देश प्रयोगशाला बन्न दिँदैनौंः पौडेल

समाधान संवाददाता २०७८ असार २६ गते ११:४९

समाधान संवाददाता, पोखरा

विदेशी शक्तिकेन्द्रले नेपाललाई युद्धको रणभूमि बनाउन खोजेको भन्दै राष्ट्रिय युवा संघ नेपालले त्यस्ता क्रियाकलापलाई रोक्न सडक संघर्ष घोषणा गरेको छ ।

युवा संघ अध्यक्ष किरण पौडेलले देशलाई रणभूमि बनाउन परिचालित विभिन्न समूहले सडक कब्जा गर्न नपाऊनभनेर शनिबारदेखि ७ प्रदेशका केन्द्रबाट सडक संघर्ष थाल्ने घोषणा गरे । प्रेस चौतारी नेपाल कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष पौडेलले नेकपा एमाले र सरकारको पक्षमा नभएर नेपाललाई विदेशीको प्रयोगशाला बन्न नदिन देशव्यापी अभियान गर्न लागेको जानकारी दिए ।

Advertisement

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रले पार्टी र सरकारलाई कमजोर बनाएर राजनीतिक अस्थिरता र अराजकता फैलाउन लागेको आरोप लगाउँदै अध्यक्ष पौडेलले पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशहरु क्लब बनाएर पार्टी र सरकार विरुद्ध केन्द्रीत भएको आरोप लगाए ।

विधि, प्रक्रिया विपरीत अप्राकृतिक गठबन्धनका गलत क्रियाकलापलाई युवाले सहेर नबस्ने चेतावनी दिदै उनले युवा सडकमा उपस्थित भएर भण्डाफोर गर्ने उल्लेख गरे ।‘नेपालको दलीय प्रणाली कमजोर र संसदीय प्रणाली भित्रको विकृत पक्षबाट फाइदा उठाउँदै विभिन्न समूह मिसन नै बनाएर देशलाई रणभूमि बनाउन लागिपरेका छन् । बफर जोन बनाउन खोजिएको छ,’अध्यक्ष पौडेलले भने, ‘अब हामी वक्तव्यमा मात्र सिमित रहँदैनांै । युवा संघका सबै गतिविधि सडक केन्द्रीत हुने छन् ।’

Advertisement

उनले युवा संघ सभ्य र शिष्ट भएर सशक्त र प्रभावकारी रुपमा प्रर्दशन गर्ने बताए । आन्दोलन समृद्धिको बाधक तत्वहरु विरुद्ध भएको उल्लेख गर्दै उनले मुलुक राजनीतिक अस्थिरत तर्फ धकेलिदा जनताको सुख, शान्ति र समृद्धिको चाहनामा तुषारापात भएको टिप्पणी गरे ।

अध्यक्ष पौडेलले युवा पुस्ता र भावी सन्ततिको भविश्य सुनिश्चित गर्न ७ प्रदेशका मुख्य केन्द्रमा उपस्थित भएर युवाले आवाज उठाउने बताए । उनले सबै विषय न्यायालयलाई सुम्पने परिपाटी गलत भएको उल्लेख गरे । विपक्षी गठबन्धन कार्यपालिका र न्यायपालिकाबीच द्वन्द्व बढाउन लागेको आरोप लगाउँदै अध्यक्ष पौडेलले अमुक व्यक्तिलाई प्रधानमन्त्री तोक्ने मागसहित न्यायालयलाई प्रभाव पार्न आन्दोलन गरेको दाबी गरे ।

उनले देशव्यापी आन्दोलनका क्रममा न्यायालयलाई प्रभाव पार्ने क्रियाकलापको भण्डाफोर गर्ने उल्लेख गरे । फरक प्रसंगमा अध्यक्ष पौडेलले महाधिवेशनबाट निर्वाचित अध्यक्ष र जनताबाट अनुमोदित प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वीकार नगरेर अर्को पाटीका अध्यक्षलाई प्रधानमन्त्री बनाउने खेल गलत भएको टिप्पणी गरे । उनले अविश्वासको प्रस्तावमा प्रधानमन्त्री ओलीलाई साथ नदिने र पार्टीभित्र आन्तरिक रुपमा छलफल गरेर समस्या सुल्झाउनेभन्दा विपक्षीको लहलहैमा लाग्ने परिपाटी गलत भएको चर्चा गरे ।

‘पार्टी अध्यक्षर माधव नेपालबीच एकता र समझदारी आवश्यक छ,’अध्यक्ष पौडेलले भने, ‘युवा संघ पार्टी एकताको पक्षमा छ।’ ३ वर्ष एकताका नाममा पार्टी भुत्ते भएको र संगठन अस्तव्यस्त भएको दाबी गर्दै उनले अझैपनि पार्टी एकताका नाममा अल्झाउने र पार्टीलाई कमजोर बनाउने खेल भएको आरोप लगाए ।

उनले युवा संघ नेपालले देशव्यापी रुपमा ५ लाख बिरुवा रोप्ने अभियान थालेको जानकारी दिए । उनले कास्की, तनहँु र गोरखामा वृक्षरोपण भएको जनाए । कार्यक्रममा प्रेस चौतारी नेपाल कास्की संयोजक अर्जुन गिरी र सहसंयोजक मोतीसागर अधिकारीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया