कृषि विकास बैंकद्वारा वप्रका बैदामलाई उद्धार सामगी सहयोग

समाधान संवाददाता २०७८ असार २४ गते १८:०५

समाधान संवाददाता, पोखरा, २४ असार


कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराद्वारा पोखरा–६ स्थित वडा प्रहरी कार्यालय बैदाम पोखरालाई आफनो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपद व्यवस्थापन उद्धार सामग्री हस्तान्तरण गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि बैंक सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुलीले कृषि विकास बैंकले आफ्नो लक्ष्य अनुसारको बैंकिङ कार्य गर्दै अगाडि बढिरहेको जानकारी गराए । आफूले आर्जन गरेको नाफा रकमबाट नेपाल सरकारलाई करमा योगदान गरी केही रकम समाजका विभिन्न क्षेत्रमा सहयोग गर्ने पनि उनले सुनाए । चौबिसै घण्टा सुरक्षामा खटिने वडा प्रहरी कार्यालय बैदामलाई विपद व्यवस्थापनमा आवश्यक उद्धार सामग्रीहरु उपलब्ध गराउने अवसर प्राप्त भएकोमा पराजुलीले खुसी व्यक्त गरे ।

Advertisement

वडा प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङको कार्यकाल अत्यन्तै सफल रहोस् भन्ने शुभकामना पनि पराजुलीले दिए । बैंकका गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपानेले विगतको कठिन समयमा कृषि विकास बैंक र नेपाल प्रहरीबीचको सम्बन्धका बारेमा कुरा राख्दै छोटो समयमा अति प्राकृतिक प्रकोपका लागि आवश्यक सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको सुनाए ।


कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामकी प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले अति आवश्यक प्राकृतिक प्रकोप उद्धार सामग्रीहरु उपलब्ध गराएकोमा धन्यवाद दिइन् । आगामी दिनमा पनि प्रहरी र बैंकबीच सहकार्य गर्दै जाने उनको भनाइ थियो ।

Advertisement


कार्यक्रममा बैकका मुख्य शाखा प्रबन्धक माधव रिजालका साथै वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षकहरु श्यामबहादुर थापा, लालबहादुर थापा लगायत प्रहरी कर्मचारीहरु उपस्थिति थिए । कार्यक्रम सञ्चालन बैंकको गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ शाखा प्रमुख महेश पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया