बादलबाटै त्रसित बस्ती

समाधान संवाददाता २०७८ असार २६ गते ११:३३

सिंचाइले पानी कट गरिदिनुप¥यो, हामीले त झनै नहरको व्यवस्थापन गरेका छौंः विमानस्थल
विमानस्थल आयोजनामा ड्रेनेज म्यानेजमेन्ट बुझेको कोही छैनन्, गलत दोष लगाइयोः सिंचाइ

अनिष भट्टराई, पोखरा

पोखरा १४ मझेरीपाटनका लक्ष्मण कार्की बुधबार राति निदाउन सकेनन् । लगातार झरी परेपछि उनलाई निद्रा परेन । ११ बजिसक्दा पनि उनलाई निद्रा नपरेपछि उनी गाउँकै साथीहरुलाई फोन गर्दै थिए ।

उनले आफ्नो घरको आँगनमै पानीको मात्रा बढी देखे । छिमेकीका घरमा पनि पानीले पहिलो तला डुबाउलै जस्तो गरिसकेको थियो ।

त्यस रात आफ्नो घरको पहिलो तला डुबानमा पर्ने उनले आकलन गरेका थिए ।‘पानी परेको प¥यै थियो, निदाउनै सकिनँ, पछि पानीको बहाब धेरै बढेको देखेपछि छिमेकका साथीहरुलाई फोन गरें,’ उनी भन्छन्, ‘चड्याङचुडुङ गरिराको थियो, निस्कनै डर लाग्ने गरी, एकछिन ननिस्कौं भन्ने सल्लाहले डराएर घरैभित्र बस्यौं ।’

पानी झन्झन् बढ्दै गयो । त्यसपछि भने लक्ष्मण घरैभित्र बसिरहन सकेनन् । उनी घरबाहिर निस्के । घरको पहिलो तलामा पानी पसिसकेको थियो । बल्लतल्ल बाहिर निस्के । घरबाहिरको केही अग्लो जमिनमा गएर कार्की परिवार बस्यो । ‘ढलान घर हुनेहरु ढलानमा बसे, ढलान नहुनेहरु त सबै सडकको बास बस्नुप¥यो,’ कार्की भन्छन्, ‘राति बादल खेलेपछि मनमा डर बढेर आउँछ ।’

यो नियति लक्ष्मणले भोग्न थालेको ५ वर्ष भयो । ५ वर्षदेखि चैतमै पनि आफूहरु डुबानमा पर्ने गरेको कार्कीले सुनाए । ‘विमानस्थल बनाउन सम्मा बनाएदेखि हामी चैतमै पनि डुबानमा पर्छौं,’ कार्कीले भने । त्यहाँ ढल र पानीको व्यवस्थापन गर्न पोखरा अन्तर्राष्ट्रिय विमानास्थलले नहरको व्यवस्था गरेको छ । विमानस्थलले नहर बनाएर पानी विजयपुर खोलामा मिसाएको छ । तर नहरले पानी नथेक्दा वस्ती नै डुबानमा परेको कार्कीको दाबी छ ।

‘पहिला त्यहाँ रहेका ४ वटा नहर ब्लक गरेर रनवे बनाए । ४ वटै नहर ब्लक गरेर एउटामात्र नहर बनाएपछि पानी कसरी थेग्छ ?डिपिआरमा त रनवेले ब्लक गरेका ४ नहरको पनि व्यवस्थापन गरिने भन्ने छ भन्ने सुन्छु,’ कार्की थप्छन्, ‘विमानस्थलले सिंचाइलाई दोष दिन्छ, कुलोले पानी नथेग्दा हामी दण्डित हुन्छौं ।’

विमानस्थलले ढलको उचित व्यवस्था नगर्दा आफूहरुको खानेपानी मुहान नै सुकेको कार्कीको आरोप छ । मुहानमा स्थानीयले बनाएको संरचना पनि विमानस्थलले क्षतविक्षत बनाएको उनले बताए । ‘पाइपहरु सबै क्षतविक्षत भए, २५ लाख लागतमा आफैंले बोरिङ बनाएर पानी खाइरहेका छौं,’ कार्की बताउँछन् ।

बुधबार राति पोखरा १४ को साधना मार्ग टोल विकास संस्थाका २५ घर पूरै डुबानमा पर्ने खतरा थियो । तर विमानस्थलले बनाएको नहरबीचमै भत्केर केही पानी अन्यत्र गएपछि बस्ती जोगिएको कार्कीले खुलाए ।

स्थानीको आवाज सुन्न कोही पनि तयार नभएका बेला क्षतिपूर्ति पाउने आशा नरहेको उनले बताउँछन् । ‘विमानस्थलका प्रमुख त सबै मैले गरें, पुरस्कृत हुन्छु भन्दै हामीसँग बोल्नुहुन्न, हाम्रो आवाज सुन्ने कसले ?,’ उनको प्रश्न छ ।

स्थानीय हेमन्त पौडेल पनिआफूहरुको सबै लगानी बर्सेनी पानीले बगाउने गरेपनि विमानस्थल, महानगर मौन रहेको गुनासो गर्छन् ।विमानस्थलले ढल व्यवस्थापन गर्न नसकेको र स्थानीयको मर्का पनि सुन्न नचाहेको उनको आरोप छ । ‘हाम्रा कुरा सुन्न खोज्दैनन्, नहर पनि लामो बनाएर बस्तीबाटै झारेका छन्, नहरको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पनि होल्डमा छ,’ उनले भने । विमानस्थलले बनाएको नहर पनि गुणस्तरहीन रहेको उनको दाबी छ ।

विमानस्थल भने स्थानीयको आरोप गलत भएको र सिंचाइ कार्यालयले पानी नकाटिदिँदा समस्या आएको जिकिर गर्छ । विमानस्थलका इन्जिनियर कृष्ण पौडेल साबिकका नहरमा सिंचाइले पानी नकाटिदिँदा विमानस्थलले दोष पाउने गरेको तर्क गर्छन् ।

सिंचाइको आवश्यकतै नरहेको विमानस्थलमा पानी पठाइँदा समस्या आएको पौडेलले बताए । ‘विमानस्थल बनेपछि पनि पानी आइरहेको छ । सिंचाइले पानी कट गर्नुप¥यो नि,’ पौडेलले भने ।

पानीको स्रोत विमानस्थल नभएको र आफूहरुले झनै पानीलाई व्यवस्थित गरेर खोलामा मिसाएको पौडेलको दाबी छ । ‘मणिपाल, फूलबारीबाट पानी बगेर आउँछ । हाम्रै स्रोत भएको भए पनि एउटा कुरा, हामीले त नहर बनाएर पानीको व्यवस्थापन गरिदिएका छौं,’ उनले भने । स्थानीयलाई विमानस्थलले समस्या नबनाएकाले क्षतिपूर्ति अन्य कुनै निकायले दिनुपर्ने उनको राय छ ।

यता, सिंचाइ कार्यालय, पोखराका प्रमुख किरण आचार्य विमानस्थलमा नहर व्यवस्थापन बुझेको कर्मचारी नै नभएको भन्दै कटाक्ष गर्छन् । सिंचाइको काम सिंचाइ गर्ने भएकाले अन्य कुनै काममा दोष लगाउनु नपर्ने उनको भनाइ छ ।

‘सिंचाइको नामै काफी छ, सिंचाइ गर्ने हो, अरु काममा दोष लगाउनुपर्दैन,’ उनले भने, ‘विमानस्थलमा नहर व्यवस्थापन बुझेको र व्यवस्थापनको क्यापासिटी भएको मान्छे नै छैनन् ।’

अहिले विमानस्थलको काम लगभग अन्तिम चरणमा छ । अबको ६ महिनामा विमानस्थलको काम सकिने आयोजनाका पदाधिकारी बताउँछन् । २०१७ बाट निर्माण सुरु भएको विमानस्थल २२ अर्ब चिनियाँ ऋणमा बनिरहेको हो ।

तपाईको प्रतिक्रिया