पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल खोल्ने

समाधान संवाददाता, पोखरा
लामो समयदेखिको सपना साकार पार्दै पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल स्थापना गर्ने भएको छ । विश्वविद्यालयको सोमबार बसेको २१ औं साधारण सभाबाट उक्त निर्णय गरिएको उपकुलपति प्राडा प्रेमनारायण अर्यालले पत्रकारहरुलाई जानकारी दिए ।
प्राडा अर्यालले मागमा आधारित कार्यक्रमहरु सञ्चालन गर्ने, अनुसन्धान बढाउने र विद्यार्थी कल्याण तथा अतिरित्त क्रियाकलाप निर्देशनालय खोल्ने लगायत निर्णय गरेको पनि सुनाए ।
रजिस्ट्रार दीपक भण्डारीले आगामी आर्थिक वर्षका लागि १ अर्ब १९ करोड १० लाख रुपैयाँ बजेट पारित गरिएको जानकारी दिए । ‘शिक्षण अस्पताल खोल्ने कुरा पहिला भएर पनि बजेट छुट्टिएको थिएन, यसपालि २१ करोड रुपैयाँ छुट्टिएको छ,’ उनले भने ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पसहरु रहेको ठाउँमै शिक्षण अस्पताल सुरु गर्ने योजना भण्डारीले सुनाए । उनकै भनाइमा अहिले सञ्चालित कार्यक्रमहरुलाई पोखरा ३० मुसेटुँडामा सार्ने योजना छ । ‘त्यहाँ ५ हजार विद्यार्थी अध्ययन गर्न सकिने पूर्वाधार बनाउँदै छौं,’ उनले भने ।
आउँदो ६ महिनाभित्रै शिक्षण अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको रजिस्ट्रार भण्डारीले बताए । ‘टहराबाटै भए पनि शिक्षण अस्पताल सुरु गर्छाैं, १० बेडको पनि सुरु हुन्छ,’ उनले भने । विश्वविद्यालयले १ सय बेड क्षमताको अस्पताल बनाउने योजना राखेको छ ।
विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायका डिन डा अमर नागिलाका अनुसार अहिले नै पढाइ भइरहेका चिकित्सा तथा स्वास्थ्यका कार्यक्रमकै लागि पनि अस्पताल आवश्यक छ । उनले विश्वविद्यालयमा स्वास्थ्यका ५ वटा कार्यक्रम स्नातक तहमा मात्रै सञ्चालनमा रहेको जानकारी दिए ।
विश्वविद्यालयमा अहिले बिएस्सी नर्सिङ, बिफर्मा, पब्लिक हेल्थ, मेडिकल ल्याब टेक्नोलोजी र फिजियोथेरापीको पढाइ हून्छ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्वास्थ्यका कार्यक्रम पढाइ गर्न आफ्नै शिक्षण अस्पताल चाहिने प्रावधान राखेको छ । अहिलेसम्म पोखरा विश्वविद्यालयले पोखरामै सञ्चालित सरकार अस्पतालहरुमा समन्वय र सहकार्य गरी विद्यार्थीलाई अभ्यासको मौका दिँदै आएको छ ।
उपकुलपति अर्यालले विश्वविद्यालय सञ्चालनको स्रोत आफैं पनि जुटाउनुपर्ने भए पनि नाफा नहुने विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए । साधारण सभाले उत्कृष्टता एवं अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि उच्च शिक्षाको उद्देश्य अनुकुल शैक्षिक कार्यक्रम सञ्चालन, परीक्षा प्रणालीको व्यवस्था, शैक्षिक क्यालेन्डरको पालना, उपयुक्त शैक्षिक वातावरण सिर्जना, महाविद्यालयहरुको क्षमता वृद्धिका लागि आंगिक कार्यक्रम विस्तार गर्ने लगायत निर्णय गरेको सूचना अधिकृत लोकप्रसाद ढकालले जनाए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया