काठमाडाैं पूर्ण लयमा फर्किदै, सबै गाडी चल्न पाउने

समाधान संवाददाता २०७८ असार २० गते १९:१४

काठमाडाैं, रासस ।

थप खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।

उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी आदेश थप गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु भने राख्न पाइने छैन ।

Advertisement

यातायात सञ्चालनमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने छ । स्थानीय प्रशासनको अनुमति लिएर विशेष कामका लागि बाहिरका गाडीसमेत उपत्यका भित्रिन पाउने आदेशमा उल्लेख छ । यही असार २२ गते बिहानबाट लागू हुने आदेशमा सबै प्रकारका व्यवसाय खुला गरिने उल्लेख छ ।

आज उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त बैठकले सो आदेश जारी गरेको छ । बैठकले सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेसलगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक लगाएको छ ।

Advertisement

खुला स्थानमा हुने भेला, होटल तथा पार्टी प्यालेसमा हुने विवाह व्रतबन्धलगायत सामूहिकरुपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधिमा समेत रोक लगाइएको छ । आदेश अवधिभर स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहने छ । अन्य व्यवसायको हकमा साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नु पर्नेछ । त्यसो नगरेमा व्यवसाय सञ्चालनमा रोक लगाउन सकिने गरी चेतावनी दिइएको छ ।

अत्यावश्यक वस्तुको अनलाइन माग, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य ‘अडर टेक अवे’ र ‘होम डेलिभरी’ प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइनेछ । घरबाट मानिस बाहिर निस्किँदा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्नेछ ।

अनिवार्यरुपले मास्क र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ । काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारी साधन स्वीकृत सिट क्षमताअनुसार मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।

यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ । नलगाएमा सवारीसाधनमा प्रवेश रोक लगाउन भनिएको छ । चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ । सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्नेछ । सवारीलाई समेत निसङ्क्रमित गराउनु पर्नेछ ।

सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेर्साे सिटमा चार÷चार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ । गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ । निजी सवारीको हकमा पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेछ ।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिई प्रवेश गर्न पाउने छन् । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ । पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न मिल्ने छ ।

त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । त्यसभन्दा बढी भए दुई सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ । गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुने गरी सञ्चालन गर्ने भनिएको छ ।

उपत्यका प्रशासनले नेपाल सरकारको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यदेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी यही असार ३१ गते राति १२ बजेसम्मका लागि उक्त आदेश जारी गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया