कांग्रेस सरकारले भ्रष्टाचार सुरु गर्यो, अब सत्ता साझेदारलाई झुक्याउने दाउ कुर्दैछः पृथ्वीसुब्बा गुरुङ

समाधान संवाददाता २०७८ असार २६ गते १९:१४

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचार सुरु गरेको आरोप लगाएका छन् ।

नेकपा एमाले संसदीय दल, गण्डकीको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले कांग्रेस सरकारको सुरुवात भ्रष्टाचारबाट भएको बताए । ‘गैरबजेटरी खर्च गर्नु भ्रष्टाचारको सुरुवात हो, उहाँहरुले सुरुवात गरिसक्नु भयो,’ गुरुङको भनाइ छ । चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहँदा कांग्रेस नेतृत्वको सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरेको तथ्य बाहिरिएको थियो ।

यसअघि गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री कुमार खड्काले गुरुङ नेतृत्वको सरकारले जाँदाजाँदै ४ अर्ब ५१ करोड रकमको ठेक्का प्रक्रिया अघि बढाएको आरोप लगाएका थिए । ठेक्का प्रक्रिया सुरु गरे गण्डकी प्रदेशमा बजेट नै बाँकी नरहने उनको तर्क थियो ।

Advertisement

मन्त्री खड्काको अभिव्यक्तिलाई पृथ्वीसुब्बा गुरुङले सरासर झुठ रहेको बताउँका छन् । वर्तमान सरकारले पूर्ववर्ती सरकारका वहुवर्षीय योजनालाई अघि नबढाउन बहानाबाजी गर्दै यस्ता तर्क दिएको उनले बताए ।

सरकारको नेतृत्व परिवर्तन भएपनि लक्ष्य एउटै भएकाले यसअघि सुरु भएका बहुवर्षीय योजनालाई निरन्तरता दिन गुरुङले आग्रह गरे । ‘उहाँहरु पुराना योजनालाई अघि बढ्न नदिन बहानाबाजी गर्दै हुनुहुन्छ, सरकार परिवर्तन सामान्य कुरा हो । पात्र मात्र भिन्न हुने हो, लक्ष्य हामीसबैको एउटै हो,’ गुरुङले भने ।

Advertisement

यसअघिको सरकारले दिगो विकासका लक्ष्य, अल्पकालीन, मध्यकालिन योजना पूरा गर्ने गरी कार्यक्रम अघि बढाएकाले ती योजनालाई बीचमै नछाड्न गुरुङको सुझाव थियो । ‘कार्यान्वयनका चरणमा रहेका बहुवर्षीय योजनालाई नकाट्न आग्रह गरेको थिएँ, बीचमै ती योजनालाई छाडिदिए हाम्रा लक्ष्य कहाँ पुग्छन् ?’ उनको प्रश्न छ ।

गुरुङ सरकारले जाँदाजाँदै अर्बौंको ठेक्का लगायो भन्नु सफेद झुठ रहेको गुरुङको तर्क थियो । बहुवर्षीय योजनालाई एकसाथ टेण्डर प्रक्रियामा लैजाँदा धेरै बजेट एकसाथ आवश्यक पर्ने र बजेट अपुग हुने भएकाले खण्ड–खण्डमा लगिएको उनी बताउँछन् ।

‘अर्बौंका ठेक्का एकसाथ कार्यान्वयन गर्दा अरु योजना प्रभावित हुन्छन् । त्यसकारण खण्ड–खण्ड बनाएर गरेका थियौं । जाँदाजाँदै अर्बौंको टेण्डर गरेको आरोप लगाइएछ । विकास बच्चाको खेल होर ?’ उनी कड्किए । आफ्नो नेतृत्वको सरकारले गरेका केही गलत काम भए सार्वजनिक गर्न उनको चुनौती थियो ।

अहिलेको सरकारले अँध्यारो कोठामा बसेर शासन गरेको उनको आरोप छ । ‘वान म्यान क्याबिनेट’ बनाएर अँध्यारो कोठामा बसेर शासन गरेको र सत्ता साझेदार दलहरुलाई झुक्याउने दाउ खोजेको गुरुङले बताए । ‘दाउ हेरिरहेको देखिन्छ, कांग्रेसले । क्याबिनेट कलेक्टिभ हुनुपर्ने हो, वान म्यान सो बनाइएको छ । अँधेरो कोठामा बसेर षडयन्त्र गरिएको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया