विद्यार्थीलाई छात्रवृत्ति

समाधान संवाददाता, पोखरा
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकलेसामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
सेवा केन्द्रले आफ्नो कार्य क्षेत्रमा पर्ने सामुदायिक विद्यालयका ६ विद्यार्थीलाई सामुदायिक छात्रवृत्ति प्रदान गरेको अध्यक्ष विपिन अधिकारीले जानकारी दिए । सेवा केन्द्रले छात्रवृत्तिको लागि ७ लाख ५० हजारको अक्षयकोष खडा गरेको छ ।
अध्यक्ष अधिकारीले केन्द्रले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्तिको व्यवस्था गरेको बताए ।
‘कालिका माध्यमिक विद्यालय रामबजारका १, नवप्रभात माध्यमिक विद्यालय नयाँ बजारका १ र राम आधारभूत विद्यालय सिमलचौरका २, सहारा आधारभूत विद्यालयका १ र राष्ट्रिय उच्च माध्यमिक विद्यालयका १ विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका छौं,’ अध्यक्ष अधिकारीले भने, ‘ती विद्यार्थीको कम्युटर तथा परीक्षा शुल्कका अलावा पोशाक, स्टेसनरीमा सहयोग गरेका छौं ।’
अध्यक्ष अधिकारीले विकृति, विसंगति न्यूनीकरणका लागि सक्रियतापूर्वक काम गरेको संस्थाले शिक्षा र सामाजिक क्षेत्रमा समेत योगदान गरेको बताए ।
संस्थाका सल्लाहकार समिति संयोजक चिरञ्जीवी श्रेष्ठले वार्षिक रुपमा क्यालेन्डर बनाएर रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरेको उल्लेख गरे ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र पृथ्वीचोक उपाध्यक्ष धर्मदत्त आचार्य, सचिव कुमारीमुना बास्तोलालगायतलेबोलेका थिए ।
तपाईको प्रतिक्रिया