गण्डकीमा मन्त्रिपरिषद विस्तार हुँदै ,१२ मन्त्री हुने

समाधान संवाददाता २०७८ साउन १ गते २०:०१

समाधान संवाददाता

पाेखरा

बजेट पारित गरिसकेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अब मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । १ असारमा पोखरेलले ल्याएको बजेट बुधबार गण्डकी प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।बजेट पारित नहुँदासम्म पोखरेल पर्ख र हेरको मनस्थितिमा थिए । पोखरेलको पार्टी नेपाली कांग्रेससँग् सत्ता साझेदार दलहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँग भागबन्डामा कुरा मिलाउन पनि बाँकी थियो । बजेट पारित नभए सरकार ढल्न सक्ने हुँदा पहिला सरकार जोगाएर पोखरेल मन्त्रिपरिषदलाई पूर्णता दिन चाहन्थे । अब त्यो खड्को टरेको छ ।
‘आज पनि एकचरणको बैठक बस्यो हाम्रो,’ सरकारका प्रवक्तासमेत रहका सामाजिक विकास मन्त्री कुमार खड्काले भने, ‘छलफल गरेर पर्सि फेरि एउटा बैठक बसेर छिटोभन्दा छिटो टुंग्याउने भन्ने मनस्थितिमा मुख्यमन्त्रीज्यू हुनुहुन्छ । धेरै कुरा मिल्या छ, एउटा कुरा सानो कुरा टुंगिनेबित्तिकै सबै कुरा टुंगिन्छ ।’ उनले साउनको पहिला साताभित्र मन्त्रिपरिषद पूर्णतालाई टुंग्याइने बताए ।
मन्त्रिपरिषद १२ सदस्यीय बन्ने जानकारी पनि मन्त्री खड्काले दिए । नेपालको संविधानले प्रदेश सभाका २० प्रतिशत सदस्यलाई मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ । गण्डकी प्रदेश सभा ६० सदस्यीय हो । त्यस हिसाबले १२ जना मन्त्री बनाउन मिल्छ । यसअघि एमाले नेता पृथ्वीसुब्बा गुरुङले सुरुमा ७ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । पछि उनले मन्त्रालय फुटाएर ११ वटा मन्त्रालय बनाए । तर कार्यकालको अन्तिमतिर स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाउनुबाहेक ११ जना नै पु¥याएनन् ।
अहिले पोखरेल नेतृत्व मन्त्रिपरिषदमा केवल ५ सदस्य छन् । मुख्यमन्त्री पोखरेलले जेठ २९ मा सपथ लिँदा कांग्रेसबाट कुमार खड्का र माओवादी केन्द्रकी मधुमाया अधिकारी, जसपाका हरिशरण आचार्य एवं स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीको सपथ गराएका थिए । १३ असारमा मात्रै खड्कालाई सामाजिक र अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएका थिए । आचार्यले ऊर्जा तथा सिँचाइ र गुरुङले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी …पाएका थिए ।
मुख्य सत्ता साझेदार कांग्रेस र माओवादीले ४÷४ मन्त्री लिने समझदारी गरेका छन् । तर को को मन्त्री बन्ने भन्ने टुंगो प्रदेशबाटै लगाउन सकेका छैनन् । दुवै पार्टीले आफ्नो पार्टी केन्द्रलाई नामको टुंगो लगाइदिन गुहारेका छन् । केन्द्रीय राजनीतिमा सत्ता हेरफेर भएको हुँदा प्रदेशमा ना टुंगो लगाउन दुवै पार्टी केन्द्रलाई पनि केही दिन लाग्ने देखिएको छ । माओवादी सांसद दीपक कोइराला पनि केन्द्रले नै टुंगो लगाउने प्रतीक्षामा रहेको बताउँछन् । उनी साउन पहिलो साता मन्त्रिपरिषदले पूर्णता पाउने विश्वासमा छन् । कुनकुन मन्त्रालय माओवादी र कुन कुन कांग्रेसले लिने भन्नेबारे यकीन भइनसकेको कोइरालाले जानकारी दिए । कांग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडी पनि छलफल जारी नै रहेको र केही दिनमा टुंगो लाग्ने बताउँछन् ।
२ जनामात्रै सांसद रहेको जनता समाजवादीकी धनमाया लामा पनि मन्त्री बन्ने पक्का छ । ४ असारमा विश्वासको मत लिनुअघि मुख्यमन्त्री पोखरेलले जसपाका २ जनालाई मन्त्री बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सहमतिपत्रमा २ मध्ये १जनालाई अर्थ मन्त्रालय दिने भन्ने पनि थियो । त्यही सहमतिका आधारमा आचार्यले धेरैदिनसम्म बार्गेनिङ गरेका थिए । तर, केन्द्रीय नेता बाबुराम भट्टराईको दबाबपछि उनी ऊर्जा तथा सिँचाइ मन्त्री बन्न मञ्जुर भएका हुन् ।
कांग्रेस र माओवादीका सबैजसो सांसद मन्त्रीको आकांक्षी हुँदा मुख्यमन्त्रीले टुंगो लगाउन नसकेका हुन् । त्यसपछि नै मन्त्रीको सूची टुंगो लगाइदिन केन्द्र गुहारिएको हो । गण्डकी प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जसपाका २, जनमोर्चाका २ (एकजना बर्खास्त भएकाले) र १ स्वतन्त्र सांसद छन् । एमाले २७ सदस्यीय प्रतिपक्ष दल हो ।

Advertisement

तपाईको प्रतिक्रिया