बेपत्ता अर्याल १७ वर्षपछि घर फिर्ता

समाधान संवाददाता २०७८ साउन ७ गते १३:२९
यहाँका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आउनुभएको छ । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता हुनुभएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किए । 
जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँडेका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताए । “यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाए”, पत्नी बलीकुमारीले भनीन्, “उहाँहरुले भनेको ठाउँमा गएर हेर्दा त होइछ, अनि फर्काएर लिएर आएका हौं ।” घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चार जनाको परिवार पीडामा र सधैँ त्रासमा रहेको उनले सुनाए।

दश वर्षे द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको उजूरी आयोगमा परेपछि छानबिन आयोगले पीडित परिवारलाई भेट्ने क्रममा अर्याललाई घरमै परिवारसँग फेला पारेको थियो । 

त्यस्तै उता स्याङ्जाको पुतलीबजार नगरपालिका– २ का ५१ वर्षीय टुकबहादुर पौडेलको पनि उजूरी आयोगमा परेकामा पौडेल पनि परिवारसँगै रहेको पाइएको थियो । पौडेल २०५८ सालपछि बेपत्ता भएका र करीब १३ वर्ष घर नआएपछि परिवारका व्यक्तिले बेपत्ता भएको भनी आयोगमा उजूरी दिएका थिए । रासस

–––

तपाईको प्रतिक्रिया