जियुले यी विषय पढाओस्

समाधान संवाददाता २०७८ असार २५ गते १०:५६

सम्पादकीय

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि हरेक क्षेत्रमा नयाँ सम्भावना खोजी गरिँदै छ । गण्डकी प्रदेशमा विश्वमै प्रतिश्पर्धी समकालीन शिक्षा दिने उद्देश्यले सन् २०१९ मा गण्डकी विश्वविद्यालय (जियु) स्थापना भएको छ ।

विश्वको अहिलेको चुनौती सामना गरी नेपालको भविष्य खोज्न सक्ने जनशक्ति तयार गर्न शिक्षण र अनुसन्धान दुवैलाई सँगसँगै लैजाने यो विश्वविद्यालयको ध्येय छ । यो विश्वविद्यालयले आरम्भमा विज्ञान तथा प्रविधिसँगै जनताको जीवनको गुणस्तरलाई उठाउन सहयोग गर्ने अरु विषय पढाउने जनाएको छ ।

Advertisement

दर्जन बढी विश्वविद्यालय रहेको नेपालमा जियुसँगै विश्वविद्यालय पनि थपिँदै छन् । लामो समय त्रिभुवन विश्वविद्यालय र महेन्द्र संस्कृत विश्वविद्यालयले मात्र धानेको नेपालको उच्च शिक्षा प्रणालीमा अहिले ठूलै परिवर्तन भइसकेको छ । अहिलेसम्म नेपालमा निजी क्षेत्रबाट विश्वविद्यालय स्थापना गर्न पाउने कानुन छैन ।

सबै विश्वविद्यालय सरकार र दातृ निकायको अनुदान र विद्यार्थीले तिर्ने शुल्कमा निर्भर छन् । विश्वविद्यालय बन्न केही विषय अध्यापन र विभिन्न संस्थालाई सम्बन्धन दिँदैमा पुग्दैन, सम्बन्धित क्षेत्रमा गहिरो अनुसन्धानको अपेक्षा गरिन्छ ।

Advertisement

ज्ञानको केन्द्र विश्वविद्यालयमा भएका अनुसन्धानले देश र विश्वमै नयाँ कुरा पत्ता लागोस् भन्ने अपेक्षा पनि हुन्छ । भलै नेपालका विश्वविद्यालयबाट यस खालको अपेक्षा अहिले नै गर्न सकिँदैन ।

ऐन निर्माण, पदाधिकारी चयनपछि पूर्वाधार निर्माणसँगै अध्यापन आरम्भ गर्ने तयारी गरेको जियुसँग अनेक अपेक्षा छन् । गण्डकी प्रदेशबाट बर्सेनी ठूलो संख्यामा विद्यार्थी अध्ययनका लागि राजधानी काठमाडौं र विदेश जन्छन् । ती विद्यार्थीले चाहेको र प्रदेशको आवश्यकता अनुसारको शिक्षा प्रदान गर्नु जरुरी छ ।

गण्डकी विश्वविद्यालयले अध्ययन अध्यापन गराउने विषयहरु छानेको छ । प्राध्यापन क्षेत्रका अनुभवी विज्ञहरुले यसबारे तयार पारेको प्रतिवेदन विश्वविद्यालयलाई हस्तान्तरण गरिसकेका छन् । प्रतिवेदन बन्ने, बुझाउने तर कार्यान्वयन नहुने पुरानै रोग नयाँ विश्वविद्यालयमा नदोहोरियोस् भन्ने अपेक्षा गर्नु समीचीन हुन्छ ।

समितिले कृषि, पर्यटन, स्वास्थ्य विज्ञान, खानी इन्जिनियरिङ र सहकारीसँग सम्बन्धित विषय पढाइ पढाउन सुझाएको छ । कृषिमै परनिर्भर हुँदै गएको कृषिप्रधान देशलाई कृषिलाई नवजीवन दिनसक्ने जनशक्ति खाँचो छ ।

स्वास्थ्य क्षेत्रको विकासको शैशवकालमै निजी क्षेत्रको प्रवेशले महंगो र पहुँच बाहिर पुगेको स्वास्थ्य सेवामा लागि पनि दक्ष जनशक्ति अभाव छ । कोरोना महामारीले हामीलाई हाम्रो नाजुक धरातलको राम्ररी महसुस गराइदिएको छ ।

विज्ञान, प्रविधिसँगै कला र विश्व बजारको माग अनुसारका विषय पनि जियुले पढाउन जरुरी छ । जियुले प्रमाणपत्र सिरानी हालेर खाडी जान कोसँग ऋण खोजौं भन्ने युवा पुस्ता तयार गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया