पोखराको बाटुलेचौरबाट १५ वर्षीया समृद्धि हराइन्

समाधान संवाददाता २०७८ असार २३ गते १९:२०

समाधान संवाददाता, पोखरा

पोखराको बाटुलेचौरकी १५ वर्षीया समृद्धि राई हिजोदेखि हराएकी छन् । चितवन, नवलपरासी लगायत जिल्लाहरुमा किशोरीहरु हराइरहेका घटना राष्ट्रिय समाचार बनिरहँदा पोखराकी यो बालिकासमेत हराएकी छन् ।

बालिकाको परिवारलाई खोजबिन गरिदिन आज कास्की प्रहरीमा रिपोर्ट गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । “हामी तदारुकता साथ खोजबिनमा लागेका छौं, मातहतका सबै युनिटदेखि ७७ जिल्लामा खबर भएको छ,” डीएसपी हमालले भने ।

Advertisement

बालिकाका पिता नवीन राईले छोरी हिजो साँझ ५ बजेदेखि हराएको जानकारी दिए । छोरीका साथीहरुलाई सोधीखोजी गर्दा कसैसँग सम्पर्क भएको नपाएको उनले सुनाए । “१/२ किलोमिटर टाढा लामाचौरतिर जाँदै गरेको एकजनाले देखेको रहेछ, कता हो नानी भनेर सोध्दा यतै हो भनेकी रहेछिन्,” उनले भने, “त्यसपछि देख्ने अरु भेटिएनन् ।”

हिजोराति पानी परिरहँदा पनि छोरीको खोजी गरेको नवीनले बताए । डीएसपी हमालका अनुसार समृद्धिले मोबाइल बोक्ने गरेकी थिइनन् । शंकास्पद व्यक्तिहरुसँग पनि सोधीखोजी गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया