खानेपानीको कामले अस्फाल्ट पिचमा ढिलाइ

समाधान संवाददाता २०७८ असार २७ गते १२:५७

खानेपानी परियोजनाको ५१ प्रतिशत काम सकियो, दसैंअघि नै असफाल्टको काम
सञ्जय रानाभाट, पोखरा
विगतका वर्षका बर्खा याममा पोखराका अधिकांश ठाउँमा सडकमाखाल्डा हुन्थे । गत स्थानीय तह निर्वाचनमा पोखरा महानगर प्रमुखको उम्मेदवार हुँदै मानबहादुर जिसीले सडक सुधारलाई चुनावी एजेन्डा बनाए । चुनाव जितेपनि । तर उनको आधा कार्यकालसम्म पनि सडकले रुप फेर्न सकेन ।

३ वर्षसम्म गति नलिएको सडक निर्माणले ६ महिनाअघि भने एकाएक गति लियो । पोखरामा नयाँ प्रविधि अर्थात् अस्फाल्टमार्फत् पिच गर्न थालियो । हिलाम्मे हुने सडक अहिले चिल्ला देखिन्छन् । यसपछि भने पोखरा महानगरका प्रमुख जिसीले केही स्याबासी पाए । ‘३ वर्षसम्म गाली खाइयो, अब २० वर्ष ढुक्क हुने गरी सडक बनेका छन्,’ अस्फाल्ट आएपछि प्रफुल्लित हुँदै जिसीले भनेका थिए ।


जिसीले अझै खुसी बाँड्न पाउँथे होलान्, जब न्युरोडकै जस्तो अस्फाल्ट पिच अन्त पनि हुन्थ्यो । हुनेवाला पनि थियो । तर अहिले भएको छैन । कारण—खानेपानी संस्थान अन्तर्गत भइरहेको कामले महानगरपालिकाले निर्माण गर्ने भनेको अस्फाल्ट पिचको काममा भाँजो हालेको छ ।
योजनाअनुसार काम भइदिएको भए अहिलेसम्म महेन्द्रपुल, नयाँबजार, रानीपौवा, केआइसिंहपुलसम्मका सडकमा अस्फाल्ट पिच भइसक्थ्यो । ती सडकमा अस्फाल्ट गर्ने ठेक्का पाएको निर्माण कम्पनी इलाइट कन्स्ट्रक्सनका राजु रानाभाट भन्छन्, ‘खानेपानीले जताततै खाल्डामात्रै खनेको छ, हामीले पिच गर्न पाएका छैनौं ।’

Advertisement


अहिलेसम्म ४ प्रतिशतमात्र काम सकिएको रानाभाट बताउँछन् । न्युरोडदेखि चिप्लेढुंगा र रानीपौवाको केही भाग गरी जम्मा ४ प्रतिशतमात्र काम सकिएको हो । खानेपानी परियोजनाका कारण अपेक्षित काम हुन नसकेको रानाभाटले बताए । ‘केही ठाउँमा काम सम्पन्न भएपनि खानेपानी परियोजनाका कारण हामीहरुलाई काम गर्न अप्ठेरो प¥यो,’ उनले भने, ‘खानेपानीको पाइप लगायत टंकी बनाउने कामले गर्दा ढिला भएको हो ।’

पोखराभित्रका सडक मर्मत गर्न महानगर, प्रदेश सरकार र सडक विभागले संयुक्त लगानीमा २७ किलोमिटर अस्फल्ट पिच गर्ने निर्णय गरेका थिए । गण्डकी प्रदेश सरकारले पृथ्वीचोकदेखि जिरोकिलोमिटर, लेकसाइड हुँदै मुस्ताङचोकसम्मको सडक अस्फाल्ट गरिसकेको छ । सडक विभागले राष्ट्र बैैंक चोकदेखि नयाँ बजार र नयाँ बजारदेखि महेन्द्र पुलसम्मको सडक अस्फाल्ट गर्ने योजना हो ।

Advertisement

यसमध्येअमरसिंह चोकदेखि हस्पिटल चोक, न्युरोडदेखि महेन्द्रपुलहुँदैकेआइसिंह पुल, केआइसिंह पुलदेखि महेन्द्रगुफासम्मको ९ किलोमिटरको सडक महानगरले अस्फाल्ट गर्ने योजना बनायो। महानगरले इलाइट कन्सट्रक्सनसँग सडक निर्माणका लागि सम्झौता गरेर काम सुरु ग¥यो । तर सँगसँगै खानेपानीको काम पनि सडकमै भइरहँदा अस्फाल्टको काममा अवरोध पुगेको छ ।

पोखरामा जापानीसहयोग नियोग (जाइका)ले खानेपानी वितरण सुधार परियोजनाका लागि कामगरिरहेको छ। खानेपानीको समस्यालाई परिपूर्ति गर्न नेपाल सरकारलाई ४ अर्ब ५२ करोड अनुदान जाइकाले सहयोग गरेको थियो । २०१९ सालबाट सुरुभएको आयोजनामा ढिलाइ हुँदा अर्को ठूलो आयोजना असफाल्ट पिच पनि ठप्प भएको हो

नेपाल खानेपानी संस्थानका इन्जिनियर सन्तोषकुमार दास अहिले केही कामदार कम भएपनि कामदार थपेर छिटो सक्ने गरी काम गरिएको बताउँछन् । कोरोना भाइरसका कारण लगाइएको पहिलो लकडाउनमा खानेपानीको काम ९ महिना रोकिएको थियो । दोस्रो लकडाउनमा केही कामदार घटेकाले समस्या आएको उनले बताए ।

पहिलो लकडाउनका बेला आयोजनाले केबल मर्मतसम्भारको काम मात्र गरेको थियो । दोस्रो लकडाउनमा आयोजनाका २ सय कामदार कम भएका छन् । ‘यो लकडाउनमा काम रोकिएन । फुलफेजमा काम गर्दा ४/५ सय मान्छे हुन्थे। अहिले ३ सय मान्छेले काम गरेको अवस्था हो, अब छिट्टै मान्छे थप्दै छाै‌‌‌‍‌, ’उनले भने ।

खानेपानीको अहिलेसम्म ५१ प्रतिशत काम सकिएको छ । यसका लागि जाइकाले अन्य निकायसँग पनि समन्वय गरिरहेको दास बताउँछन् । पाइपलाइनको ४० प्रतिशत, फूलबारी, कोलपाटन र पस्र्याङमा रहेका रिजरभेसनको ८० प्रतिशत र ट्रिटमेन्ट प्लान्टको ७० प्रतिशत काम सकिएको दासले जानकारी दिए ।
क्याप्सनः महेन्द्रपुलमा खानेपानीको पाइप बिच्छ्याएर पिच हुन बाँकी रहेको ठाउँ

तपाईको प्रतिक्रिया