ऋण काढेर किनेको घडेरीलाई प्लटिङ गिराेहले बाटो बनाइदिएपछि…..

सञ्जय रानाभाट २०७८ असार २३ गते १२:०७
dav

हालसाविक गर्दा व्यक्तिगत घडेरीलाई बाटो कायम गरी १६ घडेरी बिक्री
सञ्जय रानाभाट

पोखरा – स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाकी गोमाकुमारी अर्यालले १३ वर्षअघि पोखरामा २ आना जग्गा किनिन् । पोखरा १४ हवेलीमार्गमा १३ हात मोहोडा भएको सानो घडेरी किन्न उनले ठूलो मेहनत गरेकी थिइन् । डिभिजन वन कार्यालय स्याङ्जाको जागिरको बचतले मात्रै पुगेन । बैंकबाट ऋण काढिन् अनि साढे २ आनाको त्यो घडेरी जोडिन् ।पोखरामा ओत लाग्ने सानै भए पनि एउटा घर ठड्याउने उनको सपना थियो ।

श्रीमान् टाउकोको अप्रेसन गरेर बिरामी छन् । दुई छोराहरुसहित ४ परिवार छ । गोमाले जागिर खाँदै थोरैथोरै पैसा जोगाएकी थिइन् । श्रीमान्ले विदेशबाट कमाएर पठाएका थिए । त्यसमाथि मुक्तिनाथ विकास बैंकबाट ऋण पनि काढिन् । त्यसरी २०६५ साल चैत २६ गते किनेको त्यो घडेरी आज उनले घर बनाउन मिल्ने अवस्थामा छैन ।

Advertisement

जग्गा किनेदेखि नै गोमाले बैंक किस्ता बुझाउँदै आएकी थिइन् । २०७७ सालको फागुनमा किस्ता बुझाएर सकियो । तर जब उनी बैंकधितोबाट फुकुवा लिन मालपोत कास्की पुगिन्, छाँगाबाट खसेजस्तो भइन् । ‘फुकुवा लिन जाँदा त नक्सामा मेरो घडेरी नै देखिएन,’ उनले भनिन् ।

भएको के रहेछ भने गोमाको घडेरी हालसाविक गर्दा नापी कार्यालयले बाटो कायम गरिदिएछ । उनको घडेरीलाई बाटो कायम गरी पछाडिको जग्गा प्लटिङसमेत भएको छ । ती प्लटिङवालाले आफ्नो घडेरीलाई बाटो देखाएर १६ वटा घडेरी बेचिसकेको गोमा बताउँछिन् । त्यसमध्ये एकजनाले घरसमेत बनाइसकेका छन् ।

Advertisement

श्रीमान् विदेश थिए । आफू पनि जागिरे भइन् । त्यसैले घडेरी रेखदेखलाई घरीघरी आउन पाइन्न भनेरै गोमाले कम्पाउन्डवाल पनि लगाएकी थिइन् । ‘लालपुर्जा मेरै नाममा छ, नक्सा पनि मसँगै छ, पर्खाल लगाएकी छु भनेर ढुक्कले बसेकी थिएँ,’ गोमाले भनिन्, ‘तर कम्पाउन्ड पनि भत्काएर बाटो बनाइदिएछन् ।’

व्यक्तिगत घडेरीलाई सार्वजनिक बाटो कायम गरिदिएको गुनासो गर्दै गोमा अर्याल नापी कार्यालयसमेत पुगिन् । तर त्यहाँका अधिकारीले भने उल्टै उनैलाई दोष देखाए । भन्छिन्, ‘फोन गरेका थियौं भन्नुहुन्छ तर मलाई नापीबाट कहिल्यै फोन आएन ।’ धनीलाई थाहै नदिई सार्वजनिक बाटो कायम गरी नापीले नयाँ नापनक्सा बनाइदिँदा गोमाको जग्गा गुमेको छ ।

गोमाले बेलाबेला आउँदै जग्गा हेर्ने पनि गरेकी थिइन् । सरकारलाई जग्गाको तिरोभरो पनि बुझाएकी थिइन् । उनको हातमा लालपुर्जा र नक्सामात्रै छैन, वर्षैपिच्छे बुझाएको तिरोका रसिद पनि छन् । मात्रै छैन उनको घडेरी ।

बाटो खारेज गरी घडेरी कायम गराउन उनले मंगलबार स्थानीयलाई गुहारिन् । आफूले खाई नखाई जोडेको सम्पतिमा सरकार र प्लटिङवालाले बलमिच्याइँ गरेको उनले सुनाइन् । उनको गुहार सुन्न घडेरी भएकै जग्गामा मंगलबार जम्मा भएको हुलमा उनी भन्दै थिइन्, ‘बिरामी श्रीमान् र साना छोराछोरी छोडेर आएकी छु, मैले न्याय कसरी पाउने हो ?’

पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्की र स्थानीय नागरिक अगुवाले पनि कित्ता नम्बर ५५८८ को घडेरी गोमाकै भएको ठह¥याएको छ । त्यसो त वडाध्यक्ष कार्कीले गोमाको घडेरी हालसाविकका लागि २०७७ फागुन १८ गते नापीलाई सिफारिस गरेका थिए । मंगलबारको भेलाले पनि गोमाको घडेरी उनकै नाममा हालसाविक गरिदिन सिफासि गर्ने लिखित निर्णय गरेको छ । उक्त निर्णयमा स्थानीय अगुवाहरु बोधराज कार्की, धनबहादुर गुरुङ, रामबहादुर भण्डारी, महाप्रसाद सुवेदी, द्रोणबहादुर कार्की, गंगाबहादुर थापा, घनश्याम रिजाल, खड्कराज सुवेदी, रितबहादुर रोका, शोभित खड्का, बोधराज गौतम, दानबहादुर थापा, डिल्लीराज सुवेदी र चित्र सिंहले हस्ताक्षर गरेका छन् ।

वडा नम्बर १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले गोमाको घडेरीलाई बाटो भनेर अर्जुन बस्यालले १६ भन्दा बढी घडेरी प्लटिङ गरी बिक्री गरेको पुष्टि गरे । ‘बस्याल साह्रै ठग बदमास मान्छे हो,’ कार्कीले भने, ‘घडेरीवालाहरुले नै गोमाको घडेरीको पर्खाल भत्काइदिएछन् ।’ बस्यालले ढाँट्दा १६ वटा घडेरीका धनीलाई पनि मर्का परेको अध्यक्ष कार्कीले सुनाए । व्यक्तिको नाममा रहेको जग्गा बाटोका लागि नापी कार्यालयबाट सार्वजनिक गरिनु ज्यादै दुख लाग्दो कुरा भएको सहभागी समाजसेवी बोधराज कार्कीले बताए ।
….
१ पोखरा १४ हवेलीमार्गस्थित ५५८८ कित्ता नम्बर जग्गाको गोमा अर्यालको नामको पुर्जा ।


२ घडेरी सार्वजनिक बाटो नभई गोमा अर्यालकै नाममा हुने गरी हालसाविक गरिदिन मंगलबार स्थानीयले गरेको निर्णय सिफारिस

३ गोमाले २०७७÷७८ का लागि तिरो तिरेको रसिद


४ गोमाको घडेरी ।

५ गोमाको घडेरी हालसाविक गरिदिन वडाले गरेको सिफारिस ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया