु । लाग्छ, बेथिति, छरप्रस्टता र अस्तव्यस्तताले मेरै कोठामा अड्डा जमाएका छन् । अड्डा सार कहिले होला ? प्रश्न मनमा उब्जन्छ ।

आखिर मान्छेको जीवन भन्नु एउटा नदीको गति त रहेछ । वर्षाको धमिलोपन, हिउँदको सुख्खा र अभाव, अनेकै प्रदूषणको सामना ।

फेरि म आँखा मोड्छु, जताततै नमिलेको, ओछ्यान पनि मैलो । झ्यालमा पत्रिकाको चाङ, केही ह्वाइट पेपर आपसमा झगडा गरेर बसेजस्ता । झ्यालमाथि बलेको बल्बवरिपरि पुतली
घुमिरहेका । तिनै पुतलीलाई आहार बनाउन आडमा दुई वटा माउसुली ढुकिबसेका छन् । आमा झ्यालनेर झुण्डाएको पात्रो पल्टाउदै भन्नुहुन्छ, ‘एकादशी कहिले रहेछ ।’

आमाले पात्रो के पल्टाउनु भएको थियो, उहाँ दिक्क मानेझैं भन्नु हुन्छ, ‘हत्तेरी, झ्यालमा बारुलाले पोलो लगाएको रहेछ ।’
म आमाले भनेतिर हेर्छु, एउटा प्रतिक्रियारहित हेराइ ।

‘‘कोठा पनि जता हे¥यो, उतै भद्रगोल देखिन्छ । हुँदाहुँदा बारुलाले पोलो पनि लगाएछ ।’ उहाँले त्यति भन्नुहुन्छ, गुनासोको रुपमा । मानौँ ननानिँदो किसिमले भने पनि प्रत्यक्ष दोष लगाउनु हुन्न । कुनै जिम्मेवार ठान्नु हुन्न । त्यति भनेर उहाँका आँखा भित्तामा अडिन्छन । सायद सुशीला र मेरो फोटोमा ।

‘आइमाई नभएको कोठा बस्न छाडेको घर जस्तो हँुदो रहेछ । के गर्ने, तैले त्यति चासो नदिएर हो कि, इष्टमित्रले बेवास्ता गरेका हुन । हुन त मैले पनि दुई, चार जनासित कुरा गरेकी छु । विहे नगरेर कहाँ हुन्छ । जीवन अझ डक्कै छ । झन दुलही चाहिने बेला आउँदैछ,’ आमा भन्नु हुन्छ ।

म केही बोल्दिन । आमाको कुरा त्यति नौलो लाग्दैन । आजकल आमाले गर्ने कुरा त्यस्तै हुन । मेरो एक्लोपन उहाँलाई मन परेको छैन । सायद उहाँ मेरो दोस्रो विहे गराईदिएर मेरो जीवन पुनः सिँचन गर्न चाहनु हुन्छ । मुहारमा एक प्रकारको कान्ति देख्न चाहनुहुन्छ । दिनचर्या हराभरा होस् भन्न चाहनु हुन्छ । घरलाई घर जस्तो तुल्याउन चाहनुहुन्छ ।

बरु म बिहे गर्नुपर्छ, अब अर्काे श्रीमतीसित जीवन सल्टाउनुपर्छ भनेर तयार भइनँ । यो फागुनमा स्ुशीला बितेको २ वर्ष भयो । तर मलाई ‘उनी’ मबाट टाढा गएकी छिन् जस्तो लाग्दैन । एउटा सपनाको अनुभव लाग्छ । प्रायः माइत गइराख्ने उनी माइत पो गइछन् कि जस्तो लाग्छ ।

केही समय पहिलासम्म एक्लोपनले तड्पाउँथ्यो । निराशा र बैराग्यले मनलाई जथाभावी झक्झक्याउथ्यो । सोचाइमा एक प्रकारको विचलन र विक्षिप्तता हावी हुन्थ्यो । जता हिड्दा पनि एउटा विरानोपनले, एउटा अन्धकारले समय असहज पार्दथ्यो ।

उसो त अझ पनि बादल फारेको छैन । सुशीलाको विछोडले बनाएको घाउ भरिसकेको छैन । सम्भवतः कहिल्यै भरिने पनि छैन । यत्ति हो समयले पीडालाई कम गरेको छ । मनको एउटा कुनामा राखेर मलाई नदीभंैm आफ्नै शैलीमा निर्दिष्ट र नियन्त्रित गरेको छ ।

आखिर मान्छेको जीवन भन्नु एउटा नदीको गति त रहेछ । वर्षाको धमिलोपन, हिउँदको सुख्खा र अभाव, अनेकै प्रदूषणको सामना । तर बगिरहनु नै पर्दाे रहेछ । बग्दै जाँदा संग्लिदै पनि जाँदो रहेछ । त्यस्तै जीवन पनि रोकिने प्रक्रिया रहेनछ, जबसम्म कालगतिको नियम लागु हुँदैन ।

म सोच्छु, अहिले ४७ वर्षको भएँ । ४७ वर्षको उमेर चानचुने होइन । ढल्केको उमेर पनि होइन । तर मेरो ठाउँमा सुशीला भएको भए अर्काे बिहेबारे सोच्थिन त ! सोच्नुसम्म गलत र पाप सावित हुन्थ्यो । उनले फुटेका चुरा र धोइएको सिउँदोसँग सम्झौता गर्थिन् । आफ्नो भाग्य र भविष्य छोराहरुको जिम्मा लगाउँथिन् । समाजले देखाएको बाटो रङ्गहीन भएर बाँच्थिन् । तर म लोग्नेमान्छे भएकाले अर्काे विवाह गर्ने सल्लाह र प्रस्ताव लिएर आउनेहरु कुनै धक मान्दैनन । विवाहको चासो र चिन्ता राख्ने जति छन् ती मेरै शुभचिन्तक हुन भन्ने ठान्छु । आफ्नै मान्छे ठान्छु ।

‘त्यो बारुलाको पोलो त डढाई दिनुपर्छ, यी त शत्रु हुन्,’ जब मेरो अगाडि उभिनुभएकी आमाले भन्नु हुन्छ ।
तब मेरो सोचाइ भंग हुन्छ ।
‘शत्रु भए पनि राति बास बसेका बारुलालाई डठाउने कुरा नगर्नाेस् । कुनै उपाय गरौला किन मार्नु प¥यो ।’
‘यो त यस्ता बारुलालाई पनि मायादया गर्दाे रहेछ हे ।’
‘सबैको आ–आफ्नो जीवन हुन्छ । पोलो हटाइदिए त बारुला उडेर गइहाल्छन् नि । तिनसँग हाम्रो के दुश्मनी छ र डढाउनु प¥यो ।’

आमा मलाई यसरी हेर्नुहुन्छ, मेरो कुरा उहाँलाई चित्त बुझ्यो, आफ्नो कुरा अर्घेलो लाग्यो । अर्थात् मेरो कुराले उहाँलाई प्रभावित पा¥यो ।

‘कता के गन्हाएको हो, बिरालाले त खाटमुनि कतै हगेन,’ आमा मेरो खाटका कपडा मिलाउँदै भन्नुहुन्छ, ‘यस्तो भद्रगोल, यस्तो लथालिङ । कुन कपडा सुकिला हुन् । कुन कपडा फोहोर हुन, केही थाह र केही मतलब छैन । बरु नयाँ कपडा किन्न रुचाउने । कपडा धोएर सुकिला नबनाउने । कपडाको जतन नि नगर्ने । कमसेकम कपडा धोएर मिलाएर दराजमा राख्न त सकिन्छ नि । कस्तो अल्छिपन आउँदो हो । मान्छे भएर जन्मेपछि यति अल्छि भएको सुहाउँदैन ।’

म केही बोल्दिनँ ।
आमा कपडा मिलाएर टुक्रुक्क मुडामा बस्नुहुन्छ । निकै सोचविचार गरेर भन्नुहुन्छ, ‘सधै लोतेपोते भएर हुन्न । खम्बिर कुरा गर्नुपर्छ, लोग्नेमान्छे भएर । बुबा पनि आफ्नो बाटो लागे । अब त अलि पाको, अलि जिम्मेबार भएर सोच्नु पर्छ । घरको मुली मान्छेको व्यहोरा देखाउनु पर्छ । एउटा विहे जसरी नि गर्नुपर्छ ।’

मलाई सो कुरा नौलो लाग्दैन । त्यति दमदार पनि लाग्दैन । व्यवहारिकता भने हुन सक्छ आमाको कुरामा । तर आमाको त्यस्ता कुरा मलाई हरदम बोझिलो र झन्झटिलो लाग्छ । जति फुर्सद लिन खोजे पनि फुर्सद लिन नमिल्ने, मलाई वाक्कदिक्क बनाएको कुरा । ममा तत्काल कुनै प्रतिक्रिया रसाउँदैन । म मौन व्रतझैं चूपचाप लाउँछु ।

आमा फेरि भन्नुहुन्छ, ‘म पनि बूढी भए कति बाँचुला र । मलाई सहारा दिने बेलामा तँ बेसाहरा हुँदा मेरो मन भतभति पोलेको छ । खाएको पनि आँतमा लागेको छैन । म त डाँडामाथिकी घाम भएँ, आज हो कि भोलिजस्ती । तेरो त उमेर छ । क्यारेर एक्लो जीवन बिताउँछस् । भोलि छोराहरुले पनि आफ्नो व्यवस्था गर्छन् । सो कुरा, बिहे गरेपछि छोरा आफ्नामात्र हुँदैनन । तँ भने जहिले कुरा गरे पनि मुख बाधेर बस्छस् । बिहेको कुरा ग¥यो कि मुखमा चापी ठोक्छस् । आखिरमा तेरै भलोका लागि त हो मैले भन्ने ।’

आमा साह्रै चित्त दुखाएको जस्तो गर्नु हुन्छ । मलाई बोल्न कर लाग्छ । ‘मैले बिहेबारे त्यति गहिरिएर सोचेको छैन आमा । हतारमा निर्णय लिने कुरा पनि त भएन,’ मैले भनेँ ।
‘कसरी हतारमा हुन्छ । २ वर्ष भयो । अरुले श्रीमती मरेको १३ दिन नपुग्दै बिहे गर्छन् । यस्तो नमर्द र हुतियारा भएर बस्नु हुन्न छोरामान्छे भएपछि ।’
‘बिहे गरेर मर्द बनिने होइन आमा । मर्दका ७वटी हुन्छन् भनेर सोच्ने जमाना होइन यो । फेरि मैले भनिहाले नि आमा, त्यसबारे सोचेको छैन ।’

‘कस्तो हल्लँुडो कुरा गर्दाे रहेछ । लोग्नेमान्छेलाई जीवनमा एउटी महिलाको माया चाहिन्छ । हामी आइमाई मान्छे जस्ता हँुदैनौ तिमीहरु । हामी त जस्तोसुकै सहन र टार्न सक्छौं । तिमोरु जन्मेदेखि एउटी आमाको मायामा हुर्केका हुन्छौ । बरु बाबुको मायाले त्यति खोजी हुन्न । खाँचो नि हुन्न । त्यो आमाको मायापछि श्रीमतीको मायामा बदलिन्छ । यसरी बिनामेसै जता भत्क्यो, उतै दैलो बनाएर नबोल । अलि विचार पु¥याएर, छिचोलेर सोच । अरुको पनि देखेको छस् । दैवले तलाईमात्र यस्तो भोग्न पारेको होइन ।’

यतिबेला आमाको कुराले भने मलाई च्वास्स हुन्छ । छुनेमात्र होइन, मेरो मन मस्तिष्कका जरा समेत हल्लाउँछ । मभित्र मियो गाडेर बसेको अहँ भावनामा उथलपुथल ल्याउछ । एउटी महिलाको अभावमा लोग्नेमान्छेको जीवन साच्चै नै अस्तव्यस्त र भद्रगोल लाग्छ । बिल्कुल मेरो कोठाको परिवेश जस्तो ।

हेर्छु, जताततै कोठाको अवस्था मेरो जीवन जस्तो बेथिति र छरप्रष्ट छ ।
सम्झन्छु, सुशीला हुँदा कोठा कति स्याहार गर्थिन् । सँधै कुचो लगाउने, सधैँ पोछो लगाउने, मेरो कपडा मिलाइदिने, मेरो पुस्तक सोधीसोधी ¥याकमा राखिदिने, समयमा खाजा खाना खाए नखाएको विचार गर्ने, कपाल र दाह्री बढेकोसमेत सम्झाउने, सधैँ सुग्घर सफा हुनुपर्छ भनेर चेष्टा दिने, थाकेको बेला मायाले सम्सुम्याउने, तनाबका वेला कुरा जोडेर हँसाउने, तातो र चिसो मिलाएको विचार गर्ने । साच्चै कति समझदार, सदाचारी, सदगुणी र सजिली थिइन् सुशीला ।

मनमा एउटा तर्क उब्जन्छ, ‘के म तयार भए भने त्यस्ती चौतर्फी महिला श्रीमतीको रुपमा पाउन सक्छु ? के मनमा दुइटी स्वास्नी मिलेर बस्न सक्छन् ? अर्थात् सुशीलाले आजसम्म राजकाज र रजगज गरेर बसेको मेरो मनमा कहाँनेर अटाउँछे अर्की आइमाई ?’

लाग्छ, मेरो मन त खाली छैन । जहाँ श्रीमती राख्ने ठाउँ हुन्छ । जहाँबाट श्रीमतीलाई दिने माया हुन्छ, त्यहाँ त सुशीला गजधम्म बसेकी छन् ।

कोल्टे फेरेर सोच्छु, मलाई वास्तवमै सुशीलाले एक हाते, एक पाखे बनाएकी छन् । आमाको कुरा स्वीकारेर अर्की बिहे म कसरी गर्न सक्छु ? कसरी उसँग एउटै विस्तारामा सुत्न सक्छु र लोग्नेको भूमिका निर्वाह गर्न सक्छु ? जबकी शरीरले छाडे पनि उनले मलाई छाडेकी छैनन् । अझ तिनले छाडेर गएको नासो २ छोरा छन् । तिनलाई अन्याय गर्नु, उनको आत्मामाथि पनि अन्याय हुन्छ ।

फेरि कोल्टे फेर्छु, सोच्छु , जीवनलाई यसरी हलो अड्काए जसरी अड्काउनु हुन्न् । असजिलो र बिरसिलो बनाउन पनि हुन्न । मोटामोटी विचार मिल्ने, घर, व्यवहार र आफन्तलाई थान्कोमा राख्न सक्ने, अलिकति पढेलेखेकी, मेरा छोरालाई छोराहरुकी आमा बन्न तयार, एउटी अर्धवैंसे विवाह गरेँ भने म फेरि नियमित हुन सक्छु होला । शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा सन्तुष्ट हुन सक्छु होला । अनि जीवन जीउनको लागि केही हदसम्म खुसीको जोगाड गर्न सक्छु होला । मनमा भएका रिक्तता र तिक्तताहरुको गोडमेल, गुल्जार गर्न सक्छु होला ।

फेरि कोल्टे फेर्छु, सोच्छु, जीवन त एउटा पहाड चढेजस्तो हो । दिनहरु बित्दै जाँदा झन उकालो आउँछ । बुढेसकालमा झन सास्ती हुन सक्छ । त्यसैले यात्राभरि साथ दिने सहयात्री मैले स्वीकार्नु पर्छ ।
धेरै बेर सोचेँ, सम्झेपछि म एउटा निर्णयमा पुग्छु । केही फुर्तिलो अनुभति भए जसरी जुरुक्क उठ्छु । बत्ती बाल्छु ।

मेरो निर्णयले ममा एउटा स्फुर्ती छाएको महसुस हुन्छ । तर जब मेरा आँखा सुशीलाको फोटो पे्रmममा पर्छ । म निमेषभरमा नै स्खलित हुन्छु । यतिसम्म की उसका आँखामा मेरा आँखामा जुधाएर हेर्न सक्दिनँ । न त म निर्णयको प्रतिकूल गएर प्राप्त हुन लागेको खुसी र सन्तुष्टिलाई बलिदान दिन सक्छु । यस्तै विवादमा म फस्ने छु । फसिरहने छु । अर्थात् जुन खाले अनुभूति मेरा विगत र वर्तमानका संधियार बन्नेछ । जुन साँध, सिमाना सधैजसो विवादपूर्ण हुनेछ र त्यसको सामाना मानसिक रुपमा मैले गरिरहनु पर्नेछ । मैले गरिरहनु पर्नेछ ।

तपाईको प्रतिक्रिया