पुष्पलालः समाज रुपान्तरणका अविचलित योध्दा

समाधान संवाददाता २०७८ साउन ७ गते १५:५७

प्राडा भरतराज पहारी

पाेखरा ‍-प्रकृतिमा विद्यमान विविधताले मानिसको चेतनामा विविधता सृजना हुनु स्वभाविक हो । यो विविधताबाट सृजना भएको मानिसको जिज्ञासु र साहसी स्वभावको कारणले इतिहासका विभिन्न कालखण्डमा निर्णायक क्षणहरु आए र स्वभाविक गतिमा हिडिरहेको सामाजिक अभियानले हठात फरक दिशा ग्रहण गर्दै गयो ।

Advertisement

प्रविधिले अग्रगति प्राप्त नगरेको र सूचनाको सामाज्य कमजोर भएको समयमा भौतिकरुपमा घात र प्रतिघात गर्दै घटनाहरु हुने गर्थे । अहिले सूचना प्रविधिको व्यापक साम्राज्य छ । सूचनाहरुलाई तोडमोड तथा दुरुपयोग गर्दै भ्रम सृजना गर्ने, सामाजिक चरित्रलाई स्खलित गर्ने, अराजकता र अन्योलता सृजना गर्ने प्रपन्चहरु भैरहेका छन् । यी सबै कार्यहरु साधन र स्रोतहरु माथि नियन्त्रण गर्ने र शक्ति केन्द्रमा रहने दुष्प्रयत्नको रुपमा देखिन्छ । यसैको कडिकोरुपमा ठुल्ठुला युध्दहरु भए, विध्वंशहरु भए । चेतनामा भएको अनेकतालाई व्यवस्थापन गर्न नसक्दा विभेद सृजना हुदै गयो ।

मानिसको आकांक्षाले साधन र स्रोतहरु नियन्त्रण, संकलन र स्वामित्व प्राप्तगर्न प्रतिस्पर्धा हुदै गयो । यो प्रतिस्पर्धा आत्मकेन्द्रित हुँदा विभेद सृजना हुन थाल्यो । मानिसका स्वार्थहरु वीच भएका द्वन्दहरुले समाज बदलिदै गयो । समाज बदलिने यो क्रमले कहिले अग्रगति लियो भने कहिले अधोगति लियो । मानिसहरुमा रहेको स्वार्थले सामाजिकरुप ग्रहण गर्दा समाजरुपान्तरणले अग्रगति लियो भने निहित स्वार्थहरु गुट उपगुट र संप्रदायकोरुपमा प्रकट हुँदा समाज अधोगतिबाट गुज्रियो । शक्ति केन्द्रमा रहेकाहरु भने आफ्ना स्वार्थहरु पुरा हुदा आत्मरतिमा रमाइरहे । यो क्रम अहिले पनि चलिरहेको छ ।

Advertisement

जन्मिदा सार्वभौम मानिस हुर्किदै जाँदा समाजमा हुनेखानेहरुबाट नियन्त्रित हुदै विभेदबाट गुज्रदै जान थाल्यो । स्रोतहरुमा पहुँच नहुने, रोजगारी नपाउने र अवसरहरुबाट वंचित हुँदा खान लाउन नपुग्ने भयो, औषधीउपचार गर्न नसकिने भयो, केटाकेटीको लालनपालनमा समस्या हुन थाल्यो । गरिबीको कारणले लेखपढ सम्भव भएन, सामाजिक कामहरुमा हेपिइने अवस्था हुन थाल्यो, जातजातीका कुरा उठाएर हेपिइने अवस्था हुन थाल्यो । महिला पुरुष र समलिगींहरुलाई व्यवहारमा विभेद हुने भयो । एउटै टोल छिमेकका रहदा पनि चाडपर्व, रितिरिवाज, मर्दापर्दा, विहे ब्रतबन्ध, सस्कार र व्यवहारहरु, तथा भाषा र धर्मको विषयमा विभेद हुने अवस्था भयो । दुर्गम र विकट क्षेत्रका वासिन्दाहरु पछौटेकोरुपमा व्यवहार गरिन थालियो ।

समाजमा देखिएको विभेदको यो निकृष्ट स्वरुप जोकसैको लागि पनि सैह्य हुरा थिएन । पुष्पलालको कलिलो मस्तिष्कमा मान्छेले मान्छेलाई हिन हेप्छनरु भन्ने कुरा गहिरो छाप पर्यो ।

चेतना जागरण
काठमाण्डौको नयासडक नजिकै प्याफलमा धर भएका पुष्पलालको जन्म भने बिसं १९८१ असार १५ गते बुबा जागीरमा भएको बेला रामेछापको भंगेरी गाउँमा भएको थियो । पुष्पलालको बाल्यकाल र किशोरावस्था काठमाडौंमा बित्यो। राणाहरूको कठोर निगरानीमा चल्ने दरबार हाइस्कुलबाट उनले एसएलसी उत्तीर्ण गरे। तिनताका राणाशासकहरुको ज्याजतिको बारेमा मानिसहरु कुरा गर्थे । खरिदारको जागीरमा रहदा राणाहरुवीच भएका द्वन्दहरु र चाकरीहरुबारे बुबाले यदाकदा घरमा चर्चा गर्दा र दाजु गंगालालले न्यायअन्यायको कुरा गर्दा पुष्पलालको चेतना जागृत हुदै थियो । आफु भन्दा ६ वर्ष जेठा दाजु गंगालाल सामाजिक जागरणमा लागि सकेका थिए ।

राणासाही निरंकुशता अन्त्य हुनु पर्ने र सबैलाई न्याय हुनु पर्ने भन्दै नेपाल प्रजा परिषदमा गंगालाल लागेका थिए । बिसं १९९७ मा दाजु गंगालाललाई राणा शासकले गोली हानी हत्या गरे पछि पुष्पलालको कलिलो मस्तिष्कमा गहिरो चोट पर्यो । भरखरै म्याट्रिक पास गरेका पुष्पलाल दाजुको हत्याको एक दिन अगाडि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ूमाइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्ू भन्नुभएको थियो र दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो। दाजुले राणाहरु सामु माफी मागे ज्यान सजाय मिनाहा गर्ने भन्दा गंगालालले दासत्व भन्दा स्वाधिनता प्यारो हुने भन्दै सहिद हुन मन्जुर गरे । दाजुको यो बलिदानलाई खेरजान दिनु हुदैन भन्ने दृढ अठोट मनमा राख्दै राणा शासनको अन्त्य र नागरिक अधिकारको लागि संगठित हुन पर्छ भन्ने चेतना पुष्पलालमा जागृत भयो ।

पुष्पलालकहिल्यै पछाडि नफर्कने गरी संगठितरुपमा नागरिक आन्दोलनमा होमिए । पुष्पलाल राणाविरोधी संगठित आन्दोलन उत्कर्षमा पुग्दै गरेका बेला राजनीतिमा लागेका थिए ।उनलाईराजनीतिमा होमिन पारिवारिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणले मद्दत गर्योर ।परिवारराजनीतिकचेतनालेयुक्तथियो ।

संगठित जीवन

केटाकेटी देखि नै दृढ इच्छाशक्ति राख्ने पुष्पलाल आफ्ना दाजुको प्रेरणाबाट सुरुमा नेपाल प्रजा परिषदमा आबध्द भएका थिए । यहि समयमा प्रजापरिषदको प्रकाशन जनता प्रकाशित गर्न पुष्पलालले मद्दत गरेका थिए । राणाशासनलाई हठाउन संगठितरुपमा प्रयत्न गर्नु पर्छ भन्दै पुष्पलालले साथिहरु जम्मा गरी बिसं १९९८ मा नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए । यो संगठनले आफ्नो रगतले प्रतिज्ञापत्रमा सहिगरी सदस्य बनाएको थियो । बिसं १९९९मा धरणीधरहरुसंग मिलेर पुष्पलालले अखिल नेपाल वर्ग सभा स्थापना गरी गणतन्त्र नेपालको उद्घोष गरेका थिए । तीव्रपरिवर्तनकोआकांक्षालेडोर्या एरउनलाईनेपालराष्ट्रियकांग्रेस (पछिनेपालीकांग्रेसबन्यो) को सदस्य बन्न प्रेरित गर्यो ।

त्यतिबेलाउनलाईकांग्रेसलेराणाशासनढाल्नसक्छभन्नेलागेकोथियो ।२० वर्षको उमेरमा उनी नेपाली राष्ट्रिय काग्रेसमा आबध्द भैसकेका थिए । सो पार्टीले काठमाण्डौमा २००४ बैशाष १ देखि नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलालले गरे । यो आन्दोलनको कारणले तत्कालिन राणा प्रधानमन्त्री पद्म शमशेरले सामाजिक सुधारका कामहरु घोषणा गरेका थिए । यो घटनाबाट संगठित प्रयत्नबाट शासकहरुलाई झुकाउन सकिन्छ भन्ने विश्वास पुष्पलालमा जागृत भयो । बिसं २००४ सालको चैत्रमा भएको पार्टीको तेस्रो सम्मेलनमा काठमाडौंका प्रतिनिधि बनेर वनारस गए, जहाँ डिल्लीरमण रेग्मीसँग उनको पहिलोपटक भेट भयो। सोही सम्मेलनले डिल्लीरमण रेग्मीलाई पार्टी सभापति, प्रेमबहादुर कंसाकारलाई महामन्त्री तथा पुष्पलाललाई मन्त्री पदमा चुन्यो । त्यतिबेला बीपी काठमाडौंमा जेलजीवन बिताइरहेकाले उनको अनुपस्थितिमा सभापति पदमा रेग्मी चुनिए ।

तरकांग्रेसभित्रको किचलो र नेताहरूको केही राणासँग हिमचिम र बसउठ पुष्पलाललाईमनपरेकोथिएन ।२००५ सालमा विपी कोइराला र डिल्लीरमण रेग्मीद्वारा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको सचिव भै काम गरेको भएतापनि यो पार्टी पुँजीवादी हिस्साको प्रतिनिधित्व गर्ने भएकोले पुष्पलाल असन्तुष्ट भए । राणाशासनविरुद्ध सम्झौताहिन संघर्ष र गणतन्त्रसम्मको आकांक्षासहित उनी नेपाल कम्युनिस्ट पार्टी निर्माणमा लागे ।अन्तत्वगत्वा २००६ साल वैशाख १० गते तदनरुप १९४९ अप्रिल २२ मा लेनिन जन्मेको दिनको अवसर पारी कलकत्ताको श्यामबजार स्थित नवीन सरकार लेन घर नं ३८ मा नरबहादुर कर्माचार्य, नारायण विलास जोशी, निराजन गोविन्द वैद्य र पुष्पलालको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०को स्थापना भयो । त्यसबेला मोतीदेवीको उपस्थिति नभएपनि कामकै सिलसिलामा बाहिर जानु परेको हुँदा संस्थापक नेताहरुमा उनको नाम पनि मानियो ।नेकपाको संस्थापक महासचिव पुष्पलालत्यतिबेलाभर्खर२५वर्ष लागेका थिए । स्वतन्त्रताको तिब्र आकांक्षा भएका पुष्पलाल स्वअध्ययनमा गंभीररुपमा लागे ।

उनको अगुवाईमा २००८ भाद्र ५ गते नेकपाको प्रथम सम्मेलन सम्पन्न भयो । सो सम्मेलनले पुष्पलाललाई पुन महासचिवमा निर्बाचित गर्यो । पहिलो महाधिवेशन २०१० मार्ग १७(२५मा सम्पन्न भयो । यो महाधिवेशनमा मनमोहन अधिकारी महासचिव भए भने दोश्रो राष्ट्रिय महाधिवेशन २०१४ जेष्ठ १५(२५ मा सम्पन्न भयो । यो महाधिवेशनले केशरजंग रायमाझीलाई महासचिव चयन गर्यो । तेश्रो राष्ट्रिय महाधिवेशन २०१९ बैशाख ४(५ सम्पन्न भयो । यो महाधिवेशनले तुलसीलाल अमात्यलाई महासचिव निर्वाचित गर्यो । पहिलो महाधिवेशन देखिनै पार्टी गंभीर विवादबाट गुज्रियो । नेताहरु गाली गलौजमा समेत उत्रिए, पार्टीमा महाविवाद सृजना भयो ।

पुष्पलालले २०२५ जेठ २ गते गोरखपुरमा तेश्रो सम्मेलन गरी आफ्नो नेतृत्वमा नेकपा पुष्पलाल समुह पुनर्गठित गरे । अन्य नेताहरुले पनि ससाना गुटगत पार्टीहरु बनाए, नेकपा छिन्नभिन्न भयो । २०३५साल श्रावण ७ गते दिल्ली स्थित गोविन्दवल्लभ अस्पतालमा मृत्यु हुनु पूर्व सम्म पुष्पलालले बनारसको दशपुत्र गल्लीस्थित गोकुलनाथ नायकको घर नं। २९र३० मा १७ वर्ष रहेर पार्टी हेडक्वाटर त्यहीँबाट चलाएका थिए ।

बैचारिक नेता
पुष्पलालको नेपाली राजनीतिमा मुख्य योगदान नै नयाँ विचारको सूत्रपात हो। नेपाली समाजलाई न्याय र समानताको बाटोमा रुपान्तरित गर्न र समाजवादी विचारधारालाई नेपालमा औपचारिक रूपमा स्थापित गर्ने काम पुष्पलालबाट भयो । पुष्पलालले मार्क्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, इतिहास, भूगोल, समाजशास्त्र र संस्कृतिको गहिरो अध्ययन गरेको देखिन्छ । नेपाली क्रान्तिमा कम्युनिष्ट पार्टीको घोणापत्रको भूमिका समेत प्रष्ट पार्दै मार्क्स रएङ्गेल्सद्वारा रचित कम्युनिष्ट पार्टीको घोषणापत्रको नेपाली भाषामा गरिएको अनुवाद पुष्पलालको महत्वपूर्ण वैचारिक योगदानकोरुपमा देखिन्छ ।

पुष्पलालबाट लिखित धेरै प्रकाशनहरुले खदिलोरुपमा वैचारिक योगदान गरेका छन् ।नयाँ जनवादी कार्यक्रम, नेपाली क्रान्तिको मूलबाटो, नेपालको मातृसत्तात्मक समाज, नेपाली जनआन्दोलन एक समीक्षा, नेपाल कम्युनिष्ट पार्टीको १८ वर्षको सिंहवालोकन एवं समीक्षा, नयाँ जनवादी संस्कृति, दस्तावेजको अध्ययन कसरी गर्ने, नोट्स् अफ् कम्युनिष्ट मूभमेन्ट इन नेपाल, नेपाल नाम कसरी रहन गयो, जस्ता अमूल्य कृतिहरु पुष्पलालका वैचारिक योगदान हुन् ।


पुष्पलालबाट पहिलो पटक नेपाली क्रान्तिको आधारभूत सिद्धान्त, कार्यक्रम र नीति निर्माण भएको हो । नेपाली समाजको चरित्र अर्धसामन्ती रअर्ध औपनिवेशिक रहेको तथ्य पुष्पलालबाट उजागर भएको हो । नेपाली क्रान्तिको चरित्र निरुपण, क्रान्तिको लक्ष्य निर्धारण, क्रान्तिको बाटो, मित्रु र शत्रु पहिचान जस्ता नेपाली क्रान्तिका विचारधारात्मक समस्या हल गर्नु सहज कुरा थिएन । यी विषयहरुलाई सुस्पष्ट गर्दै नेपाली समाजको स्पष्ट वर्ग विष्लेषण पुष्पलालबाट भएको थियो । उनको वैचारिक स्पष्टता नेपाल कम्युनिष्ट पार्टीका प्रकाशनहरुमा देख्न सकिन्छ ।


नेपाल कम्युनिस्ट पार्टी स्थापनासँगै नेपालको कम्युनिष्ट आन्दोलनले सामन्तवादविरोधी स्पष्ट दिशा ग्रहण गर्यो र राष्ट्रिय स्वाधीनता एवम् राष्ट्रवादका मूल्यहरूलाई ठोस रुप प्रदान गर्यो । जनवादी गणतन्त्र र समाजवादको गन्तव्य रेखाङ्कित गर्यो । पंचायति व्यवस्थाको २०१७ सालपछिका कठोर दिनहरुमा वाम–लोकतान्त्रिक शक्तिहरूका पहलमा संयुक्त जनआन्दोलन सञ्चालन गर्नुपर्छ भन्ने अवधारणा समेत स्पष्ट गर्ने काम पुष्पलालबाट भएको थियो ।


अहिले मुलुकमा स्थापना भएको गणतन्त्र पुष्पलालको सामन्तवादविरोधी र लोकतान्त्रिक शक्तिहरुको संयुक्त आन्दोलनको नीति अनुरुप भएको हो । पञ्चायतकालको कठिन राजनीतिक परिवेशमा वाम–लोकतान्त्रिक शक्तिको संयुक्त पहलबिना राजाको पञ्चायती व्यवस्था अन्य हुन नसक्ने पुष्पलालको प्रष्टअडान थियो । २०४६ सालको संयुक्त वाममोर्चा र नेपाली कांग्रेसले संयुक्तरूपमा सञ्चालन गरेको ऐतिहासिक जनआन्दोलन पुष्पलालकै वैचारिक दिशाको प्रतिबिम्ब थियो ।
गणतन्त्रका संवाहक
पुष्पलालले गणतन्त्रको पक्षमा आजीवन आफ्नो आवाज उठाइरहे । कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै उनले गणतन्त्रात्मक शासन प्रणालीप्रति पार्टीको प्रतिबद्धतालाई स्पष्ट रूपमा जनतासमक्ष राखे । सैद्धान्तिक र राजनीतिक रूपमा गणतन्त्र किन आवश्यक छ भन्ने कुरो उनले जति प्रष्ट रूपमा नेपालका कुनै पनि नेताले व्याख्या गरेको देखिँदैन ।


विभिन्न समयमा प्रकाशित आफ्ना लेखहरुमा नेपालमा राजतन्त्रको उत्पत्ति र विकासका ऐतिहासिक, आर्थिक, सामाजिक तथा राजनीतिक कारणको विश्लेषण गर्दै अन्ततः राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना हुने ठोकुवा पुष्पलालले गरेका थिए । उनले अब नेपालमा हुने क्रान्ति एक राजतन्त्रलाई हटाई अर्को राजतन्त्र कायम गर्ने क्रान्ति नहुने भन्दै ‘यस्तो क्रान्तिको मूल उद्देश्य नै सामन्ती र विदेशी स्वार्थलाई नेपालको माटोबाट उखेलेर फ्याँकी जनताको गणतन्त्रीय व्यवस्था कायम गरी समाजवादमा लम्कने हुनुपर्दछ’ भनेर लेखेका थिए । उनको यो भनाईमा देशका सबै बाम तथा लोकतन्त्रवादी पार्टीहरु सहमति भै २०६२र६३को आन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएको छ ।

पुष्पलालका योगदानहरु
नेपाली समाजको रुपान्तरणमा पुष्पलालका महत्वपूर्ण योगदानहरु छन् ।
क) ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी दृष्टिूकोणबाट नेपाली समाजको व्याख्या गर्दै कार्ल मार्क्स र एंगेल्सद्वारा रचिएको विश्व प्रसिद्ध अंग्रेजी भाषामा रहेको कम्युनिष्ट घोषणपत्रलाई नेपाली भाषामा अनुवाद गरेका छन् । समाजमा हेपिएकाहरुको मुक्तिको निम्ति यो सटिक दसतावेज हो ।


ख) विश्व कम्युनिष्ट घोषणापत्र, मार्क्सवादको अध्ययन, विभिन्न मुलुकहरुमा भएको क्रान्तिकारी वर्ग संघर्षसमेतको अध्ययनबाट पुष्पलालले नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकाशन गरेका छन् । यसले नेपाली क्रान्तिको दिशावोध गरेको छ ।
ग) नेपालको राजनीतिक, सामाजिक परिवर्तनको लागि श्रमजीवी, सिमान्तकृत, सर्वहारा सुकुमबासी, गरिब किसान तथा मजदुरहरुको पार्टीको रुपमा क्रान्तिकारी पार्टीको आवश्यकताको महसुस गरी नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी ९दुर्गा० श्रेष्ठसमेतको संलग्नतामा लेनिनको जन्म दिन २२ अप्रिल १९४९ ९विसं २००६ साल वैशाख १० गते० मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । यसबाट नेपाली समाजको रुपान्तरणको लक्ष र उदेस्यलाई मुखरित गर्न संगठित प्रयत्न आवस्यक छ भन्ने कुरा पुष्टि भएको छ ।
घ) पुष्पलालले नेपाली समाजको गहिरो अध्ययन गरी नेपाली समाजको अन्तरविरोधलाई व्याख्या गर्दै सुस्पष्ट वर्ग विश्लेषण गरेका छन् । यसबाट पहिलो पटक नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशी चरित्रको भएको विश्लेषण भएको छ । नेपाली कम्युनिष्ट आन्दोलनको क्रममा पुष्पलालले नेपाली समाजको चरित्रलाई गरेको विश्लेषणयद्यपि जिवन्त छ ।
ङ) नेपाली समाजको व्याख्यापछि समाजमा रहेका अन्तर्विरोधको आधारमा नेपाली क्रान्तिको चरित्रको निरूपणको बारेमा पुष्पलालबाट व्याख्या भएको छ । नेपाली क्रान्तिको चरित्र सर्वहारा श्रमजीवी वर्गको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी भएको स्पष्ट गरिएको छ ।
च) पुष्पलालले नेपाली समाजको प्रधान अन्तर्विरोध सामन्ती व्यवस्थासँग रहेको र सामन्ती वर्गको नेतृत्व राजतन्त्रले गरेको निक्र्यौल गर्का थिए । साथै, नेपाली समाज आधुनिक पुँजीवादी उत्पादन सम्बन्धको प्रवेश भइसकेको हुँदा समाजको चरित्र अर्धसामन्ती रहेको व्याख्या भएको छ । यिनै राजनीतिक र सामाजिक चरित्रको आधारमा नेपाली जनता र अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्यसत्ताबीचको अन्तर्विरोध, नेपाल राष्ट र साम्राज्यवादबीचको अन्तर्विरोध, नेपाली जनता र वैदेशिक हस्तक्षेप र प्रभुत्ववादविरुद्धको अन्तर्विरोध, सामन्ती जमिन्दार र किसानबीचको अन्तर्विरोध, दलाल तथा नोकरशाही पुँजीवाद र नेपाली श्रमजीवी वर्गबीचको अन्तर्विरोध नै नेपाली समाजका प्रधान अन्तर्विरोधहरु हुन् भन्ने पुष्पलालको विश्लेषण रहेको छ ।
छ) तत्कालीन समयमा रहेको निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यको लागि पुष्पलालले नेपालका कम्युनिष्टहरु र नेपाली कांग्रेस९नेका० दुवै शक्ति मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्ने विचार राखेका थिए । नेपाली कांग्रेस पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । विशेषगरी दलाल र एकाधिकार पुँजीपति वर्ग नै यस पार्टीको मुख्य आधार हुन् । तर, पनि नेपाली काँग्रेसको चरित्र प्रजातन्त्रको पक्षपोषण र निरंकुशतन्त्रको विरुद्धमा रहेको छ । नेपाली काँग्रेसको स्थापना हुँदा सामन्ती व्यवस्थाविरुद्ध संघर्ष गर्ने नभई केवल निरंकुशतन्त्रको विरुद्ध थियो । त्यसैले नेका राजतन्त्र फाल्ने कुरा गर्दैनथ्यो । उसको लागि दलहरुको प्रतिबन्ध फुकुवा भए पनि पुगेको थियो । तर, निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यपछि सामन्तवाद र यसको जरोलाई नै फाल्न सकिन्छ भन्ने मान्यताका आधारमा पुष्पलालले नेपालका कम्युनिष्टहरु र नेपाली काँग्रेस मिलेर पञ्चायतका विरुद्ध संघर्ष गर्नुपर्छ भन्ने विचार राखेका थिए । नेका आफ्नो परम्परागत मान्यताबाट गणतन्त्रको पक्षमा आउनेछ भन्ने पुष्पलालको विश्लेषण थियो । यद्यपि, यस विचारले पुष्पलाल जीवित रहुञ्जेल मूर्तरुप लिन सकेन्, उल्टै संयुक्त जनआन्दोलनको विचार राखेबापत गद्दार पुष्पलालको आरोप पनि खेप्नुपर्यो । तर पुष्पलालकै विचारका आधारमा नेपालका वामपन्थी र नेपाली कांग्रेस मिलेर संयुक्त जनआन्दोलनको माध्यमबाट २०४६ साल र ०६२र०६३ को जनआन्दोलनले सफलता प्राप्त गरेको थियो ।
आफ्नै सहकर्मीहरुबाट आरोपित हुँदा पनि विचलित नभई सादा जीवन र उच्च विचारका साथ आफ्नो सिद्धान्तमा अडिग सिद्धान्तनिष्ट नेताको रुपमा पुष्पलाल चिनिए । निजी स्वार्थलाई कहिल्यै प्रश्रय नदिने पुष्पलालले आफ्नो नामको पछाडि कहिल्यै थरसमेत जोडेनन् । पुष्पलालले तीन स ९सिद्धान्त, संगठन र संघर्ष० को माध्यमबाट मात्र नेपाली क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने मान्यता राखेका थिए ।
अन्त्यमा‘‘।


पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनको एक संस्थापक तथा अग्रज नेता हुन् । नेपाली समाजको रुपान्तरण र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने काममा पुष्पलालको महत्वपूर्ण भूमिका रहेको छ । प्रारम्भदेखि जीवनको अन्तिम अवधिसम्म पुष्पलाल संशोधनवादको विराध र मार्क्सवादको पक्षमा अडिग रहे ।

वास्तवमा,पुष्पलाल बाम प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष मात्र नभै मार्क्सवादी इतिहासकार सिद्धान्तकार र रणनीतिज्ञ पनि थिए । साथै, नेपाली समाजको सर्वप्रथम वैज्ञानिक विश्लेषण गर्ने सिध्दहस्त विश्लेषक पनि थिए । राजनीतिक अभियानमा जुटिरहेका सबैको निम्ति पुष्पलालका विचार, दृष्टिकोण र जीवनशैली अनुकरणीय छन् । नेपाली समाजको रुपान्तरणको लागि सबै नेता र कार्यकर्ताहरुलेआफ्ना निहित स्वार्थहरु र कुण्ठाहरुलाई पन्छाउदै धैर्यता, सहनशीलता, परिपक्कता र निरन्तरता राखेर क्रियाशील हुन सके साँचो अर्थमा पुष्पलालको सम्मान गरेको हुनेछ ।

तपाईको प्रतिक्रिया