दीपक मनाङेले आफ्ना मान्छेलाई मात्र राहत दिएको सुनें, को एमाले, को अर्को पार्टीको भन्ने नहेर्नु होलाः अधिकारी

समाधान संवाददाता २०७८ असार २२ गते ७:२९

समाधान संवाददाता, पोखरा

Advertisement

नेकपा एमालेका नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले मनाङका बाढी पीडितको साथमा नेकपा एमाले र संघीय सरकार रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले संकलन गरेको राहत लिएर मनाङ सदरमुकाम चामे र ताल पुगेका अधिकारीले मनाङीलाई भोकै बस्न नपार्ने बताए ।

उनले बाढीबाट घरबारविहीन भएकालाई घर बनाउनसंघीय सरकारले सहयोग गर्नेसमेत बताए ।स्थलगत भ्रमण गरी स्थानीयका गुनासो सुनेपछि अधिकारीले प्रदेश सरकारले वास्ता नगरेपनि संघीय सरकारले सहयोग गर्ने उल्लेख गरे । स्थानीयले निवर्तमान मन्त्री अधिकारीसँग गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको टोली बाढी, पहिरो जाँदाको भोलिपल्टै आए पनि पीडितले राहत नपाएको भन्दै असन्तुष्टि पोखे ।

‘मुख्यमन्त्रीको टोलीको मसँग त भेट पनि भएन, सरकारी कार्यालयका लागि सोलार लिएर आउनु भएको रहेछ, बाढी पीडितले केही पाएका छैनन्,’ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र गुरुङले भने ।
उनले खाद्यान्न अभावका कारण मनाङका बासिन्दा भोकै मर्नुपर्ने अवस्था आउन थालेको बताए । ‘जनताले पैसा दिन्छौं, सामान ल्याईदेऊ भनेका छन् । पैसा भएर पनि खान नपाउने अवस्था आउन थाल्यो ।’ गुरुङले एमाले नेता अधिकारीसँग सामान ढुवानीको व्यवस्था मिलाईदिन आग्रह गरे ।

पक्की पुल र सडक भत्केका कारण गाडीबाट महिनौंसम्म ढुवानी रोकिने अवस्था छ । अध्यक्ष गुरुङको कुरा सुनेलगत्तै पूर्वमन्त्री अधिकारीले गृहमन्त्रालयका सचिवलाई फोन गरेर मंगलबार नै सेनाको हेलिकोप्टरबाट चामे, ताल लगायतका प्रभावित ठाउँमा खाद्य सामग्री ढुवानी गर्ने व्यवस्था मिलाई दिए ।

Advertisement

केही स्थानीयले गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले आफ्ना नजिकका मान्छेलाई मात्र राहत दिएको गुनासो गरेपछि अधिकारीले कसैलाई भेदभाव नगर्न निर्देशन दिए । ‘आज एमालेकै युवा साथीहरुले जस्तापाता र टेन्ट लिएर आउनु भएको छ । यो राहत सबैभन्दा बढी आवश्यक भएका पीडितलाई दिनुहोला । को एमाले, को अर्को पार्टीको भन्ने नहेर्नु होला,’ अधिकारीले भने ।

युवा संघले लगेको राहात स्थानीय सरकारी अधिकारीलाई नै हस्तान्तरण गरेर टोली फर्किएको छ । बाढी र पहिरोका कारण मनाङमा ठूलो क्षती भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानका अनुसार ७० घर भत्केका छन् । २ पक्की पुल र ९ झोलुंगे पुल बाढीले बगाएको छ । चामे आउने सडक दर्जनौ ठाउँमा भत्केको छ । ३ वटा हाइड्रो पावर बगाउँदा सदरमुकाम लगायतका ठाउँमा बिजुली छैन ।

सबैभन्दा बढी बिचल्ली बाहिरबाट मजदुरी गर्न गएकाहरुको छ । ‘उनीहरुसँग अहिले काम पनि छैन, दाम पनि छैन । यस्ता मानिस १ हजारभन्दा बढी छन्,’ चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र गुरुङले भने । उनीहरुलाई खाने, बस्ने व्यवस्था गर्न ठूलो चुनौती भएको छ । मनाङ सेवा समाज लगायतका केही संघ, सस्थाले सहयोग गरेका छन् । तर यो पर्याप्त छैन ।

तपाईको प्रतिक्रिया