नेपाल कम्युनिस्ट पार्टीमा गाली र ताली

समाधान संवाददाता २०७८ असार २६ गते १३:४१

सामन्तवादले आफ्ना सुसारे, हुक्के, बैठकेलाई छोड्न नसकेजस्तै कम्युनिस्ट पार्टीका नेताहरुले आफ्नो परिवार, पद, पैसा र गुटलाई छोड्न सकेनन् ।
धनञ्जय दवाडी

नेपालका राजनीतिक दलहरुमा विवाद छ । राजनीतिका हरेक दलमा गुट छन् । प्रत्येक दलको नेतृत्व निर्माण गुटका महासंघ जस्तो प्रतीत हुन थालेको छ । एकापसमा गालीगलौज, आरोप प्रत्यारोप सामान्य जस्तो देखिएपनि शब्द चयन र प्रस्तुतिले तिनको मनोदशाको प्रतिनिधित्व गर्दछ।

नेतृत्वको मनोदशाका आधारमा नै कार्यनीतिहरुको निर्माण र कार्यान्वयन हुने नेपाल जस्तो मुलुकको भविष्य नेताका व्यवहारमा अडिएको प्रतीत हुनु स्वभाविक नै हो ।नेपाल गणतन्त्रात्मक मुलुक भए तापनि उपरी संरचनामा मात्र परिवर्तन भएको छ ।अन्तर्यमा अझैपनि सामन्तवाद जब्बर बसेको छ ।

Advertisement

व्यक्तिका आनिबानी, सोच, बोलीचाली संस्कार जनित पक्ष पनि हुन् । मान, सम्मान र आदर, अनादर जस्ता कुरा सामान्ती समाजका चरित्र हुन् । सामन्तवाद इज्जतको व्यवस्था पनि हो । सकेपनि नसके पनि इज्जत धान्नुपर्ने व्यवस्था हो ।

पुँजीवादमा व्यक्तिको क्षमता हेरिन्छ । पुँजीवादी गणतन्त्रमा पनि सामान्ती समाजको व्यवहारको खोजी गरिनु स्वयंमा पछौटेपनको प्रदर्शन हो । सामन्ती चरित्र हो ।

Advertisement

नेपालका राजनीतिक दल र तिनका नेताहरुले एक अर्काँलाई होचो देखाउन प्रयोग गर्ने शब्द र त्यसबाट उत्पन्न प्रतिक्रियामा रमाउने स्याडिस्ट चरित्रका कारण नयाँ पुस्तामा राजनीति र नेतृत्वप्रति घृणाभाव मौलाएको छ ।राजनीतिलाई फोहोरी बनाउने बिधि र व्यवहार स्वयं दल र तिनका नेता र कार्यकर्ताबाट भएको छ ।

समकालीन राजनीतिका उतारचढावलाई सामान्य ढंगमा लिनु र सोही अनुसार व्यवहार गरी लक्ष्यमा अविचलित रहनेहरुले नै भविष्यमा आफ्नो मुलुकमा देखिएको संकटको समाधानमा योगदान दिन सकेका छन् । उनीहरुको योग्यताको पुष्टि गरेका छन् । राजनीतिका क्षेत्रमा सबभन्दा धेरै आरोप प्रत्यारोप हुने गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एकीकृत भई नेकपाको निर्माण २०७५ जेठ ३ मा भएपछिका सुरुका दिनहरु हनिमुन मनाइरहेका युगल जोडीझैं प्रतीत हुन्थे ।

जब विस्तारै पार्टी कमिटीहरु निर्माण हुँदै गए, तब नेताहरुले आफ्नो र आफ्नो गुटको सुरक्षामा ध्यान केन्द्रीत गरे ।गुटका सुरक्षामा मात्रै आन्दोलनको भविष्य सुरक्षित देख्ने चिन्तन नै सामन्ती चिन्तन हो । सामन्तवादले आफ्ना सुसारे, हुक्के, बैठकेलाई छोड्न नसकेजस्तै कम्युनिस्ट पार्टीका नेताहरुले आफ्नो परिवार, पद, पैसा र गुटलाई छोड्न सकेनन् ।

सामन्तहरुले आफ्नो खानदान र पुर्खाको आर्जनको धक्कु दिएर समाजमा वर्चश्व जमाउन खोजेझैं कम्युनिस्ट पार्टीका नेताहरुपनि पार्टीलाई आफ्नो निजी आर्जन ठान्ने ठाउँमा पुग्नु भनेको सामान्ती चिन्तन बोकिरहनु हो ।

सामन्तलाई आफ्नो मान र सम्मानमा मात्र ख्याल रहन्छ । मुलुक र राज्य जेसुकै होस् तर आफ्नो र आफ्नाको सुरक्षा महत्वपूर्ण ठान्छ ।जुन सामाजिक संरचनामा व्यक्तिको निर्माण भएको हुन्छ, त्यही सामाजिक चरित्रको प्रतिनिधित्व व्यक्तिले गरिरहेको हुन्छ ।

सामान्ती उत्पादन पद्धतिमा हुर्किएको पुस्ता ज्ञान, चेतना र प्रविधिको प्रयोगमा आधुनिक भएको त हुन सक्छ तर जन्मजात वा हुर्किएको परिवेशले दिएको शिक्षाको भारी बोकेर समाजमा देखा पर्दछ । त्यसका प्रभावले उसले आफ्नो चरित्र बदल्न सक्दैन ।जो सबै खाले राप र तापबाट गुज्रन्छ, उसैले समाजलाई बाटो देखाउन सक्छ । उ नै अगुवा बन्दछ ।

लोकतन्त्रमा दलहरु र तिनका नेतृत्वले प्रयोग गर्ने भाषा र प्रदर्शन गर्ने व्यवहारले समाजको विकासको चरणको प्रतिनिधित्व गर्दछ। नेपालमा कम्युनिस्ट र कांग्रेसहरु नै लामो समयदेखि राजनीतिमा क्रियाशील छन् । तिनका क्रिया र कर्मबाट नै तिनका कार्यकर्ता र जनताले धेरै कुराको जानकारी राख्दछन् । जनता र कार्यकर्ता तिनका अभिव्यक्तिबाट तिनीहरुका व्यक्तित्व निर्माण गर्दछन् ।

लोकप्रिय नेता वा प्रभावशाली नेताको उपमा दिन्छन् । अपेक्षा वा उपेक्षा भाव प्रदर्शन गर्दछन् । नेताहरुपनि लोकरिझ्याइँका लागि बोल्ने गर्दछन् तर कतिपय नेता भीडबाट निर्देशित हुन्नन् ।अर्काको लोकप्रियताबाट आहातपनि हुन्नन् ।जति अपमान सहेरपनि भविष्यदर्शी भएर लक्ष्यमा लागि रहन्छन् ।

विगत १ वर्षमा नेपालका कम्युनिस्टहरुका विवादमा प्रयोग भएको भाषाशैली राजनीतिक र सैद्धान्तिकभन्दा व्यक्तिगत कुण्ठाहरुको चर्चा धेरै भएको छ । सबैभन्दा धेरै पूर्व प्रधानमन्त्री माधव नेपालले अपमान शब्दको प्रयोग गर्नु भएको छ । कम्युनिस्ट आन्दोलनमा विचार मिल्दा कमरेड र विचार नमिल्नेबित्तिकै गद्दार घोषणा गरिनु कुनै अनौठो जस्तो लाग्दैन ।

कार्ल माक्र्सले काउत्स्कीलाई र लेनिनले ट्रोत्सकीलाई गद्दारभनेबाटै नेपाली चेलाहरुले सहजै एकअर्कालाई आरोप प्रत्यारोप गर्ने प्रचलन नै देखियो । नेपालमा केही त्यस्ता घटना छन्, जसलाई व्यक्ति स्वयंले भन्दापनि पछिल्लो पुस्ताले चर्चा गरेका र धारणा निर्माण गरेकापनि छन् ।

पहिलो–नेपाल कम्युनिस्ट पार्टीको संस्थापक महासचिव हुन् ः पुष्पलाल।२०१७ सालको फौजी काण्डपछि नेकपाको पार्टी र राजनीति छिन्नभिन्न अवस्थामा थियो ।२०२५ सालमा पुष्पलालले पार्टीको तेस्रो सम्मेलन गरेर पार्टीलाई गतिशील बनाउन प्रारम्भ गरे ।

पुष्पलालले पञ्चायतका बिरुद्ध संयुक्त मोर्चाको अवधारणाअघि सारे तर मोहनविक्रम सिंहले चाहिँ देशभक्त जनतान्त्रिक शक्तिहरुको सरकारको कार्यनीतिक नाराअघि सारे ।

पञ्चायत विरोधी आन्दोलनलाई नै कमजोर बनाउने गरी अघि सारिएको मोहनविक्रम दृष्टिकोणको आलोचना पुष्पलालले गरेपछि मोहनविक्रमले गद्दार पुष्पलाल लेखे ।समयक्रममा पुष्पलाल सही ठहरिए, उनैको नीतिमा नेपालको राजनीतिक परिवर्तन भयो । मोहनविक्रममा झैं व्यक्तिगत आग्रह र कुण्ठाका आधारमा पुष्पलालले धारणा निर्माण गरेका भए उनी नेपालका आदरणीय नेता बन्दैनथे ।

दोस्रो– राणाविरोधी क्रान्ति सफल भयो । क्रान्तिका अगुवा बिपी कोइराला थिए ।अन्तरिम सरकार निर्माण भयो ।त्यस सरकारमा प्रधानमन्त्री मोहन शमसेर थिए ।बबरशमसेर रक्षामन्त्रीका रुपमा दोस्रो नम्बरका मन्त्री थिए ।

बल्ल तेस्रो नम्बरमा गृहमन्त्रीका रुपमा बिपी कोइराला थिए। यो बिपीको मात्र अपमान थिएन, सिंगो क्रान्तिको अपमान थियो तर बिपीले यो तिक्ततालाई पचाए, चर्चा गरेनन्, तब न उनी राजनेता ठहरिए ।

तेस्रो– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल हुन् ।उनी पार्टीको प्रथम सम्मेलनबाट महासचिव निर्वाचित भएका थिए । पुष्पलालसहित तुलसीलाल, मनमोहन अधिकारी, डिपी अधिकारी र शैलेन्द्रकुमार उपाध्याय रहेको पोलिटब्युरो थियो ।

त्यही पोलिटब्युरोको बैठकले पार्टी महासचिवबाट पुष्पलाललाई हटाएर मनमोहन अधिकारीलाई महासचिव बनायो । केन्द्रीय कमिटीको बैठकसम्म यो बिषय चर्चामा ल्याइएन । बरु पुषपलालले पार्टीका साथीहरु अपरिपक्व भएसम्म भने तर कुनै गुनासा गरेनन्, तब न उनी कम्युनिस्टहरुका आदर्श नेता बनेका छन् ।

चौथो–२०५०मा मदन भण्डारीको हत्यापछि रिक्त भएको काठमाडौंको निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई उम्मेदवार थिए । नेपाली कांग्रेसकै अर्का नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।

कोइरालाले भट्टराईको उम्ममेदवारीलाई सहज रूपमा लिन सकेनन् र आफ्नै सभापतिका विरुद्ध सरकारी सञ्चार माध्यमबाट विरोधी वक्तव्य प्रसारण गरे ।आफ्नै पार्टीको सरकार र तिनका साधनबाट त्यही पार्टीका सभापतिका विरुद्ध गरिएको अपमानजनक व्यवहार संसारमा नै दुर्लभ घटना हो ।यस्तो अपमानपनि भट्टराईले पचाए ।

पाँचौ–२०५१ को मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पटक नेपालमा कम्युनिस्ट सरकार गठन भयो ।यो सरकार क्रान्तिपूर्व बनेको ऐतिहासिक सरकार थियो । त्यसअघि दुनियाँका कम्युनिस्टहरुले क्रान्तिपूर्व सरकार बनाएका थिएनन् ।सबैको उत्सुकता र चासोका रुपमा यो सरकारलाई हेरिएको थियो ।
यही सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीलाई एउटापनि मन्त्रालय नदिई अपमान गरियो । माधवकुमार नेपाल पार्टी महासचिव थिए, सरकारका उपप्रधान मन्त्रीपनि थिए। यिनैले मनमोहनलाई अपमान गरे तर मनमोहनले कहीं कतै केही बोलेनन् ।तर माधव नेपालको २१ महिने सरकारको भन्दा मनमोहनको ९ महिने सरकार जनताको मनमनमा बसेको छ ।

छैटौं–२०५२ साल प्रधानमन्त्री थिए–मनमोहन अधिकारी ।बर्दियाको बाढीग्रस्त क्षेत्रको अवलोकन भ्रमणमा जाँदा हेलिकप्टर दुर्घटनाबाट बालबाल बचेर काठमाडौ्र महाराजगञ्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आइसियुमा उपचाररत थिए ।

उपचारबाट सामान्य बनेपछि संसद बैठक बोलाउने शालिन आग्रह अस्वीकार गरेर विशेष महाधिवेशनमा अविश्वासको प्रस्ताव शेरबहादुर देउवाले गरे । यतिमात्रै होइन, ती वृद्ध नेतालाई अस्पतालको शड्ढयाबाटै अविश्वासको प्रस्तावको जवाफ दिन बाध्य पारियो ।

मुलुकको प्रधानमन्त्री दुर्घटनामा परेर बाँचेर आएको छ, उपचारमा केही समय दिने भन्ने मानवीयतापनि तत्कालीन प्रमुख प्रतिपक्षीसँग रहेन। उनलाई अपमान गरेर सत्ताबाट विस्थापन गरियो । तर आज नेपालमा उनको ९ महिने कार्यकाल बारम्बार स्मरण गरिन्छ ।

सातौं–२०५२ भदौमा सर्वोच्च अदालतले संसदको पुनस्र्थापनको फैसला गरिदिएपछि नेपालको राजनीति अस्थिरतामा गयो । अस्थिर वातावरणकै बीचमा २०५६ सालको आमनिर्वाचन हुने भयो ।आम निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर कांग्रेसले निर्वाचनमा बहुमत ल्यायो । निर्वाचनमा बहुमत प्राप्त भएपछि स्वभाविक रुपमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने ।

तर प्रधानमन्त्री बनेकै दिनपछि यिनले आफ्नै पार्टीको विरोधको सामना गर्नु प¥यो । राणा प्रधानमन्त्रीपछि नेपालबाट फ्रान्सको भ्रमण भएको छैन, त्यो भ्रमण गरेर पर्किएपछि राजीनामा गर्छु भन्दापनि गिरिजाप्रसाद कोइरालाले धर नदिएछि अत्यन्तै भावुक वक्तव्य दिएर सरकारबाट बाहिरिएका थिए कृष्णप्रसाद भट्टराई। उनले यो अपमानलाई पनि सहज नै ठाने र नेपाली कांग्रेसको विभाजनलाई अस्वीकार गरे । यसैले उनी सन्तराजनेता बने ।

आठौं–२०६२ को जनआन्दोलनपछि माओवादीसँग शान्ति सम्झौता गरेकाले गिरिजाप्रसाद कोइराला चर्चाको शिखरमा थिए । विद्रोहका नायकका रुपमा प्रचण्डको चर्चा चुलिइसकेको थियो । अन्तरिम संविधान र अन्तरिम सरकार हुँदै माओवादीहरु मूलधारको राजनीतिमा क्रियाशील हुँदै थिए ।

माओवादीका प्रचण्डसँग मिलेर काम गर्दा सहज हुने ठानेर गिरिजाप्रसाद कोइराला नेकपा एमालेलाई कम महत्व दिन्थे ।मानौं प्रचण्ड र कोइराला एक सिक्काका २ पाटामात्र हुन् भने झैं व्यवहार हुन्थ्यो ।

माओवादीहरुले भावी राष्ट्रपतिका रुपमा गिरिजाप्रसाद कोइरालाको चर्चा गरेकै थिए । कांग्रेसजन यसैमा दंग थिए ।२०६४ को आम निर्वाचनको परिणामपछि रत्नपार्कमा प्रचण्डको भाषणले झस्का त दिएकै थियो तरपनिजनआन्दोलन र शान्तिप्रक्रियामा खेलेको भूमिकाका कारण गिरिजाप्रसाद आफूलाई राष्ट्रपतिको स्वभाविक हकदार ठन्न थालेका थिए ।

तर माओवादीले गिरिजाप्रसाद कोइरालालाई कुनै हालतमा राष्ट्रपति मान्न नसकिने जवाफ दिएर अपमान गरेको थियो ।यस अपमानको बदला गिरिजाप्रसाद कोइरालाले सत्ता हस्तान्तरण नगरेर लिए ।

उता नेकपा एमालेलाई सुरुमा राष्ट्रपति बनाउन सहमत भएको माओवादी पार्टी उम्मेदवार उठाउने दिन समर्थन लिन गएका नेकपा एमालेका पार्टी अध्यक्ष झलनाथ खनाललाई माओवादीको निर्णयले निराशमात्र बनाएन,त्यो अपमानले उनी बिरामी नै भए । उनलाई ज्वरोले च्याप्यो ।

निर्वाचनमा २ ठाउँबाट पराजित माधव नेपाललाई राष्ट्रपति बनाउन माओवादी पार्टी तयार भएको थिएन । तर पुषपकमल दाहालको राजीनामा पछिको २१ महिना सरकारको नेतृत्व माधव नेपालले गरे । इतिहासका यी पात्र नै आज शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गठबन्धनमा हलजोडी छन् ।

नेपालमा मात्र नभई अन्यत्र पनि यस्ता उदाहरण पाइन्छन् । रसियाली क्रान्तिका दिनमा स्तालीनद्वारा बेला बेला अपमानित माशसल जुकोभले इख लिएनन्; राष्ट्ररुका लागि समर्पित रहे । दोस्रो विश्वयुद्धमा हिटलरका विरुद्ध लडेर मुक्तियोद्धा बने।

यस्तै सांस्कृतिक क्रान्तिमा सताइएर अपमानित चिनियाँ प्रधानमन्त्री चओअनलाइले माओको मृत्युपश्चातका उथुलपुथलकारी घटना क्रममा चीन र चिनियाँ जनतालाई सम्हाले ।

त्यसैगरी माओकै आदेशमा पछौटै गाउँमा सुँगुरको हेरचाह गर्न बाध्य बनाइएका तेङस्याओपिङले कुशलताका साथ चीनको श्रीवृद्धि गरे र वर्तमान चीनका चमत्कारिक नेता बने । चिनियाँ जनताका प्यारा नेता बने । नेपाली कम्युनिस्ट पार्टीका नेताले झैं आफ्ना नेता र नेतृत्वका विरुद्ध प्रतिपक्षी र विदेशी गुहारेका भए रुस र चीनको आज अवस्था कस्तो हुँदो हो ?

इतिहास कहीं कतै पुनरावृत पनि हुन सक्ने खतरा देखियो । सन् १९९० अगस्ट१९ तारिखका दिन सोभियत संघको स्टेट कमिटी अफ इमर्जेन्सीका कुल ८ जना सदस्यले पार्टीका उपाध्यक्ष गेन्नाडी एनायभको नेतृत्वमा मिखाइल गोर्वाचोभका विरुद्ध कू गरे । सरकार पार्टी र केजिभिको सहयोगमा गरिएको यो कू ३ दिन पनि टिकेन ।

उक्त घटनामा भ्यालिन्टिन पाब्लोभ प्रधानमन्त्री, बोरिस पुगो गृहमन्त्री, दिमित्री याजोव रक्षामन्त्री, भ्लादिमिर कुजोभ केजिभी अध्यक्ष, ओलेक बाक्लाजोभ सुरुक्षा परिषद्को प्रथम उपप्रमुख,भासिलिस्टारोदुत्सेभ सोभियत किसान संघका अध्यक्ष र अलेकजेन्डर तिज्याकोभ सोभियत राज्य उद्योग संघको अध्यक्ष थिए ।

कू असफल भएर पक्राउ पर्नुअघि नै गृहमन्त्री पुगोले आत्महत्या गरेका थिए ।अरु सबै जेल चलान भए तर आश्चर्य त के छ भने त्यस कूको नेतृत्व गर्ने एनायभले ३ वर्षपछि बोरिस यल्सिनद्वारा माफी पाएर जेल मुक्त भए ।

राष्ट्रपति मिखाइल गोर्वाचोभ विरुद्धको उक्त कूले सोभियत संघको विभाजन, अक्टोबर क्रान्तिद्वारा स्थापित गरेको समाजवादी सत्ताको अन्त्य गरेर यल्सिन⁄पुटिनको उदय गरायो । कुका नाइकेले आममाफी पाए सोभियत संघको पतनपछि त्यहाँ कम्युनिस्ट सत्ता इतिहासको बिषय भएको छ । कम्युनिस्ट पार्टीको सत्तालाई यस्ता खाले कू र षड्यन्त्रले विस्थापित गरेका उदाहरण धेरै छन् ।

नेपालमा पनि विगत १ वर्षदेखिको सत्ता संघर्षमा नेकपाका दोस्रा अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेता पूर्व प्रधानमन्त्री माधव नेपाल, वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष र पार्टी सचिवालयका नेताहरु संलग्न छन् । पार्टी नेतृत्वका बहुमत सदस्यद्वारा सुरु गरिएको यो संघर्षले नेकपा त बिभाजन गरिसक्यो ।नेकपा एमालेलाई बिभाजन गर्न खोजिएको छ ।

यो संग्राममा कम्युनिस्टहरु मात्रै संलग्न छैनन्; यसमा त प्रमुख प्रतिद्वन्द्वी पार्टीका नेतालाई प्रधानमन्त्रीमा अघि सारिएको छ । देशका पूर्वप्रधानमन्त्री भई सकेकाले पनि अशोभनीय वक्तव्य जारी गरेका छन् ।

यति बेला मुद्दा सर्वोच्च अदालतमा पुगेको भएपनि प्रारम्भ कम्युनिस्ट पार्टीबाटै भएथ्यो । यसैले कतै नेपालमा कम्युनिस्ट पार्टी र उसको नेतृत्वको सरकार इतिहासमात्र हुने त होइन? अपमान र आरोपबाट सुरु भएको यो आन्दोलनले पुगेको क्षतिको भविष्यमा मूल्यांकन हुने नै छ ।

(नेकपा एमाले लमजुङ अध्यक्ष दवाडी गण्डकी प्रदेशका सांसद पनि हुन्)

तपाईको प्रतिक्रिया