गण्डकी विश्वविद्यालयमा अध्ययन गराउने विषयको पहिचान

समाधान संवाददाता २०७८ असार २३ गते २०:५१

कृषि, पर्यटन, स्वास्थ्य विज्ञान, खानी इन्जिनियरिङ र सहकारीसँग सम्बन्धित लगायत विषयको पढाइ गर्न सुझाव


समाधान संवाददाता, पोखरा


गण्डकी विश्वविद्यालयले अध्ययन अध्यापन गराउने प्राज्ञिक विषयहरुको पहिचान गरेको छ । नवस्थापित विश्वविद्यालयले प्राध्यापन क्षेत्रका अनुभवीहरुको समिति बनाई विषय पहिचान गरेको हो । प्राडा विश्वकल्याण पराजुली नेतृत्व समितिले आफ्नो प्रतिवेदन बुधबार विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई प्रतिवेदन बुझाएको छ ।

Advertisement


समितिले कृषि, पर्यटन, स्वास्थ्य विज्ञान, खानी इन्जिनियरिङ र सहकारीसँग सम्बन्धित विषयको पढाइ गर्न सुझाएको छ । प्राडा पराजुलीले विषय विज्ञहरुलाई उत्तरदाता मानेर अनुसन्धान गरिएको जानकारी दिए । उनकै भनाइमा जिल्लाजिल्लामा स्थलगत रुपमा पुगी अन्तर्क्रिया कार्यक्रमबाट समेत सुझाव संकलन गरिएको थियो ।

अध्ययनका क्रममा १५४ जनालाई भेट्ने/सोध्ने गरिएको जानकारी पनि उनले दिए । ‘कतिपय संस्थाले सम्बन्धन पनि दिनुपर्‍यो भनेका थिए,’ उनले भने ।

Advertisement


प्रतिवेदनको प्रस्तुतीकरण गर्दै समिति सदस्य अमृत भण्डारीले कृषिका प्राविधिक, स्वास्थ्यका प्राविधिकहरुको खाँचो धेरै रहेको अध्ययनबाट देखिएको सुनाए । उनले गण्डकी प्रदेशको आवश्यकता के हो र कस्तो मानव संसाधान विकास गर्ने गरी गण्डकी विश्वविद्यालयको पढाइ हुनुपर्छ भन्ने उद्देश्यसहित अध्ययन गरिएको जानकारी दिए । ‘धेरैले कृषिका विज्ञ चाहियो भन्नुभएको छ,’ उनले भने, ‘गाउँपालिकाले कृषिका कार्यक्रम बनाउँदो रहेछ, तर विज्ञ नभेटिने, किसानहरुले पनि त्यही माग गर्नुभएको छ ।’


सहकारीका पढाइ गर्नुपर्ने सुझाव पनि आफूहरुले संकलन गरेको भण्डारीले बताए । उनले भने, ‘सहकारी त धेरै भए तर व्यवस्थापन गर्न सक्ने मानव संसाधन भएनन भन्ने सुझाव आयो ।’ भण्डारीले ४० जति कार्यक्रम पढाउन सकिने सुझाव प्रतिवेदनमा समेटिएको सुनाए । उनकै भनाइमा तत्काल आवश्यक भएका र तत्कालै पढाउन सकिने तथा केही समयपछि पढाउन सकिने विषयहरु प्रतिवेदनमा समावेश छन् । ‘जिल्लाजिल्लाका अस्पतालमा आइसियु र भेन्टिलेटर राख्न लागिएको रहेछ, तर एनेस्थेसिया, आइसियुका मानव संसाधान नै रहेनछन्,’ उनले भने ।


आइसियु केयर टेकर, एनेस्थेसिया सहायक, हमोडाइलिसिस सहायक, रेडियोलोजी र प्याथोलोजीका कार्यक्रम विश्वविद्यालयमा चलाउन छोटो अवधिका कार्यक्रमका रुपमा सुझाइएको छ । ‘कतिजनाले त गण्डकी विश्वविद्यालयको कुरा हो भने मसँग सोध्दै नसोध्नोस् पनि भन्नुभएको छ,’ भण्डारीले भने, ‘उहाँहरुलाई जवाफ दिनसक्ने गरी हाम्रा विद्यार्थी पढाइसक्नासाथ फिल्डमा गएर काम गर्न सक्छन् भन्ने गरी विकास गराउनुपर्छ, पढाउनुपर्छ ।’


समितिले प्राकृतिक स्रोत व्यवस्थापन, भूगर्भ विज्ञान, प्राणीशास्त्र, सूचना प्रविधि, साहसिक पर्यटन, खेलकुद व्यवस्थापनसहित समाज विज्ञानका विषय पनि सञ्चालन गर्न सकिने सम्भाव्यता पहिचान गरेको छ ।


प्रतिवेदन बुझेपछि कुलपति प्राडा गणेशमान गुरुङले अरु विश्वविद्यायमा पढाइ नभएका विषय पढाइ अरुभन्दा भिन्न हुने दिशामा अघि बढ्ने बताए । उनले राजनीतिक हस्तक्षेपबाट मुक्त हुने गरी न्यासिक परिषद्बाट सञ्चालन हुने व्यवस्थासहित स्थापित गरेर विश्वविद्यालय प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ धन्यवादका पात्र बनेको विचार पनि राखे ।

‘जति सक्छौं विस्तारै कार्यक्रम गर्दै जान्छौं, राम्रो गर्छाैं, थोरै गर्छाैं,’ उनले भने । उपकुलपति प्राडा नवराज देवकोटाले के के पढाउन सकिन्छ भन्ने खोजी गरिसकेपछि अब कार्यान्वयनको चुनौती आएको विचार व्यक्त गरे । रजिस्ट्रार कैलाश तिमिल्सिनाले हिमाली क्षेत्रका विषयवस्तु समेटेर अगाडि बढ्नुपर्ने बताए । समितिका सदस्य गेहेन्द्रेश्वर कोइरालाले प्राविधिक विषयलाई प्राथमिकतामा राख्ने विश्वविद्यालयको मर्मलाई प्रतिवेदनले समेटेको सुनाए ।

गण्डकी विश्वविद्यालयका लागि आवश्यक प्राज्ञिक विषय पहिचान गर्न प्राडा पराजुलीको नेतृत्वमा गठित समितिमा गेहेन्द्रेश्वर कोइराला, डा दीर्घमान गुरुङ, अमृतकुमार भण्डारी, शान्ता खत्री, डा आँगन पराजुली, इन्जिनियर स्मीता पराजुली, अर्जुन पोखरेल, लक्षमण शर्मा, परमेश्वर बराल, जनार्दन थापा सदस्य थिए ।

तपाईको प्रतिक्रिया