पोखरामा छुटेका वडामा चीनबाट आएपछि मात्रै खोप

समाधान संवाददाता २०७८ साउन ५ गते १७:५८


पोखरा – प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार काठमाडौंमा अमेरिकी खोप जोन्सन लगाउने कार्यक्रम सुरुआत गरेका छन् । जोरपाटीमा उनले अपांगहरुलाई खोप लगाउने कार्यक्रम सुरुआत गरेका हुन् ।

पोखरा महानगरपालिकाभित्र जोन्सन खोप लगाउन आइतबार सुरु गर्नै लाग्दा एक्कासि रोकिएको थियो । पोखराका १८ देखि ३३ नम्बर वडाका ५५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन बाँकी छ । तिनीहरुलाई नै खोप लगाउने भनेर वडाहरुले स्वास्थ्य संस्था लगायत खोप केन्द्रमा डाकेका थिए । बिहानैदेखि लाइन लागेर बसेका नागरिक एक्कासि खोप नलगाइने खबर सुनेर निराश र आक्रोशित बन्दै घर फर्कन बाध्य बने ।

स्वास्थ्य कार्यालय कास्की प्रमुख बाबुराम आचार्यका अनुसार स्वास्थ्य मन्त्रालयले जोन्सन खोप ५० देखि ५४ वर्षका व्यक्तिलाई लगाउन भनेको छ । तर, आइतबार केन्द्रहरुमा डाकिएका व्यक्ति भने त्यसभन्दा बढी उमेरका थिए । ५५ वर्षमाथिकालाई छुटाएर त्यसमुनिकालाई लगाउन सुरु गर्दा विवाद हुने देखेपछि व्यवस्थापन गर्न कठिन हुने भन्दै खोप स्थगित गरिएको थियो ।

Advertisement

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्य ५५ वर्षमाथिलाई छुटाएर अरुलाई लगाउँदा विवाद हुने देखिएको र त्यो व्यावहारिक नहुने बताउँछन् । भन्छन्, ‘१ देखि १८ नम्बरसम्मका वडामा ५५ वर्षमाथिकाले खोप लगाउनुभएको छ, बाँकी वडामा पनि त्यही उमेरकालाई छुटाउनु न्याय हुँदैन ।’ सोही कारण ती वडाका ५५ वर्षमाथिलाई खोप सुनिश्चित भएपछि मात्रै जोन्सन खोप ५० देखि ५४ वर्षसम्मका नागरिकलाई लगाउन सकिने उनले बताए ।

स्वास्थ्य कार्यालय कास्कीले सोमबार शरणार्थीलाई जोन्सन खोप लगाएको कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) थानेश्वर गौतमले बताए । उनकै भनाइमा पोखराका १८ देखि ३३ नम्बर वडामा भने भेरोसिल खोप आएपछि मात्रै लगाउन सुरु गर्ने भन्ने छ ।

Advertisement

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. खिमबहादुर खड्काले पनि चीनबाट भेरोसिल खोप आएपछि स्थानीय तहरुलाई उपलब्ध गराउन सकिने बताए । सरकारले साउन ७ गते चीनबाट भेरोसिल खोप ल्याउँदैछ । ‘त्यो आएको केही दिनमै पोखरालाई उपलब्ध गराउन सकिन्छ,’ खड्काले भने ।
स्वास्थ्य कार्यालय प्रमुख आचार्य जोन्सन खोप लगाउन तयार हुने हो भने पोखरा महानगरपालिकालाई पनि उपलब्ध गराउन तयार रहेको बताउँछन् । उनकै भनाइमा कास्कीका मादी र रुपा गाउँपालिकामा जोन्सन खोप लगाउन सुरु भइसकेको छ ।

माछापुच्छ र अन्नपूर्ण गाउँपालिकाले पनि एक/दुई दिनमै जोन्सन खोप लगाउन सुरु गर्दैछन् । आचार्यका अनुसार कास्कीमा जोन्सन खोप २५ हजार डोज आएको हो ।
जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरु, अपांगता भएका र शरणार्थीलाई उपलब्ध गराउने निर्णय संघीय सरकारको स्वास्थ्य मन्त्रालयले गरेको छ । सोही कारण आइतबार स्वास्थ्य मन्त्रालयकै आदेशमा पोखराका विभिन्न वडामा लगाउन ठिक्क पारिएको खोप लगाइएको थिएन । महानगरपालिकाको स्वास्थ्य महाशाखाका अधिकृत आचार्यले आइतबार माथिबाट एक्कासि खोप लगाउन स्थगित गर्न निर्देशन आएको सुनाए । ‘५५ वर्षमाथिका नागरिकलाई पनि खोप नआउँदा त्यस मुनिकालाई मात्रै लगाउँदा विवाद हुन सक्छ । सबैलाई हुने खोप लगाउने प्रबन्ध गर्नुपर्छ । हामी त्यही निर्णयको प्रतीक्षामा छौं,’ उनले भने ।

आइतबार जोन्सन खोप ५० देखि ५४ वर्षभित्रकालाई लगाउने भनिएकोमा डाकिएकाहरु अर्कै उमेर समूहका हुँदा खोप कार्यक्रम स्थगित भएको थियो । आचार्यले नगरपालिकाले त केवल खोप लगाउने काममात्रै गर्ने तर त्यसको निर्णय खोप व्यवस्थापन समन्वय समितिले गर्नुपर्ने बताए । जिल्लामा प्रजिअ र प्रदेशमा प्रमुख सचिवको संयोजकत्वमा खोप व्यवस्थापन समन्वय समिति छन् ।

अमेरिकाले जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको खोपको १५ लाख ३४ हजार ८५० मात्रा उपलब्ध गराएको हो । सो खोप असार २८ गते काठमाडौँ आइपुगेको थियो । अरु खोप २ डोज लगाउनुपर्छ भने जोन्सन एक डोजले नै पुग्छ ।
खोप लिन चीन जाँदै जहाज
नेपालले खरिद गरेको ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने भएको छ । नेपाल एयरलाइन्स आगामी बुधबार, बिहीबार र शनिबार खोप लिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।
विमानले प्रति उडान ८ लाख डोज खोप ल्याउने छ । यसअघि पहिलोपटक असार २५ गते ८ लाख डोज खोप ल्याइसकेको छ । निगमको विमान बुधबार गएर बिहीबार फर्कने, बिहीबार गएर शुक्रबार फर्कने र शनिबार गएर आइतबार फर्कने तालिका तय भएको छ
खोप लगाउन भनेर आएका पोखरा ३० का स्थानीयको भिड । आइतबार जम्मा भएका उनीहरु खोप कार्यक्रम स्थगित भएपछि निराश र आक्रोशित हुँदै फर्किएका थिए ।

तपाईको प्रतिक्रिया