बिरामीसँगै अक्सिजन माग पनि घट्यो

समाधान संवाददाता २०७८ असार २२ गते ७:३३

दोस्रो लहर उत्कर्षमा हुँदा कालिगण्डकी र पोखरा अक्सिजन उद्योगले दिनमा १४ सय सिलिन्डर अक्सिजन उत्पादन गरेका थिए । अहिले भने यो संख्या आधा घटेको उद्योग सञ्चालक बताउँछन् ।

अनिष भट्टराई, पोखरा

वैशाख पहिलो साता गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ५८ मात्र थियो । दोस्रो भेरियन्ट तीव्र रुपमा फैलिएपछि यो आँकडा दोस्रो साता नबित्दै ८ सय ८० पुग्यो । त्यसमध्ये ६ सय ३८ जना संक्रमित कास्कीका मात्र थिए ।

Advertisement

दोस्रो भेरियन्ट फैलिएपछि अस्पतालका बेड भरिए । बिरामीले बेड पाउनै हम्मेहम्मे हुन लाग्यो । कोरोनाको पहिलो लहरमै पोखराका अस्पतालले बिरामी भर्ना नगर्दा कैयौं संक्रमितले ज्यान गुमाएका थिए ।

संक्रमण फैलँदै जाँदा बिरामीमा अक्सिजनको अभाव पनि खट्क्यो । पोखराका २ अक्सिजन उत्पादक कम्पनीहे आफ्नो क्षमताभन्दा बढी उत्पादन गरेपनि अपुग बन्यो । यसैको नतिजा स्वरुप १३ जेठको रातमा पोखरामा एकै पटक सुत्केरीसहित ६ बिरामीको मृत्यु भयो ।

Advertisement

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ६ जना बिरामीको मृत्यु भएको थियो । ६ बिरामीले हाइफ्लो अक्सिजन नपाउँदा एकसाथ ज्यान गुमाएका थिए । त्यसदिन अस्पतालमा अक्सिजनको स्टक नै रित्तिएको थियो ।

यस घटनाको १ महिनामा भने अवस्था फेरिएको छ । कोरोना संक्रमण घटेसँगै अक्सिजनको माग पनि घटेको छ । पोखराका २ अक्सिजन उद्योग अक्सिजनको माग घटेको बताउँछन् । दोस्रो लहर उत्कर्षमा हुँदा पोखराका कालिगण्डकी र पोखरा अक्सिजन उद्योगले दिनमा १४ सय सिलिन्डर अक्सिजन उत्पादन गरेका थिए । अहिले भने यो संख्या आधा घटेको उद्योग सञ्चालक बताउँछन् ।

कालिगण्डकी अक्सिजन प्रालिका सञ्चाल कालिदास बराल अहिले अक्सिजनको माग कम भएसँगै उत्पादन पनि कम भएको बताउँछन् । ‘हामीले कोरोना बढ्दा दिनमा ५ सय ५० सिलिन्डर उत्पादन गथ्र्यौं, अहिले २ सय ५० देखि ३ सय सिलिन्डरमात्र अक्सिजन उत्पादन गरेका छौं,’ बरालले भने ।

कालिगण्डकी अक्सिजन प्रालिले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पद्म नर्सिङ होम र फेवासिटी अस्पतालबाहेक अन्य अस्पतालमा अक्सिजन पु¥याउने गरेको छ । उद्योगबाट सबैभन्दा बढी अक्सिजन मणिपाल शिक्षण अस्पतालले लाने गरेको सञ्चालक बरालले बताए । ‘सबैभन्दा बढी मणिपालमा जाने गरेको छ । अहिले दिनको १ सय सिलिन्डर त्यहीँ दिइरहेका छौं,’ उनले भने ।

पोखराकै अर्को अक्सिजन उद्योग पोखरा अक्सिजन प्रालिले अहिले आफ्नो क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरिरहेको छ । सञ्चालक दीपक भण्डारीका अनुसार अहिले मागमा कमी आएसँगै उत्पादनमा कमी आएको हो । जेठ मसान्तसम्म उद्योगले दैनिक ८ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरेको भण्डारीले बताए ।

‘बिरामी घटे, अहिले ४ सय हाराहारीमा उत्पादन गर्छौं,’ उनले भने । उद्योगबाट सबैभन्दा बढी अक्सिजन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जाने गरेको छ । दिनको २ सयदेखि २ सय ५० सिलिन्डर अक्सिजन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको भण्डारीले बताए ।

गण्डकीमा कोरोना संक्रमणमा कमी आएपनि निषेधाज्ञा खुकुलो बनाइएसँगै कोरोना संक्रमितको संख्या थोरै बढेको छ । लकडाउन खुकुलो बनाइएपछि गत साता गण्डकीमा ८ हजार ५ सय १८ जनाको परीक्षण गरिएकोमा २ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसअघिको सातामा गण्डकीमा २ हजार १ सय ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा छ । सोमबार गण्डकीमा ३ सय २ संक्रमित थपिएका छन् ।

संक्रामक अस्पतालमा अक्सिजन प्लान्ट

प्रदेश सरकारको कोरोना अस्पतालका रुपमा निर्मित संक्रामक तथा सरुवा रोग अस्पतालमा ३ दाताको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको छ । अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचनका अनुसार प्लान्ट अहिले जडानको क्रममा छ । पोखरा महानगर, पुरी फाउन्डेसन र एनआरएन बेल्जियमको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

पुरी फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत वेदराज पुरीका अनुसार ३ समूह मिलेर १ करोड लागतमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । पुरीले प्लान्ट स्थापना भएपछि अस्पतालमा दैनिक १ लाख ४४ हजार लिटर अक्सिजन उत्पादन हुने बताए । प्लान्ट टर्कीबाट ल्याइएको पुरीको दाबी छ ।

दैनिक १ लाख ८० हजार लिटर उत्पादन गर्न सक्ने गरी अक्सिजन प्लान्ट राख्न लागेको भएपनि बिजुलीको समस्याका कारण नमिलेको पुरीको दाबी छ । ‘अझै ठूलो उत्पादन क्षमताको राख्ने कुरा थियो, बिजुली, ट्रान्सफर्मर नमिल्दा सकिएन, अहिलेकै क्षमता अनुसारको राख्न पनि एक्स्ट्रा लाइन ल्याउनुपरेको छ,’ पुरीले भने ।

३ समूहले आफैं सम्झौता गरेर अक्सिजन प्लान्ट ल्याएका हुन् । अहिले अस्पतालमा ४८ संक्रमित छन् । कार्यकारी निर्देशक डा गौचनका अनुसार ४२ जना बिरामीलाई अक्सिजन दिएर राखिएको छ । अस्पतालमा अहिले दैनिक ६० देखि १ सय २० सिलिन्डर अक्सिजनको माग छ ।

तपाईको प्रतिक्रिया