मुस्ताङमा उच्चघनत्वको २६ हजार स्याउ बिरुवा बितरण

समाधान संवाददाता २०७८ असार ३१ गते १०:२८


एसके थकाली \ जोमसोम

गण्डकी प्रदेश सरकारको भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार हिमाली जिल्ला मुस्ताङमा २६ हजार ३ सय ७८ वटा ईटालियन उच्चघनत्वको स्याउका बिरुवा बितरण गरेको छ । मुस्ताङमा गण्डकी प्रदेशले यसवर्ष अहिलेसम्मकै ठुलो परिमाणमा साढे २ करोड मुल्य बराबरको उच्चघनत्वको स्याउ बिरुवा बितरण गरेको हो ।

गण्डकी प्रदेशले ठेक्का सम्झौता मार्फत ईटालीबाट आयात गरी ल्याईएको उच्चघनत्वको स्याउका बिरुवा मुस्ताङ ल्याएर अनुदान सहुलियतमा बितरण गरेको हो । मुस्ताङका विभिन्न किसान,समूह,सहकारी र स्याउ फार्महरुले यसअघि गरेको बिरुवा मागका आधारमा प्रदेशले उच्चघनत्वको स्याउ बिरुवा बितरण गरेको बताईएको छ ।

Advertisement

गत जेठ महिना भित्रै बिरुवा बितरण गरिनु पर्ने भनीएपनि कोरोना कहरका कारण मुस्ताङका किसानलाई ढिलो गरी बितरण गरिएको हो । यसका लागि गण्डकी प्रदेशको भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत बागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली ,ईन्टिग्रेटर सप्लायर्सका प्रतिनिधि सिकेन्द्र शाह बानिया लगायतको टोलीले ७ वटा ट्रकमा बिरुवा ढुवानी गरी मुस्ताङ ल्याएर स्याउ किसानलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयले अघिल्लो वर्ष झै यसवर्ष पनि मुस्ताङका विभिन्न किसान समुहहरुलाई मागका आधारमा उच्चघनत्व प्रविधिमा आधारित बगैचा व्यवस्थापन गर्ने उद्देश्यले एम ¬—९ रुट स्टक कलमी गरिएकाको ५ प्रकारका बिरुवा किसानलाई बितरण गरेको हो । मन्त्रालय यसपटक आफैले प्राविधिक तथा प्रतिनिधि टोली खटाएर मुस्ताङका विभिन्न २६ वटा स्याउ किसान समूहलाई अनुदानमा बिरुवा बितरण गरेको जनाएको छ ।

Advertisement

गण्डकी प्रदेशको भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुस्ताङका स्याउ किसानलाई छिटो,छरितो उत्पादन दिनसक्ने बैज्ञानिक प्रविधिको फुजी,गाला,गोल्डेन ,जोना प्रिन्स र किङ रोड जातका स्याउका बिरुवा अनुदानमा उपलब्ध गराएको मन्त्रालयमा कार्यरत बागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार ईटालीमा उत्पादन गरिएको उच्चघनत्वको एम—९ रुट स्टक कलमी गरिएको स्याउका बिरुवा ढुवानीको संम्पूर्ण जिम्मा ईन्टिग्रेटर सप्लायर्सले ठेक्का मार्फत बितरणको जिम्मा लिएको थियो । सप्लायर्सका प्रतिनिधि सिकेन्द्र शाह बानियाका अनुसार प्रदेश सरकारसंग ठेक्का सम्झौता भई २६ हजार ३ सय थान उच्चघनत्वको स्याउ बिरुवा मुस्ताङ ल्याएर बितरण गरेको बताए ।

सप्लायर्सले ईटालीबाट ल्याईएको स्याउको बिरुवाको मुल्य मुस्ताङ आईपुग्दा प्रति गोटा ९ सय ५९ रुपैया पर्न गएको जानकारी दिए ।
पछिल्लो समय मुस्ताङका किसानले परम्परागत स्याउ खेती भन्दा आधुनिक प्रकारको स्याउ खेतीतर्फ आर्कर्षित हुन थालेका छन् । केही वर्ष अघि मनाङमा उच्चघनत्वको स्याउ खेतीको परिक्षण सफल भएपछि मुस्ताङका किसान उच्चघनत्वको स्याउ खेती गर्न लालायित बनेका हुन् । संघ तथा प्रदेशले अनुदानमा उपलब्ध गराएको उच्चघनत्वको स्याउ खेती पछिल्लो समय परीक्षण सफल बन्न थालेपछि किसानहरु त्यसतर्फ आकर्षित भएको पाईएको छ ।

वर्षो पुराना परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छोडेपछि त्यसको बदलामा छिटो÷छरितो फल्ने उच्चघनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो ।यस्तै, मुस्ताङका खेर गईरहेको बाँझो जमिनमा समेत अहिले आधुनिक प्रविधिको उच्चघनत्वको स्याउ खेती सुरु गर्न थालिएको छ ।

मुस्ताङका स्याउ किसानले धमाधम आधुनिक प्रविधिको स्याउ खेती गर्न सुरु गरेको र यसमा संघ तथा प्रदेश सरकारले अनुदान उपलब्ध गराउन थालेपनि स्याउ बगैचा व्यवस्थापनमा अनुदान उपलब्ध हुन नसकेका मार्फाका स्याउ किसान राजु लालचनले उल्लेख गरे । मुस्ताङका स्याउ किसानलाई प्रदेश सरकारले अनुदान स्वरुप उच्चघनत्वको स्याउ बिरुवा उपलब्ध गराएको र यसले मुस्ताङलाई स्याउमा आत्मनिर्भर गराउन सक्ने बाटो खुलेको लालचनले बताए । मुस्ताङमा केही वर्षदेखि उच्चघनत्वको स्याउ खेती परीक्षण भईरहेको र त्यो सफल बन्दै गईरहेको उनको भनाई छ ।
मुस्ताङमा भित्रिएको ईटालियन जातको उच्चघनत्वको स्याउ बिरुवा यहाको रैथाने स्याउ बिरुवा भन्दा दशौं गुणा महङ्गो पर्ने गरेको छ ।बगैचा व्यवस्थापन गरेको दोश्रो वर्षमानै उत्पादन दिनसक्ने भएकाले यसको माग बढेको मुस्ताङका किसानहरु बताउँछन् । उच्चघनत्वको एउटै स्याउको बिरुवाले २० देखि २५ केजी सम्म उत्पादन दिनसक्ने सामथ्र्य राख्दछ । एक हेक्टर जमिनमा लगाईएको एउटै उच्चघनत्वको स्याउ बिरुवाले ४० टनसम्म स्याउ उत्पादन दिने गर्दछ ।
आधुनिक प्रविधिको स्याउ बिरुवा एक हेक्टरमा जमिनमा ३ हजार बिरुवा अटाउन सक्ने भएकाले स्याउ किसानले छिटो÷छरितो फाईदा लिन सक्ने बताईन्छ । यस वर्ष गण्डकी प्रदेश सरकारले बितरण गरेको उच्चघनत्वको स्याउ बिरुवाले ९ हेक्टर जमिन ओगट्ने जनाईएको छ । मुस्ताङमा गत वर्ष ७ हजार मेट्रिक टन स्याउ उत्पादन हुदा ७० करोड रुपैया मुस्ताङ भित्रिएको थियो ।

तपाईको प्रतिक्रिया