२ साताभित्र ३० लाख डोज खोप आउने

समाधान संवाददाता २०७८ साउन १ गते १२:३२

अबको २ साताभित्र चीनबाट नेपालमा कोभिड–१९ विरुद्ध ३० लाख डोज भेरोसेल खोप आउने भएको छ । आउने बिहीबार थप १० लाख खोप आउने भएको छ । खोप लिन साउन ६ गते बुधबार नेपाल वायु सेवा निगमको वाइडबडी जहाज बेइजिङ जाने भएको छ ।

निगमको जहाजले साउन ७ गते १० लाख डोज खोप लिएर काठमाडौं आउने छ ।

चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भनेता पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो ।

Advertisement

निगमका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिएको राजधानीका सञ्चारमाध्यमले जनाएका छन् ।

चीनबाट यसअघि खरिद गरिएको ८ लाख डोज खोप आइसकेको छ भने अब ३२ लाख डोज खोप आउन बाँकी छ ।

Advertisement

सरकारले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको छ । यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप भारतबाट प्राप्त भएको थियो ।

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

तपाईको प्रतिक्रिया