झलनाथको उपचार खर्च व्यहोर्ने देउवाको भनाइमा गगनको विरोध

समाधान संवाददाता, पोखरा
कांग्रेसका युवा नेता गगन थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने कुराको विरोध गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचार खर्च व्यहोर्ने बताएप्छि थापाले सोको विरोध गर्दै यस्तो बताएका हुन् । राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको थापाले बताएका छन् ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले भनेका छन्, ‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा गरिएको संशोधनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था छ ।
उनलाई उपचारका लागि सहयोग जरुरत नै परेको खण्डमा देश विदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको उल्लेख गर्दै बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो बेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उहाँको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ ।’ थापाले अघिल्लो सरकारले कानुन विपरीत गरेको निर्णयको भारी देउवा सरकारले बोक्ने छैन भन्नेतर्फ सचेत पनि गराएका छन् ।
‘अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ,’ थापाले भनेका छन् ।
थापाले खनालले पछिल्लोपटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको भन्दै उनीसँग संसदमा सँगै काम गर्न आफूहरु प्रतिक्षारत रहेको बताएका छन् ।
तपाईको प्रतिक्रिया