
सञ्जय रानाभाट
पोखरा – पर्वतको फलेबासकी शर्मिला क्षेत्री पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा आइन् । उनी दुई जिउकी छन् । डाक्टरले उनलाई दिएको डेट नजिकिएको छ । २ महिना पहिला सामान्य जाँचमा आउँदा निकै दुख पाएकी थिइन् । आइतबार भने उनी दंग परिन् । अस्पतालको वातावरण देखेर उनको मुहार निकै चम्किलो देखिन्थ्यो । कारण हो—गत सातामात्र अस्पतालमा सञ्चालनमा आएको नयाँ प्रसूतिगृह ।
‘पहिला आउँदा कोरोना सर्ने पिरले सताएको थियो । अहिले प्राइभेट अस्पतालमा आएजस्तो भएको छ,’ उनले भनिन्, ‘पुरानो वार्डमा उपचारमा धेरै दुख पाएँ, बस्न पनि पाएकी थिइनँ । अहिले धेरै सजिलो भएछ धेरै खुसी छु ।’
पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा आएकी पोखरा १३ की सेनाच थानु पनि नयाँ भवनको सेवा देखेर खुसी भइन् । उनी आफ्नो भाउजुलाई नियमित जाँचका लागि अस्पताल आइन् । २ वर्ष पहिले पुरानो वार्डमा नानी जन्मँदा धेरै दुख पाएकी उनले अहिले नयाँ भवन सञ्चालनमा आएको देख्दा खुसी लागेको सुनाइन् । ‘अहिले त बिरामी तलमाथि गर्न लिफ्ट रैछ । बस्न पनि शान्त सफा, पहिला भन्दा धेरै सजिलो भएको छ,’ उनले भनिन्, ‘घरबाट आउँदा कोराना संक्रमण सर्ने हो कि, मनमा डर पलाएको थियो ।’
लाइनमा बसेर पालो कुर्न कोरोना संक्रमण सर्ने हो कि भनेर उनलाई धेरै डर थियो । नयाँ भवनबाट दिएको सेवाहरु आफूलाई धेरै सजिलो र सुरक्षित भएको उनले सुनाइन् । अस्पतालका निर्देशक डा भरतबहादुर खड्काका अनुसार आउँदो हप्तासम्ममा प्रसूतिको नयाँ भवन पूर्ण रुपमा सञ्चालनमा आउने बताए । ‘कोभिडअघिसम्म प्रसूति सम्बन्धी बिरामी दैनिक २० जना आइरहेका हुन्थे,’ उनले भने, ‘कोरोना संक्रमणको डरले अझै मान्छे खुलेर आएका छैनन्, विस्तारै बढ्दै गएका छन् ।’
२८ करोड रुपैयाँमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालभित्र नयाँ भवन बनेको हो । त्यसमा मेडिकल वार्ड, ओपिडी, अप्रेसन कोठा र प्रसूति लगायत वार्ड हुनेछ । अबको केही समयमा नै अस्पताल नयाँ स्वरुपमा जाने जानकारी अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले दिए । अब छिटै अस्पतालले नयाँ तरिकाले राम्रो सेवा दिने उनले बताए ।
२०१२ सालमा सोल्जर्स बोर्ड अस्पतालको रुपमा सुरु अस्पताल अहिले क्षेत्रीय अस्पताल बनेको छ । ६ दशकअघि निर्माण गरिएका अस्पतालका भवन २०७२ साल वैशाख १२ र २९ गते गएको भूकम्पले जीर्ण भएका थिए । जीर्ण भवनलाई नयाँ रुवरुप दिन अस्पताल प्रशासनले रेट्रोफिटिङ गरिरहेको जानकारी पनि निर्देशक डा. खत्रीले दिए । मर्मतका लागि स्वास्थ्य मन्त्रालयमार्फत बेलायती संस्था डिएफआइडी सघाएको छ । ५ सय शड्ढयाको दरबन्दीसहितको क्षेत्रीय अस्पताल भएपनि अहिले केवल ३५१ क्षमतामा मात्रै सञ्चालित छ ।
‘पुरानो मेडिकल वार्ड र कोभिडका लागि बनाएको भवनमा आइतबारसम्म ७४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । २ बेडमा खाली छन् । आजै २ जना डिस्चार्ज हुनुभयो,’ डा खत्रीले भने, ‘वैशाख यतामात्र अस्पतालबाट ६५० जना कोभिडलाई जितेर घर फिर्किसक्नुभयो ।’

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया