कांग्रेस पोखरा नगर सभापतिमा ४ आकांक्षी

समाधान संवाददाता २०७८ असार २१ गते ७:२२

१४ हजारभन्दा बढी क्रियाशील सदस्य मतदाता
समाधान संवाददाता, पोखरा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको रन्को केन्द्रदेखि स्थानीय तहसम्म लागेको छ । कास्कीमा जिल्ला समिति र स्थानीय तहको नेतृत्वका लागि कांग्रेसमा थुप्रै आकांक्षी देखिएका छन् । पोखरा महानगरपालिका समितिको अध्यक्षका लागि अहिलेसम्म ४ जनाले आकांक्षा देखाएका छन् ।

सुरेन्द्रमान बिजुक्छे, गंगाधर पराजुली, रामराज लामिछाने र मिलन तिवारी कांग्रेसको पोखरा महानगर समिति सभापतिका आकांक्षी छन् । उनीहरुले आफूलाई नेतृत्वमा पु¥याउन क्रियाशील सदस्य र नेताहरुसँग अपिल एवं आग्रहको अभियान सुरु गरिसकेका छन् ।

Advertisement

बिजुक्छे अहिलेकै नगर समितिमा उपसभापति छन् । यसअघि उनी कोषाध्यक्ष थिए । पोखरा उद्योग वाणिज्य संघका महासचिव बिजुक्छे आफू सदस्य, कोषाध्यक्ष हुँदै उपसभापतिसमेत भइसकेको हुँदा स्वाभाविक रुपमा सभापतिको दाबेदार हुने बताउँछन् ।

प्रेस युनियनको केन्द्रीय उपसभापति भइसकेका पराजुली नेपाली कांग्रेसको १२ औं महाधिवेशनका बेला कास्की जिल्ला समिति सचिवको उम्मेदवार थिए । अहिलेका सभापति कृष्णबहादुर केसीसँग पराजुलीले सचिवमा प्रतिस्पर्धा गरेका थिए ।

Advertisement

१२ वर्षअघिको उक्त अधिवेशनमा उनी केसीसँग पराजित भएका थिए । तर, १३ औं अधिवेशनमा भने जिल्ला पार्टी सभापतिमा नेता शुक्रराज शर्मासमेत उम्मेदवार भएका बेला पराजुलीले आफ्ना पुराना प्रतिस्पर्धी केसीलाई नै सघाएका थिए । शर्मालाई पराजित गरी केसी सभापति भएका हुन् ।

१३ औं अधिवेशनका बेला कास्की सभापतिका उम्मेदवार शर्मा पार्टी सभापति शेरबहादुर देउवा र केसी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उम्मेदवार थिए । पौडेल पक्षधरका केसीसँग १२ औं महाधिवेशनका बेला सचिवमा प्रतिस्पर्धा गर्दा पराजुली देउवा पक्षीय टिमका उम्मेदवार थिए । तर, अर्काे महाधिवेशनसम्म केसी र पराजुली प्रतिस्पर्धी भएनन् ।

अहिले पार्टीको कुनै एउटामात्रै धारभन्दा पनि सबै पक्षको साथ आफूलाई भएको पराजुली बताउँछन् । ‘पहिला सचिवमा उठेँ, त्यही दोहो¥याउने कुरा नेतृत्व हस्तान्तरणको परम्परा विपरीत हुन्छ भनेर महानगरको नेतृत्वमा जान चाहेको हुँ,’ पराजुलीले समाधानसँग भने ।

पोखरा महानगरपालिका वडा नम्बर ९ को वडाध्यक्षसमेत रहेका लामिछाने यसअघि नेपाली कांग्रेस कास्कीको जिल्ला सचिव हुन् । सबै नेता कार्यकर्ताले पार्टीको महानगरपालिकाको नेतृत्वमा जानुपर्छ भन्ने सल्लाह दिएअनुसार आफू सभापतिको उम्मेदवार बन्न लागेको उनी बताउँछन् । भन्छन्, ‘सबै नेताहरुले सभापति हुनुपर्छ भन्नुभयो, पहिला जिल्लाको सचिव भइसकेको पनि हुँदा अब नेतृत्वमा जाऊँ भन्ने लाग्यो ।’

तरुण दलको जिल्ला समितिमा १४ वर्ष सदस्य भइसकेका मिलन तिवारी युवा नेतृत्व प्रदान गर्ने गरी आफू उम्मेदवार बन्न लागेको बताउँछन् । ‘रुपान्तरणका लागि युवा अभियान भनेरै चुनावी प्रचारमा छु,’ उनले भने ।

यसअघि पोखरा नगर सभापति भइसकेका बजिरमान श्रेष्ठ र लेखनाथ नगर सभापति भइसकेका राजेन्द्रमणि लामिछाने दुवैले फेरि सभापति बन्ने आकांक्षा राखेका छैनन् । लामिछानेले भने, ‘२ पटक नगर सभापति भइसकेँ, फेरि दोहोरिने मन छैन ।’

नेपाली कांग्रेसको महाधिवेशन तालिका अनुसार साउन १६ गते देशैभरका पालिकाको इकाई नेतृत्व चयनका लागि निर्वाचन हुनेछ । साउन १२ गतेदेखि देशैभरका वडा वडाबाट सुरु हुने नेतृत्व चयनको सिलसिला भदौ १९ गते काठमाडौंमा केन्द्रीय नेतृत्वका लागि मतदान भएपछि सकिनेछ । कास्की कांग्रेसमा २० हजार क्रियाशील सदस्य छन् । पोखरामा मात्रै १४ हजारभन्दा बढी छन् ।

साउन १२ गतेको वडा अधिवेशनले वडा कार्यसमितिसहित क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन गर्नेछ । कांग्रेसको विधान अनुसार १५० जना क्रियाशील सदस्य भएको वडा इकाई कमिटीबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

१५० माथि थप प्रत्येक १०० क्रियाशील सदस्यबाट १० जनाका दरले क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन गर्ने विधानमा व्यवस्था छ, जसअनुसार २५० भन्दा धेरै क्रियाशील सदस्य भएको इकाइले २६ जना, ३५० भन्दा बढी सदस्य भएको इकाइले ३६ जना गरेर क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन गर्नेछन् ।

पालिकामा कांग्रेस नेतृत्व चयन गर्न पालिका अन्तर्गतका सबै क्रियाशील सदस्यले उम्मेद्वार बन्न र मतदान गर्न पाउनेछन् । पालिका अधिवेशनबाट २ जना अपांग क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन हुनेछन् भने पालिका इकाई समितिका सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुनेछन् । जिल्ला अधिवेशनको मिति साउन २६ गतेका लागि तोकिएको छ ।

तपाईको प्रतिक्रिया