मंगलबार गण्डकीमा कसले लगाउन पाउँछ खोप ?

समाधान संवाददाता २०७८ असार २८ गते २१:०३


समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा मंगलबार भेरोसेल खोप लगाइँदैछ । चीनबाट सरकारले किनेर ल्याएको भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइने भएको छ ।

विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ ।
गण्डकी प्रदेशका लागि १ लाख १२ हजार खोप आएको छ । अमेरिकी खोप पनि सोमबार नेपाल आइपुगेको छ । उक्त खोप भने ५० देखि ५४ वर्ष उमेर समूहका मानिस तर पहिलो डोज लगाउन बाँकी भएकाहरूले पाउनेछन् ।

Advertisement

‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरूलाई पनि सरकारले जोन्सन एण्ड जोन्सनको खोप लगाउने भनेको छ । साथै हाल नेपालमा बसिरहेका शरणार्थीहरूलाई पनि अमेरिकी खोप नै लगाइने भएको छ । त्यसबाहेक यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूले पनि यहीँ खोप लगाउन सक्नेछन् ।
उमेर समूहमा पर्ने मानिसहरूले उमेर खुल्ने आधिकारिक प्रमाणपत्र (नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र र सो पनि नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात) देखाएर खोप लगाउन सक्नेछन् । प्राथमिकताभित्र परेका अन्य क्षेत्र र पेसाका मानिसहरूले पनि सम्बन्धित क्षेत्रको आधिकारिक प्रमाण पत्र देखाएर खोप लगाउन सक्ने भनिएको छ ।
सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । सोही अन्तर्गत पहिलो लटमा ८ लाख डोज खोप आएको हो । बाँकी खोप पनि चरणचरण गरेर छिट्टै आउने भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया