‘सावधानी अपनाएर होटल खोल्न देऊ’

समाधान संवाददाता २०७८ असार २५ गते १०:४७

समाधान संवाददाता, पोखरा

होटल तथा रेस्टुरेन्ट व्यवसायीले लामो समयदेखि बन्द रहेका होटल व्यवसायलाई सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर खोल्ने वातावरण मिलाउन माग गरेका छन् ।

उनीहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएर सावधानी अपनाएर खोल्न पाउने व्यवस्था तुरुन्त लागु गर्न माग गरे ।

Advertisement

पोखरा नगर होटल रेस्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) कास्की अध्यक्ष दीपक तिमिल्सिनाले राष्ट्रको मेरुदण्डको रुपमा रहेका पर्यटन व्यवसायीलाई पलायन हुनबाट रोक्न विस्तारै सञ्चालनको वातावरण मिलाउन माग गरे ।

कोभिड १९ संक्रमणका दृष्टिले होटल तथा पर्यटन व्यवसायलाई संवेदनशील क्षेत्र घोषणा गर्दै सबैभन्दा पहिला बन्द गराएको उल्लेख गर्दै उनले क्रमशः निर्वाध रुपले व्यवसाय सञ्चालन गरी बजारलाई आर्थिक रुपमा चलायमान बनाउन आग्रह गरे ।

Advertisement

‘स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र सरकारले तोकेको मापदण्ड अक्षरशः रुपमा पालना गरेर अहिलेसम्म पूणरुपमा बन्द गरेका छौं,’ उनले भने, ‘कोभिड १९ को संक्रमण जोखिम बढ्दै जाँदा र वर्तमान अवस्था लम्बिदै जाँदा आर्थिक भार बढेर धेरै व्यवसायी पलायन हुन थालेको छन् ।’

अध्यक्ष तिमिल्सिनाले पार्टी प्यालेस, दोहोरी साँझ लगायतका रात्रीकालिन व्यवसायलाई समेत खोल्ने वातावरण सिर्जना गर्न आग्रह गरे । पृथ्वी होटल व्यवसायी समिति कास्की अध्यक्ष हरिप्रसाद पाण्डेले ज्ञापनपत्रमा पर्यटन तथा होटल व्यवसाय खोल्नुभन्दा अगावै व्यवसायी तथा कर्मचारीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्न माग गरेको बताए ।

ज्ञापनपत्रमा असार २५ गतेभित्र कर चुक्ता गर्नुपर्ने सरकारी निर्णयलाई लकडाउन पूर्ण रुपले खुलेको ३ महिनाभित्र बनाउन आग्रह गरिएको छ ।

सरकारी भवनमा व्यवसाय गर्नेको हकमा घरभाडामा ५० प्रतिशत छुट दिने घोषणा भएको उल्लेख गर्दै ज्ञापनपत्रका निजी क्षेत्रको सम्बन्धमा घरधनीलाई समेत सोही बमोजिम गराउन समन्वयन गर्न आग्रह गरेको अध्यक्ष पाण्डेले बताए ।

बैंक कर्जा भुक्तानीको समयावधि थप गर्न आग्रह गर्दै ज्ञापनपत्रमा स्थानीय सरकारको समन्वयमा विशेष राहत कोषमार्फत सम्बोधनको व्यवस्था गर्न माग गरिएको छ ।

प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोषको सन्दर्भमा कतिपय व्यवसायीको धितोमा समस्या देखिएको उल्लेख गर्दै ज्ञापनपत्रमा व्यवसायलाई नै मूल्यांकन गरी धितोको रुपमा राखेर ऋण उपलब्ध गराउन आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा गण्डकी प्रदेशका साना तथा मझौला होटल व्यवसायलाई वर्गीकरण गरी स्तर अनुसारको पर्यटन कार्यालयमा दर्ताको व्यवस्था गर्न माग गरिएको छ ।

कास्कीमा पर्यटनको क्षेत्रमा धेरै संघ, संस्था क्रियाशील भए पनि केही निश्चित र सिमित स्थानलाई प्राथमिकतामा राखेको दाबी गर्दै ज्ञापनपत्रमा गण्डकी प्रदेश सरकारले गर्ने पर्यटकीय गतिविधिमा सबै संघ, संस्थालाई समेट्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया