सांसद खिमविक्रमलाई पुरस्कार: गाडी सुविधा हुने सभापतिको पद

समाधान संवाददाता, पोखरा
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका खेलेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई सत्ता गठबन्धनले पुरस्कृत गर्दै प्रदेश मामिला समिति सभापति बनाएको छ ।
शाही यसअघि प्रदेश सार्वजनिक लेखा समिति सदस्य थिए । असार ३० गतेको गण्डकी प्रदेश सभा बैठकले शाहीलाई प्रदेश सभाको प्रदेश मामिला समिति सदस्य बनाउने प्रस्ताव पारित गरेको थियो । समितिको आज मंगलबारको बैठकबाट शाही सभापति चयन भएका हुन् ।
यसअघि उक्त समितिको सभापति जनमोर्चाकै सांसद कृष्ण थापा थिए । तर जनमोर्चाले उनलाई सांसद पदबाट मुक्त हुने गरी जेठ अन्तिम साता कारबाही गरेको थियो । ३ सांसद भएको जनमोर्चाका शाही र पियारी थापा मात्रै भएका छन् । थापालाई २ जनाकै बैठकले संसदीय दल नेता यसअघि नै चयन गरेको छ ।
जनमाेर्चाले कांग्रेस नेतृत्व सरकारलाई साथ दिएको छ । तर ऊ मन्त्री लिएर सरकारमा सहभागी नहुने नीतिमा छ । तर गाडीसहितका सुविधा प्राप्त हुने संसदीय समितिमा जान भने पहिल्यैदेखि तयार थियो र गएको पनि थियो । यसअघि एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्व सरकारलाई समर्थन गरेको जनमोर्चाको संसदीय दलका नेता कृष्ण थापा प्रदेश मामिला समिति सभापति भएका थिए ।
प्रदेश मामिला समितिमा १३ जना सदस्य छन् । तीमध्ये कांग्रेस, माओवादी र जनमोर्चाका बहुमत अर्थात ७ र प्रतिपक्ष दल एमालेका ६ सांसद छन् । बहुमतकै आधारमा पनि सत्ता गठबन्धनकै पक्षको उम्मेदवारले जित्ने देखिएपछि सभापति दाबा गरी मनोनयन दर्ता गरेका एमाले सांसद इन्द्रधारा विष्टले पछि उम्मेवारी फिर्ता लिएका थिए ।
तपाईको प्रतिक्रिया